कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार र किताब

काठमाडौँ — गायक राजेशपायल राईलाई ‘अधुरो र अपुरो कुनै काम मन पर्दैन’ । गीतसंगीत सिर्जनामा उनी अन्तिम रूप नदिँदासम्म लागिपर्छन् । किताबको सन्दर्भमा उनलाई यसैको डर लाग्छ– समय नपुगेर पठन अधुरै रहयो भने के गर्ने ? उनले समय र चाहना मिलाउन नसक्दा अहिलेसम्म कुनै पनि पुस्तक नपढेको बताए । 

कलाकार र किताब

धेरै सेलिब्रिटी आफूलाई अब्बल देखाउन पढ्दै नपढेको पुस्तकलाई पढेको भनेर अन्तर्वार्ताहरूमा भन्ने गर्छन् । उनीहरू किताबको नाम चाहिँ लिन्छन् तर त्यसको विषयका मामिलामा चुक्छन्, अकमकिन्छन् । राजेश यस्तो विषयमा प्रस्ट छन् । ‘झूटो बोल्न राम्रो लाग्दैन,’ उनले भने, ‘किताब पढ्नुहुन्छ भन्ने प्रश्न नै मेरो लागि होइन कि जस्तो लाग्छ ।’

कुनै साहित्यकारका केही चर्चित कृतिको नाम सुन्नुभएको छ कि ? यो जिज्ञासामा उनले रमाइलो जवाफ दिए । ‘देवकोटा सर (लक्ष्मीप्रसाद देवकोटा) को ‘कुन मन्दिरमा जान्छौ यात्री...’ गीत सम्झेको छु,’ उनले हाँस्दै भने, ‘अनि (सिद्धिचरण श्रेष्ठको) ‘मेरो प्यारो ओखलढुंगा’ पढेको छु ।’ किताब पढेपछि पूरै समय लगाउनुपर्छ र विषयवस्तुको गहिराइमा डुब्नुपर्छ भन्ने उनको मान्यता छ । ‘अपूरो र अधुरो किताब छोड्न मन नभएकाले म किताबलाई रोजाइमै राख्दिनँ,’ उनले सुनाए ।

त्यस्तै, किताबलाई समय कम दिनेमा अभिनेत्रीहरू वर्षा राउत र पूजा शर्मा पनि हुन् । उनीहरूलाई किताबका पानाभन्दा फिल्मका दृश्य बढी हेर्न मन पर्छ । सानैदेखि फिल्म हेर्न रुचाउने पूजा फिल्मबाट छोटो समयमै धेरै कुरा जानकारी लिएको महसुस गर्छिन् । उनको विचारमा फिल्म पनि जीवनजगत्बारे एक प्रकारको किताब नै हो । यसले समाज बुझ्न सिकाउँछ । किताबको माध्यमबाट यस्तो बुझ्न उनलाई निकै गाह्रो लाग्छ । ‘स्कुलमा केही साहित्यकारका किताब त पढेकी थिएँ। तर नाम याद छैन,’ उनले थपिन्, ‘रुचि नभएर होला ।’

वर्षाको पुस्तक सम्बन्ध लगभग शून्य छ । सुटिङमा व्यस्त नहुँदा पनि उनी फिल्म नै हेर्न रुचाउँछिन् । उनको विचारमा फिल्म दृश्यपुस्तक हो । ‘किताब पढ्न बोरिङ लाग्छ,’ उनले भनिन्, ‘फिल्म हेर्दा दिन बितेको पत्तै पाउँदिनँ ।’ तर, रुचि नहुँदानहुँदै पनि उनले पारिजातबारे चाहिँ साथीहरूबाट सुनेकी छन् रे ।

गायक प्रमोद खरेल फुर्सदमा किताब पढ्छन् । विभिन्न सांगीतिक कार्यक्रममा जाँदा यात्रामा उनले किताबका लागि छुट्टयाएका हुन्छन् । हवाईजहाजमा बस्दा र होटलमा आराम गर्दा जति सक्दो साहित्यिक पुस्तक पढ्नु उनको रुचिको विषय हो । बुद्धिसागरको ‘कर्णाली ब्लुज’, अमर न्यौपानेको ‘सेतो धर्ती’ र , सुधीर शर्माको ‘प्रयोगशाला’ राम्रोसँग खारेको उनले बताए । उनका अनुसार, अहिले यज्ञश लिखित ‘भुइयाँ’ का पाना पल्टाउँदै छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?