कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साकार होला 'फिल्म सिटी' सपना?

राजेन्द्र मानन्धर

दोलखा (खरिढुङ्गा) — लविङ र पूर्वाधार निर्माणमा छ बर्ष वितेको अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणको श्रृङ्खलाले मूर्तरुप पाउने संकेत देखिएको छ ।

स्थान विवाद, नीति निर्माताको अनविश्वास र हावादारी भनेर आलोचना खेप्दै आएको नेपालकै पहिलो चलचित्र नगरीको  बिहीबार विधिवत शिलान्यास भएको छ ।

साकार होला 'फिल्म सिटी' सपना?

विस्तृत परियोजना प्रतिवेदन, विद्युतीकरण र सडक निर्माण कार्यमा लगानी गरिरहेको सरकारले उक्त परियोजनालाई विधिवत शिलान्यास गरेपछि निर्माणको गति अघि बढ्ने अर्को आधार थपिएको छ ।


नेपालकै पहिलो भएकोले राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण भए चलचित्र उद्यमले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ अवसरको आयाम थप्छ । प्रशस्त प्राकृतिक दृष्यहरुको भण्डार भएको नेपालमा एकै ठाउँमा बनेका कृत्रिम सुटिङस्थलहरु कहि पनि छैन । अन्तर्रष्ट्रिय गुणस्तरको फिलिम सिटि बन्नका लागि प्रारम्भीक अनुमानमा १० अर्ब सम्म लाग्ने आकलन छ । प्रारम्भिक कार्य पूरा गर्न तीन अर्ब लाग्ने अनुमान गरिएको फिलिम सिटीको पुरै स्वरुप दिन चरणबद्ध रुपमा कार्य गरिने योजना छ । उक्त परियोजना सफल पार्नका लागि सूचना तथा सञ्चार मन्त्रालयको तर्फबाट चलचित्र बिकास बोर्डले नेतृत्व गरिरहेको छ । दोलखा जिल्लावासी भएको नाताले स्थानीय तहको नेतृत्व कलाकार मदनदास श्रेष्ठले गर्दै आएका छन् ।


यसअघिसम्म चलचित्र विकास बोर्डले मनोरञ्जन क्षेत्रमा अत्यन्तै महत्व राख्ने उक्त परियोजना धिमा गतिमा अघि बढाइरहेको छ । सूचना तथा सञ्चार मन्त्रलायको निर्णयपछि बोर्डले हतार हतार परियोजनाको शिलान्यास गरेपछि १५ सय रोपानी क्षेत्रफलमा फिलिम सिटी बन्नेमा आशा थपिएको छ । सञ्चार मन्त्रीकै हैसियतमा मोहनबहादुर बस्नेतले इटा राखेर पूर्वाधार निर्माणको सुरुवात गरेपछि चलचित्र नगरीको कार्य एक कदम अघि बढेको अभियान्तामध्ये कलाकार मदनदास श्रेष्ठले बताउछन् ।


राजधानी काठमाडौंबाट १ सय १० किलोमिटर पूर्वमा पर्ने खरिढुङ्गा क्षेत्रबाट करिब ६ किलोमिटर दूरीमा फिलिम स्टुडियोहरु निर्माण क्षेत्र तोकिएको छ । उक्त क्षेत्र पुगेर कार्यक्रमहरुमा सहभागी हुँदा बस्नेतले अन्तराष्ट्रिय चलचित्र नगरी बनाउनका लागि सरकारी लाहाछाप लागेको दावी गरे । ‘अब यो परियोजना अघि नबढाइ सुखै छैन,’ उनले भने ।


हिमश्रृङ्खला, जंगल, जंगली जनवार, पहाड पर्वतले घेरिएको डाङ्डुङ्गे र आसपासका क्षेत्र चलचित्रका दृष्याङ्कन गर्न उपयुक्त छ । प्राकृतिक सुन्दरताले भरिएको उक्त क्षेत्रमा फिलिम सिटि बनाउने प्रस्तावपछि चलचित्र विकास बोर्डभित्रै मतहरु बाझिएका थिए । आ–आफ्नै स्वार्थ अनुकुल दोलखाबाट उक्त परियोजना सार्न खेलहरु भएका थिए । अनेक चलखेलका बाबजुत चलचित्र विकास बोर्डकै पछिल्लो प्रयत्नमा उक्त परियोजना सफलतातिर गएकोमा खुसी लागेको कलाकार मदनदासले बताए ।


परियोजना अन्तर्गत उक्त स्थलमा एयरपोर्ट, हेलप्याड, विभिन्न दृष्यहरु भएको स्टुडियो निर्माणको योजना छ । पाँचतारे होटलसम्मका योजना रहेको खरिढुङ्गा क्षेत्रमा भएको पोखरी र पहाडका लहरहरु चलचित्रका लागि राम्रो दृष्य मानिन्छन् ।


हिमपात भैरहने भएकाले प्राकृतिक वरादान मानिने यस क्षेत्रमा अन्तर्राष्ट्रिय चलचित्र नगरी बनाउने प्रस्ताव भएपछि विरोधहरु भएका थिए । सुरुमा त्यत्रो जमिन कहाँ छ भन्ने जवाफ स्थानीयकै सकारत्मक सामुदायिक बनले जग्गाहरु उपलब्ध गराएर दएपछि महोत्वकांक्षी परियोजना सफलतातिर लम्किएको हो ।


एकताका उक्त परियोजनालाई राजनीतिक तहबाटै हावादारी परियोजना भनेर हाँसोको विषय पनि बनाइएको थियो । चलचित्र विकास बोर्ड, स्थानीयवासी र राजनीतिक समझदारीले परियोजनाले सार्थक रुप लिन लागेको स्थानीय अभियान्ता जिल्ला समन्वय समिति सदस्य जीतबहादुर श्रेष्ठ बताउँछन् ।


नेपाल चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलसहित कलाकारहरुको उपस्थितिमा बिहीबार चलचित्र नगरी क्षेत्र प्रवेश नक्साङ्कन वोर्डसमेत राखिएको छ । कालोपत्रे सडक निर्माण धमाधम भइरहेको छ । विद्युतीकरण भइसकेको छ ।


खरिढङ्गा, चरिकोट, कालिञ्चोक, शैलुङ क्षेत्रको प्राकृतिक मोहकता कारण अहिले पनि चलचित्रका लागि दृष्याङ्कन गर्ने समुहहरु आइरहेका हुन्छन् । चलचित्र नगरीको रुपमा विकास भएपछि दोलखा जिल्ला नै सुटिङस्थल बन्ने चलचित्रविज्ञ प्रकाशजंग कार्कीले बताए । अपार प्राकृतिक सम्पादमा अलिकति जाँगर लगाएर कृत्रिम अभयवहरु बनाएपछि दोलखा सन्सारकै राम्रो मध्यको चलचित्र नगरीको रुपमा विकास हुने उनले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?