“भुटानमा फिल्म तीन महिना चल्छ”

कान्तिपुर संवाददाता

काठमाडौँ — भुटानकी महारानी आसी साङदे छोदेङ वाङचुकले आफ्नो भ्रमणदलसहित बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरिरहेका बेला राजधानीको भुकृटीमण्डपस्थित पर्यटन बोर्डमा भने महारानी जस्तै मौलिक परिधानमा सजिएकी भुटानी अभिनेत्री उगेन छोदेन नेपालीहरूमाझ भिज्ने कोसिस गर्दै थिइन् ।

आफ्नो फिल्म ‘दोङफु दिङफु’ (वान्स अपन द टाइम) लिएर पहिलो भुटानी अभिनेत्रीका रुपमा नेपाल आएकी उनी अंग्रेजी र नेपाली मिसाएर बोल्दै थिइन् । चार वर्षअघि अभिनय यात्रा थालेकी २६ वर्षीया उगेनको यो छैटौं फिल्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको थियो । फिल्म प्रदर्शनीपछि उनले भनिन्, ‘हामी हाम्रै मौलिक फिल्म उद्योगको विकास गरिरहेका छौं ।’

Yamaha

भुटानी फिल्म उद्योग अहिले कुन अवस्थामा छ ?
हामी आफ्नै मौलिक उत्पादनहरूमा जोड दिइरहेका छौं । फिल्मसम्बन्धी सरकारी नीति पनि त्यस्तै छ । मौलिक विषयवस्तु, संस्कृति, दर्शन र जीवनशैलीमा आधारित फिल्महरूलाई विशेष प्राथमिकता दिने नीतिले हामीलाई सजिलो बनाइदिएको छ । वर्षमा कम्तीमा पनि ४० वटा फिल्मको निर्माण हुन्छ । यो एउटा गतिलो उद्योगका रूपमा विकास भइरहेको छ ।

सरकारी क्षेत्रबाट फिल्म उद्योगका लागि के–कस्ता सहुलियतहरू उपलब्ध छन् ?
धेरै सुविधाहरू छन् । फिल्मकर्मीलाई सरकारबाट ऋण अनुदानको व्यवस्था छ । बैंकहरूमा फिल्म प्रोजेक्ट नै राखेर ऋण निकाल्न सकिन्छ । सरकारले वर्षमा एकपटक प्रतिस्पर्धात्मक फिल्म फेस्टिभल गर्छ र उक्त फेस्टिभलबाट छानिएका उत्कृष्ट तीनलाई १६/१६ लाख रुपैयाँ दिन्छ । अचम्म मान्नुहोला, हाम्रोमा एउटा फिल्म कम्तीमा तीन महिना हलमा चल्छ । कुनैकुनै फिल्म त पाँच महिनासम्म पनि चल्छ । नेपालमा त एक हप्ता पनि नचल्ने रहेछ । मलाई अचम्म लाग्यो ।

बलिउड र हलिउडको प्रभाव कस्तो छ भुटानमा ?
हाम्रोमा विदेशी फिल्महरू नेसनल थिएटरमा लाग्दैनन् । सरकारी नीतिले पनि त्यो दिँदैन । तर, जनतालाई स्वतन्त्रता भने छ । यदि कसैलाई हिन्दी, अंग्रेजी या कोरियन फिल्म हेर्न मन लाग्यो भने बजारबाट डीभीडी ल्याएर घरमा हेर्न सकिन्छ । प्राइभेट स्क्रिनिङहरू गर्न सकिन्छ । तर, हलमा भने जोङखा भाषाको मात्रै फिल्म लाग्छ ।

राजधानी थिम्पुभन्दा बाहिर पनि फिल्मको प्रभाव छ र ?
थिम्पुमा मात्रै ८ हल छन् । अनि हरेक जिल्लामा कम्तीमा एउटा हल छ । कुनैमा दुई वटा । बीस वटा जिल्ला र राजधानी गरेर झन्डै तीन दर्जन हल छन् । भुटानमा हलहरू सबै सरकारले बनाइदिन्छ । अहिले जिल्ला–जिल्लामा फिल्म हलहरू बढाउने काममा सरकार लागेको छ । कलाकारहरू पनि निकै व्यस्त हुन्छन् । फिल्ममा लाग्नेहरूले अरू काम गर्नै भ्याउँदैनन् । सानो जनसंख्या (७ लाख) भएकाले पनि होला, म्युजिक भिडियोमा खेल्ने कलाकारहरूलाई पनि सबैले चिन्छन् ।

सन् १९९० भन्दा अघि त हिन्दी र अंग्रेजी फिल्म पनि हलमा लाग्थे,होइन र ?
हो, त्यो हाम्रो आपा–आमाको पालाको कुरा हो । त्यति बेला हिन्दी फिल्मको बढी प्रभाव थियो भुटानमा । हिन्दी फिल्म हेर्दाहेर्दै दर्शकले हिन्दी भाषा र उनीहरूकै वेशभूषा नक्कल गर्न थालिसकेका थिए । तर, १९९० पछि भने भुटानको आफ्नै फिल्म उद्योग विकास भयो । अहिले त्यस्तो छैन । नयाँ पुस्ताले मौलिक संस्कृति भुल्ने चिन्ता अब भुटानमा छैन ।

