कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो महिला रंग उत्सव

देवनारायण साह

मोरङ — अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संसारभरिका महिलाहरूले अनेक कार्यक्रम गरेर मनाइरहँदा रंगकर्मी महिलाहरू आरोहण गुरुकुल विराटनगरमा व्यस्त देखिए । उनीहरूले नेपाली महिलाहरूको वास्तविक चित्र नाटकमार्फत प्रस्तुत गरिन् । महिलामाथि भइरहेका विभेद अन्त्यका लागि महिला रंगकर्मीहरू सशक्त रूपमा नाटकमा देखिए । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले गरेको तीन दिने महिला नाटक महोत्सव बिहीबार सम्पन्न भएको छ । मुलुकमा पहिलोपटक आयोजित महिला नाटक महोत्सवमा ९ जना रंगकर्मीले महिला कथाव्यथा समेटिएका एकल नाटक मञ्चन गरेका थिए । शिल्पी कला समूह काठमाडौंकी रंगकर्मी संगीता उरावले ‘गङ्गेटो’, बंसरी पाण्डेले ‘म रुपैयाँ’, ख्वाप्किमी कला संस्था नेपालकी वसन्ता सुनुवारले ‘वरी’, सांस्कृतिक संस्थान काठमाडौंकी पुरु लम्सालले ‘देउकासी’, क्षितिज नाट्य समूह बिर्तामोडकी सृजना खतिवडाले ‘चिताबाट प्रश्न’ नाटक मञ्चन गरिन् ।


महोत्सवमा मञ्चित ९ वटै नाटकले दर्शकको मन छुन सफल भएको महोत्सवका सहआयोजक दहेजमुक्त मिथिला र मैथिली सेवा समितिका अध्यक्ष प्रवीण नारायण चौधरीले बताए । महोत्सवमा मञ्चन भइरहेको अधिकांश नाटकको लेखन, निर्देशनसमेत महिला रंगकर्मीले नै गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभाग प्रमुख रमेश रञ्जन झाले बताए । ‘नेपाली समाजमा महिला रंगकर्मीको सशक्त उपस्थिति यस नाटक महोत्सवले देखियो,’ उनले भने, ‘रंगमञ्चको आकर्षण बढदै गएको अवस्थामा महिला रंगकर्मीहरूको उपस्थितिका लागि यो महोत्सव कोसेढुंगा सावित भएको छ ।’


आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समितिको सहआयोजनामा महोत्सवको प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले गरे । उनले रंगकर्मी र निर्देशकहरूलाई प्रमाण पत्र, दोसल्ला ओढाएर बिदाइ गरेका थिए । प्रमुख तुम्बाहाङले मुलुकमा शान्ति, स्थायित्व, विकास र समृद्धिका लागि कलाकारहरूको सृजनाको योगदान अहिले अति आवश्यक रहेको बताए । महोत्सवमा रंगकर्मीहरूले सातवटै प्रदेशमा नाचघर स्थापना गर्न माग गरेका थिए ।

प्रकाशित : फाल्गुन २५, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?