कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नि:सन्तानलाई “प्रसाद”

काठमाडौँ — नि:सन्तान हुनुको पीडा पक्कै पनि गहिरो हुन्छ । समाजमा यस्ता दम्पतीहरू प्रशस्तै भेटिन्छन् । यस्तै दम्पतीको कथा व्यथामाथि सञ्चारकर्मी सुशील पौडेलले फिल्मको पटकथा लेखेका छन् ।

नि:सन्तानलाई “प्रसाद”

सोमबार राजधानीमा फिल्म ‘प्रसाद’को घोषणा गरियो । सुभाष थापा निर्माता रहेको फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् । कलाकारमा विपिन कार्की, नम्रता श्रेष्ठ, नवीन मानन्धर लगायत रहने कार्यक्रममा बताइयो ।

वैशाखको अन्तिम सातादेखि फिल्म छायांकन थालिने निर्माता सुभाषले बताए । उनका अनुसार अधिकांश छायांकन काठमाडौंमै हुनेछन् । अभिनेत्री नम्रताले बनिरहेको भन्दा फरक कथावस्तु हात परेकाले यसमा काम गर्न मन लागेको सुनाइन् । एक वर्ष अघिदेखि स्क्रिप्ट अध्ययन गरेको र यसको कथावस्तुले समाजमा विचार विमर्श गराउन सक्ने विश्वास आफूले लिएको उनले बताइन् । ‘फिल्मको स्क्रिप्ट जति बलियो छ, उति नै कलाकारितामा न्याय दिन सकिन्छ,’ अभिनेता विपिनले दाबी गरे । लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका कान्तिपुरकर्मी सुशीलको यो पहिलो फिल्म लेखन हो ।

उनले ‘नेपाली फिल्मको समस्या कमजोर स्क्रिप्ट लेखन र त्यसलाई पर्दामा कलात्मक ढंगले उतार्न नसक्नु रहेको’ दाबी गरे । आफ्नो फिल्मले दर्शक हँसाउन र रुवाउन नसके पनि समाजलाई एक पटक नि:सन्तान समस्यामाथि सोच्न बाध्य बनाउन सक्ने पनि उनले दाबी गरे । ‘मेरा लागि पनि प्रतीक्षाको विषय हो, फिल्म कस्तो बन्छ भन्नेमा,’ सुशीलले भने, ‘फिल्मको कथावस्तुले समाजमा बहस सिर्जना गराउन सक्ने भए ठुलै उपलब्धि मान्नेछु ।’

फिल्ममा राजेश श्रेष्ठले छायांकन, विकास सुवेदीले एसोसिएट निर्देशन र दिनेशबहादुर रावतले मुख्य सहायक निर्देशन गर्नेछन् । त्यस्तै कोसिस क्षत्री र सुवास भुसालको संगीत रहनेछ । गायिका अन्जु पन्त, केतन क्षेत्री, रूपक डोटेलको स्वर रहने फिल्ममा गणेश शाही र जोसेफ शाही ठकुरीको गीत रहने बताइएको छ ।

प्रकाशित : चैत्र २७, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?