कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घन्किए “ओल्ड इज गोल्ड”

चितवन — पप गायक सञ्जय श्रेष्ठले हिमालयन ब्यान्डको सदाबहार गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै, मुसुमुसु हाँसिदेऊ’ सुनाइसकेपछि आफ्नो लोकप्रिय गीत गाए– ‘माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ ?’

घन्किए “ओल्ड इज गोल्ड”

यो सुनेपछि नारायणगढको होटल सेन्ट्रल पामको हलमा भेला भएका धेरैजसो दर्शकश्रोता नोस्टाल्जिक भए । कति नाच्न थाले । तर, सञ्जयले गीतको संख्या बढाउने अवस्था थिएन । ५० को दशकका अरू चर्चित पप गायकहरू पनि प्रस्तुत हुँदै थिए ।

हरीश माथेमाले पनि हिमालयन ब्यान्डकै ‘मायाले माया गाँसिदेऊ...’ र आफ्नै ‘आँखाको नानी हौ तिमी, जीवनमा आइदेऊ न...’ गाए । बबिन प्रधानले पनि दुई गीत नै प्रस्तुत गरे । सचिन रौनियार ‘छ भनूँ कि छैन भनूँ...’ गीतसहित झुल्किए । भीम तुलाधरले ‘अँगालो अँगालोमा...’ र ‘मेरी त घरकी आमालाई एउटी बुहारीको खाँचो छ...’ गाउँदा दर्शकश्रोताले ताली बजाउँदै गायकलाई साथ दिए ।

जेम्स प्रधानले ‘आइदेऊ आइदेऊ तिमी मेरो जीवनमा आइदेऊ...’ र ‘बमबम भोले...’ ले माहोल तताए । पुण्यम् प्रधानले ‘कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ...’ र कवीन्द्र श्रेष्ठले ‘डाँडामा मेला लागेछ...’ गाए ।

नारायणगढ रोटरी क्लबद्वारा आयोजित ‘ओल्ड इज गोल्ड म्युजिकल इभिनिङ’ मा यीसहित चौध गायकले प्रस्तुति दिए । यति धेरै गायक एकै मञ्चमा हुनुको एउटै उद्देश्य थियो– चेपाङका लागि शिक्षामा सहयोग गर्नु । क्लबले चितवनको पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्दै आएको छ ।

प्रकाशित : असार ५, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?