कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानी: आत्मविश्वासले जसलाई स्थापित गरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडमा धेरै नायिका आए, गए तर रानी मुखर्जी अन्यभन्दा सधैं अलग रहिन् । उनी खासगरी आफ्नो हस्की स्वरका कारण पृथक थिइन् । कदमा होची भए पनि अभिनयका माध्यमले उचाइ लिइन् । निर्माता आदित्य चोपडासँग विवाहपछि घरायसी कामकाजमा आफूलाई व्यस्त राखेकी यी नायिका छोरीलाई जन्म दिएपछि चार वर्ष बलिउडबाट ओझेल नै परिन् ।

रानी: आत्मविश्वासले जसलाई स्थापित गरायो

‘हिच्की’ मार्फत कमब्याक गर्न लागिरहेकी रानीले यति बेला आफ्नो बलिउडमा इन्ट्री मार्दाका केही तीतामीठा अनुभव साझा गरेकी छन् । पछि गएर चिनारी बनेको आफ्नै स्वर करिअरका सुरुवाती दिनमा बाधक बनेको उनले बताएकी छन् ।


फिल्म ‘गुलाम’ मा रानी अभिनेता आमिर खानको अपोजिटमा थिइन् । सुटिङ त गरिन् तर डबिङमा आमिरले रानीको स्वरलाई चरित्रअनुकूल नभएको भनी टिप्पणी उठाए । निर्देशक विक्रम भट्ट र निर्माता मुकेश भट्टलाई पनि सायद आमिरको कुरा मनासिब नै लाग्यो । बल्लबल्ल फिल्म खेल्ने मौका पाएकी रानीले आफ्नै स्वरांकन हुनुपर्ने दाबी–विरोध गर्न सक्ने अवस्थै थिएन । तर आडभरोसा दिए निर्देशक करण जौहरले । सोही समय करणले रानीलाई लिएर ‘कुछ कुछ होता है’ बनाइरहेका थिए । ‘गुलाम’ मा रानीको डबिङ नहुने थाहा पाएपछि करणले आफ्नो फिल्ममा त्यस्तो नहुने बताए । रानी सम्झिन्छिन्, ‘पहिलो फिल्ममै मेरो आवाज नहुने थाहा पाएपछि उनले आफ्नो फिल्ममा मेरै आवाज राखिने बताए । करण नयाँ निर्देशक थिए । बरु उनले चाहिँ मेरो चरित्रका लागि अरूलाई नै डबिङ गराउन सक्थे होलान् । तर त्यसो भएन । बरु उनले मेरो आवाज नै मेरो आत्मा हो भनिदिएपछि मलाई अगाडि बढ्न त्यही नै सबैभन्दा ठूलो हिम्मत बन्यो ।’


‘कुछ कुछ होता है’ ब्लकबस्टर्स भइदियो । आमिरले पनि फिल्म हेरे । ‘कुछ कुछ होता है हेरिसकेपछि आमिरले मलाई फोन गरेर माफी मागे । उनले मेरो आवाज फिल्मका लागि ठीक होला भनेर त्यो बेला विश्वासै नलागेको सुनाउँदै आफू गलत सावित भएकोमा आफ्ना शब्द फिर्ता लिन चाहेको बताए । त्यसपछि उनले पनि मेरो आवाज राम्रो छ भने ।’ आखिर सोही फिल्मको चरित्रले रानीलाई सहअभिनेत्रीको फिल्म फेयर अवार्ड दिलायो । रानी एकपछि अर्को गरी हिट हुँदै मात्रै गइनन्, करिअरको छोटो समयमै बलिउडका तीन खान आमिर, सलमान र शाहरुखसँग पनि स्क्रिन सेयर गर्ने हैसियत बनाइन् । त्यसबाहेक बलिउड नायिकाको इतिहासमै सर्वाधिक सात फिल्मफेयर अवार्ड जितिन् ।


रानीका लागि यति बेला कमब्याक सर्वाधिक चुनौती बनेको छ । बारम्बार बाडुली लाग्ने समस्याले ग्रस्त एउटी शिक्षकको भूमिकामा ‘हिच्की’ मार्फत देखिन लागेकी रानी भन्छिन्, ‘पहिलो फिल्म त जादूले वा अरू नै केही कारणले पनि पाइन्छ तर दोस्रो वा तेस्रो फिल्म आफ्नै खुबीले मात्रै मिल्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?