कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सात वर्षपछि जेम्स

‘पहिले र अहिलेका गीतमा धेरै फरक छ । त्यो बेलाको मेरो उमेर, सोच, शैली अलग्गै थियो । अहिले वाद्यवादन पनि फेरिएका छन् । यिनको प्रभाव गीतमा देखिन्छ ।’

काठमाडौँ — जेम्स प्रधानलाई गीतभन्दा जिंगलहरूमा बढी सुनिन्छ । उनले अहिलेसम्म १ हजार विज्ञापनका लागि कम्पोजिसन गरिसकेका छन् ।

सात वर्षपछि जेम्स

गायनतिरको सक्रियतालाई पनि उनी थप बढाउने तरखरमा छन् । यही क्रममा उनले मंगलबार आफ्नो छैटौं एल्बम ‘क्रम’ सार्वजनिक गरे । ७ वर्षपछि ल्याएको एल्बममा जेम्सले ९ वटा गीत समावेश गरेका छन् । यसका दुई म्युजिक भिडियो डिजिटल प्लेटफर्म (युटयुब, साउन्ड क्लाउडलगायत) मा रिलिज पनि गरिसकेका छन् ।

‘यतातिरबाट अर्थोपार्जन पनि हुन्छ,’ उनले भने, ‘मेरा पहिलेका गीत जो पायो उसैले युटयुबमा अपलोड गरेका छन् । ती पनि क्लेम गर्न थालेको छु । एक्टिभ हुन खोज्दै छु ।’

जेम्सले मंगलबारको कार्यक्रममा ‘कहीँ कोही...’ र ‘ए सुन्दरी...’ बोलका गीतको भिडियो देखाएका थिए । एल्बममा ‘भागेर जाऊँ...’, ‘एकै छिन पर्ख...’ लगायत गीत छन् । यीमध्ये दुइटामा विप्लव प्रतीक र पुरुषोत्तम सापकोटाका शब्द छन् भने बाँकी सबै गीतमा जेम्सकै शब्द, संगीत, गायन र अरेन्जमेन्ट छ । म्युजिक भिडियो निर्देशन उनी स्वयंले गरेका हुन् ।

‘मेरो आफ्नै स्टाइल छ, त्यही स्टाइलका गीतहरू एल्बममा राखेको छु,’ जेम्स भन्छन्, ‘संस्कृत र नेपालभाषाका एक–एक गीत पनि गाएको छु ।’ विभिन्न प्रयोगमा रुचि राख्ने उनले यसअघि पनि युनिक शैली अपनाएको भन्ने जस पाएका थिए । तीन वर्षअघि ‘म हिँडे है...’ गीतको सेल्फी भिडियो बनाएर चर्चा कमाएका थिए । जेम्सले खासमा सुरुदेखि नै नौला प्रयोग गर्दै आएको देखिन्छ ।

उनका पुराना गीत ‘भोले बमबम...’, ‘आइदेऊ आइदेऊ...’, ‘भैगो उनी जाऊन्...’, ‘चुलबुले चुलबुले...’ प्रयोगात्मक थिए । गायन शैली र कम्पोजिसन त भइगयो, जेम्सका म्युजिक भिडियोसमेत युनिक हुन्छन् । ‘पहिलेका गीत र अहिलेकोमा धेरै फरक छ,’ उनले भने, ‘त्यो बेलाको मेरो उमेर, सोच, शैली अलग्गै थियो । अहिले वाद्यवादन पनि फेरिएका छन् । यिनको प्रभाव गीतमा देखिन्छ ।’

परिवर्तन त कतिसम्म भने जेम्सलाई एल्बमका लागि खाली सीडी चाहिएको थियो, त्यो नपाएर हैरान ! सीडी बर्न गर्न (गीत भर्न) उस्तै धौधौ । फुल लेन्थ एल्बम निकाल्न छोडिएको र गीतहरू डिजिटल्ली बाहिर ल्याउन थालिएकाले सीडी मासिन थालेको छ, क्यासेट चक्का हराइसक्यो । जेम्सले भने सन् १९९७ मा मल्टिट्रयाक एनालग रेकर्डिङमा ‘भैगो उनी...’ तयार पारेका थिए ।

‘हेर्दाहेर्दै सबै थोक फेरियो,’ उनले भने, ‘अहिलेको शैली अझ बेटर होला । मेरा गीत पनि झन् राम्रो भएका छन् भन्ने लाग्छ ।’ उनले एल्बमका सबै गीतको भिडियो बनाउने बताए । यसअघि ‘हावा’, ‘आवाज’ लगायत एल्बम निकालेका थिए ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?