कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जम्दै “माग्नेबूढा” दम्पती

अधिकांश ठाउँमा दर्शकश्रोताले सीतादेवी र म पति–पत्नी हौँ भन्ने थाहा पाउँदैनन् । त्यसैले फ्यानले हामीसँग छुट्टाछुट्टै फोटो खिच्छन् । -केदार घिमिरे ‘माग्नेबूढा’
कृष्णप्रसाद गौतम

नेपालगन्ज — ‘मेरी बास्सै’ बाट ‘माग्नेबूढा’ को परिचय बनाएका केदार घिमिरे र ‘खासखुस’ हुँदै ‘जिरे खुर्सानी’ मा अभिनय गरिरहेकी सीतादेवी तिमिल्सिना सातामा तीन वटासम्म स्टेज प्रहसनमा सँगै देखिन्छन् ।

जम्दै “माग्नेबूढा” दम्पती

दुवैले अहिलेसम्म २० जिल्लामा प्रस्तुति दिइसके । दर्शकले उनीहरूको प्रस्तुतिबाट भरपुर मनोरञ्जन पाइरहेका छन् । स्टेजबाट झरेपछि उनीहरूसँग तस्बिर खिच्नेको भीड लाग्छ । तर अधिकांश दर्शकले उनीहरू ‘पति–पत्नी हुन्’ भन्ने भेउ नै पाउँदैन रहेछन् । उनीहरूले सँगै स्टेज सो गर्न थालेको भने एक वर्ष भइसकेको छ ।


‘अधिकांश ठाउँमा पति–पत्नी भन्ने थाहा पाउँदैनन् त्यसैले फ्यानले हामीसँग छुट्टाछुट्टै फोटो खिच्छन्,’ घिमिरेले हाँस्दै भने, ‘दर्शकलाई थाहा नभए पनि हाम्रो स्टेज प्रस्तुति जम्दै गएको छ ।’


केदार–सीतादेवीले स्टेज प्रहसन ‘प्रहरी चेकिङ’ दर्शकको रोजाइमै छ । महिला प्रहरीको भूमिकामा सीतादेवी हुन्छिन् भने सामान्य नागरिकको भूमिकामा केदार । ‘प्रहरी चेकिङ प्रहसनमार्फत सामाजिक विकृति र भ्रष्टाचारलाई मुख्य विषय बनाएका छौं,’ घिमिरेले भने, ‘प्रहसनमार्फत रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् र मुलुकमा पर्यटन विकास होस् भन्ने सन्देश दिइरहेका छौं ।’

वैशाखदेखि ‘छक्का पञ्जा ३’ को सुटिङमा व्यस्त रहने घिमिरेले जनाए । ‘सानो पर्दामा पनि दर्शकको माया धेरै पाएँ,’ घिमिरले कान्तिपुरसित भने, ‘ठूलो पर्दामा पनि माया गरिरहनुभएको छ । प्रहसनमा समेत हाम्रो दम्पती रुचाइएको छ ।’


आठ वर्ष सीताराम कट्टेलसँग जोडी बनाएर स्टेजमा जमेका उनले विल्सनविक्रम राईसँग समेत केही स्टेजमा प्रस्तुति दिए । तर आफ्नै पत्नीसँग स्टेजमा सँगै प्रस्तुति दिँदा निकै फरक महसुस हुने घिमिरेको भनाइ छ ।


सीतादेवीले दस वर्ष पहिले ‘मेरी बास्सै’ का ६ भागमा काम गरिन् । रहर भए पनि बच्चाहरू सानै भएकाले केही समय अभिनयबाट विश्राम लिएको उनको भनाइ छ । अहिले छोरा १८ वर्ष र छोरी १३ वर्षका भएका छन् । एक्टर स्टुडियोमा अभिनय सिकेकी सीतादेवीले ६० भागसम्म ‘खासखुस’ मा अभिनय गरिन् ।


अहिले ‘जिरे खुर्सानी’ मा ‘नेताकी पत्नी’ को रूपमा २० भागसम्म खेलिन् । ‘फेरि तीन वर्षदेखि कलाकारितामा सक्रिय छु । पछिल्लो समय खासखुस र जिरे खुर्सानीबाट दर्शकको राम्रो प्रतिक्रिया पाइरहेकी छु,’ उनले भनिन्, ‘बुधबार जिरे खुर्सानीको सुटिङ हुन्छ । सातामा तीन वटासम्म स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेका छौं । दर्शकको प्रतिक्रिया र मायाले कलाकारितालाई थप परिस्कृत बनाउँदै लगेको छ ।’ उनीहरूले शुक्रबार स्याङ्जा र आइतबार दैलेखमा प्रस्तुति दिए । विदेशमा समेत माग आए पनि समय मिलाउन नसकिएको उनीहरूले बताए । ‘विदेश जाँदा सुटिङ र घर व्यवहार दुवै मिलाएर जानुपर्ने भएकाले मिति सार्दै आएका छौं,’ घिमिरेले भने, ‘दर्शकहरूले हाम्रो स्टेज जोडी र प्रस्तुति निकै रुचाउनुभएको छ । अब समय मिलाएर छिट्टै विदेशमा पनि प्रस्तुति दिन जान्छौं ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?