फिल्म ‘दोङफू दिङफू’को तपाईं आफैं निर्माता पनि हुनुहुँदो रहेछ । भुटानी फिल्मको व्यापारचाहिँ कस्तो छ ?
लगानी नउठ्ला भन्ने कुनै चिन्ता छैन भुटानमा । मैले यो फिल्म ५८ लाख भारुमा बनाएकी हुँ । ६० लाख भारुको व्यापार भइसक्यो र अहिले यो फिल्म भुटानका हलहरूमा प्रदर्शन भइरहेको छ । केही महिना यो फिल्म चल्छ । यसले कम्तीमा पनि एक करोडको व्यापार गर्छ होला । मेरो विचारमा अहिलेसम्म कुनै पनि भुटानी फिल्मले घाटा बेहोर्नुपरेको छैन ।

भुटान र नेपालमा के फरक पाउनुभयो ?
यहाँका जनता र भुटानी जनतामा केही फरक भेटिनँ । यहाँका मानिसहरू उताका जस्तै दयालु, धार्मिक र मित्रवत् पाएँ । सिस्टमचाहिँ केही फरक रहेछ । हाम्रोमा शिक्षा र स्वास्थ्य नि:शुल्क छ । यहाँ त अस्पतालमा पनि औषधि किन्नुपर्ने रहेछ । स्कुलमा बच्चा पढाउन पनि पैसा लाग्ने रहेछ ।
- प्रस्तुति : फूलमान वल

Esewa Pasal

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आ–आफ्नै भ्यानिटी भ्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिल शर्माका दिन फिरेका छन् । स्टयान्ड–अप कमेडियनका रूपमा उनी एकताका खुब छाए । तर, टीभी च्यानलसँगको विवाद र आफ्नै सहकर्मी सुनील ग्रोभरसँग झगडा गरेपछि उनको कार्यक्रम नै बन्द भयो । अहिले उनी पुन: नयाँ कार्यक्रमसहित आउन लागेका छन् । यसको प्रोमो बाहिर आइसकेको छ ।

सोही कार्यक्रमका लागि कपिलले नयाँ भ्यानिटी भ्यान किनेका छन् । यसको अहिले औधी चर्चा छ । सुटिङका बेला आराम गर्न, पहिरन फेर्न, मेक–अप गर्न वा सुटिङ अवधिभर खान–बस्नका लागि यस्ता भ्यान प्रयोग गरिन्छन् । कपिलको भ्यानिटी भ्यान कुनै पाँचतारे होटलभन्दा कम नभएकाले यसबारे बढी हल्ला चलेको छ । बलिउड सेलेब्रिटीका गाडीहरू डिजाइन गर्ने व्यक्तिले नै उनको भ्यान तयार पारेका हुन् ।

किङ साइजको भ्यान बाहिरबाट जति भव्य देखिन्छ, भित्रपट्टि उत्ति नै विलासी रहेको बताइन्छ । कपिलले ट्वीटरमा पोस्ट गरेका यसका तस्बिरबाट पनि त्यो कत्तिको सुविधापूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यसको इन्टेरियर सानदार देखिएको छ । बलिउडमा शाहरूख खान, अक्षय कुमार, वरुण धवन, आलिया भट्ट, सोनम कपुर, हृतिक रोशन, सलमान खान र अजय देवगणका भ्यानिटी भ्यान निकै महँगा र भव्य मानिन्छन् ।

अक्षयले ‘सिंह इज ब्लिङ’ फिल्मको छायांकनका बेला बुल्गेरियाबाट भ्यान झिकाएका थिए । त्यसमा के मात्र सुविधा थिएन, मसाज गरिदिने आरामदायक कुर्सीदेखि घरकै जत्रो ठूलो बेडरुम, सम्पूर्ण सामग्रीसहितको आकर्षक भान्साकोठा, अत्याधुनिक शौचालय र बार्दलीसहितको कोठा उपलब्ध थियो । त्यो बेला उनको भ्यान देखेर सबै लोभिएका थिए ।

आलियाको भ्यानचाहिँ उनीजस्तै क्युट हुने गर्छ । रंगीचंगी रुमाल, टेडी बियर, खेलौना आदिले भ्यानभित्रका कोठा सजाइएका हुन्छन् । आलियाले सेयर गरेको एउटा तस्बिरमा उनको भ्यानमा नाइट ल्याम्प, कुसन र पोस्टरहरू देखिएका छन् । त्यो भ्यानलाई आलियाले आफ्नो दोस्रो घर बताउने गरेकी छन् ।

हृतिकको भ्यान भने हाई–टेक प्रविधियुक्त छ । फयुचरिस्टिक भ्यानको इन्टेरियरमा प्राय: नीलो रङ प्रयोग गरेको देखिन्छ । नीलै ग्लास लगाइनुको कारण के हो भने यो हृतिकको प्रिय रङ हो । त्यस्तै, अजय देवगण, सलमान र शाहरूखका भ्यान पनि लक्जरियसमध्येमा पर्छन् । यीमध्ये अजयको भ्यान अरूको भन्दा फरक छ । त्यसभित्र जिमखाना पनि छ । उनको भ्यान देख्नेहरूले त्यसलाई ‘स्ट्ेरन्ज लुकिङ’ वा ‘बियर्ड भ्यान’ भन्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT