कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालजस्तै चीन

काठमाडौँ — शिरदेखि पाउसम्म चाँदीका गहना । हातैले बुनेका परम्परागत पहिरन । डिजाइन हेर्दा हिमाली भेगमा शेर्पाले समुदायले लगाउने ‘बख्खु’ जस्तै देखिन्छ ।

नेपालजस्तै चीन

बुट्टा नियाल्दा भने तामाङ समुदायको पहिरन झल्किन्छ । नेपाली कला र संस्कृतिसँग मेलखाने भेषभूषा चीनमा पनि रहेछ भन्ने थाहा पाउन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मंगलबारबाट सुरु भएको तस्बिर प्रदर्शनी उपयुक्त हुन सक्छ । यति मात्रै होइन, नेपालकै प्राकृतिक बनावटसँग मेल खाने भूभागका तस्बिरहरू पनि हेर्न सकिन्छ । चीनको पश्चिम–दक्षिणमा पर्ने कुइटो प्रान्तको भूभाग नेपालको पहाडी भेगजस्तै लाग्छ । प्राकृतिक सौन्दर्य उस्तै देखिए पनि त्यहाँको विकास र व्यवस्थापन भने नेपालभन्दा अगाडि छ ।


चीन कल्चरल सेन्टर र कुइटो प्रेस फोटो एजेन्सीले राजधानीमा तस्बिर प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा कुइटो प्रान्तको प्राकृतिक, सांस्कृतिक र धार्मिक दृश्यहरू देख्न सकिन्छ । ‘अ हेवन अफ माइरियट माउन्टेन–कलरफुल कुइटो’ शीर्षकमा सुरु दुईदिने प्रदर्शनी कलात्मक र
रोमाञ्चक छ । चिनियाँ दूतावासका नियोग प्रमुख याङ सी छाओले कुइटो प्रान्तको समृद्धिबारे अनुभव सुनाए । उनले भूगोल र सांस्कृतिक दुवै नजरमा कुइटो नेपालजस्तै भएकाले यहाँ तस्बिर प्रदर्शनी गर्न आवश्यक लागेको बताए । कुइटो प्रान्तले छोटो समयमा धेरै विकास गरेको कारणसमेत उनले खुलाए । ‘कुइटो प्रान्तलाई पहाडै–पहाडको सम्भावना विहीन ठाउँ भनेर चिन्थ्यो,’ उनले भने, ‘अहिले त्यहाँकै आदिवासीले कडा मिहिनेत गरेर छोटो समयमै विकसित बनाएका छन् ।’


प्रदर्शनीमा कुइटो प्रान्तमा ‘म्याओ’ जातिले लगाउने परम्परागत पोसाक पनि राखिएको छ । हातैले बुनेर लगाउने उक्त पहिरन नेपालको तामाङ र शेर्पा समुदायसँग मेल खान्छ । त्यस्तै, चाँदीले बनाइने परम्परागत गहनाले थारू समुदायको झल्को दिन्छ । सांस्कृतिक पक्ष मात्र नभई भौगोलिक दृष्टिले पनि कुइटो प्रान्त नेपालको पहाडी भूभागजस्तै छ । वरिपरि हरियाली डाँडा र चुचुरामा रेल, सडक र रेस्टुरेन्टजस्ता भौतिक पूर्वाधार निर्माण गरिएको तस्बिरमा देख्न सकिन्छ । त्यस्तै, त्यहाँका जातिले मुकुन्डो लगाएर नाच्ने परम्परा हाम्रै नेवार समुदायको लाखे नाचजस्तै लाग्छ । ढकमक्क गुराँस फूल, झरना, हिउँले ढाकेको पहाड, खेती गर्दै गरेका चिनियाँ किसान, चट्टानै चट्टानभित्रका गुफालगायत दृश्य लोभलाग्दा छन् । पहाडी चट्टानमा पनि औद्योगिक क्षेत्र बनाएको दृश्यले नेपालीलाई विकासका सम्भावनातिर औंल्याउँछ । प्रदर्शनी बुधबार सकिने बताइएको छ ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?