कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दिनमा ‘चार करोड’

काठमाडौँ — एनआरएन कथा बोकेको रोमान्टिक फिल्म ‘लिलीबिली’ ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले गरेको व्यापार उत्साहजनक रहेको बुधबार निर्माण पक्षले दाबी गरेको छ ।

पाँच दिनमा ‘चार करोड’

तीन साताअघि प्रदर्शनमा आएको ‘शत्रु गते’ र अन्य दुई नेपाली फिल्मसँग जुध्नुपर्दा पनि ‘लिलीबिली’ को व्यापार सोचेभन्दा राम्रो भएको निर्माता गोविन्द शाहीले दाबी गरे । फिल्म मुलुकभरका ९६ हलमा लागिरहेको छ । बुधबार उपत्यकाको क्यूएफएक्समा १४ सो, बिग मुभिजमा ७, एसक्यूबमा ६ सो भएको र बीएसआरमा १ सो निर्धारित रहेकोमा ३ सो थपिएको उनले जनाए ।

‘सिंगल थिएटरको व्यापार पनि राम्रो छ,’ उनले भने, ‘मंगलबारसम्म मुलुकका सबै हलको ग्रस आम्दानी जोड्दा ४ करोड ५ हजार हुन आएको छ ।’ लभ स्टोरी भएकाले युवापुस्ता हलमा बढी तानिएको पनि उनले दाबी गरे ।

नेपाल, बेलायत, स्कटल्यान्ड र टर्कीमा छायांकन गरिएको फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन् । कथाको मागअनुसार आफूहरूले विदेशको लोकेसनमा कुनै पनि कन्जुस्याइँ नगरेको बताउँदै निर्देशक चाम्सले अर्को साता पनि दर्शकको माया पाउने आशा गरे । फिल्मले एनआरएन समुदायको कथा समातेको छ । मुलुकको ग्रामीण भेकको एक इमानदार युवक (आभाष) ले युरोप पुगेपछि भोगेका कथाहरूलाई प्रेमको लेप लाएर फिल्ममा प्रस्तुत गरिएको छ ।

आभाषको रूपमा अभिनेता प्रदीप खड्काले चकलेटी अभिनय गरेका छन् भने उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङले नयाँ भए पनि आत्मविश्वासी काम गरेकी छन् ।

प्रियंका कार्की यौनकर्मीको भूमिकामा देखिन्छिन् भने अनुपविक्रम शाही नेगेटिभ चरित्रमा छन् । सविन श्रेष्ठ, धुव्र दत्त, रितेश चाम्स लगायतले पनि खेलेका छन् ।

प्रकाशित : वैशाख ६, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?