कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोल सेसन्स

विश्व संगीत दिवस

ललितपुर — गितारलाई काखमा थपक्क सुताएर जब अंकित श्रेष्ठले ‘यादहरू...’ गीत सुनाए दर्शक निकै मुग्ध बने । विभिन्न शैलीमा गितार बजाउने उनको कौशल कतिलाई नौलो लाग्यो । उनले आफ्नी हजुरआमाका लागि लेखेको ‘कथा...’ र अमेरिका बसाइका क्रममा तयार पारेको ‘तर तिमी...’ सँगै बेन होवार्डको ‘किप योर हेड अप...’ बोलका गीत प्रस्तुत गरे ।

सोल सेसन्स

बिहीबार विश्व संगीत दिवसको अवसरमा पाटन म्युजियमको सुन्दरी चोकमा आयोजित ‘सोल सेसन्स’ कार्यक्रममा अंकितले आफ्नो कला प्रदर्शन गरेका थिए । उनीसँगै झन्डै आधा दर्जन अन्य संगीतकर्मीले पनि आआफ्ना खुबी देखाए । ठेट नेपाली लोक धुनदेखि पश्चिमा शास्त्रीय संगीत त्यहाँ समावेश थिए ।

गाउने, बजाउने मात्र नभएर लोक नृत्य पनि देखाइयो । साँझ ५ बजेबाट सुरु कार्यक्रममा सबैभन्दा पहिले ‘काठमाडौं न्याखी बाजा पुज’ समूहले नेवारी लोकबाजामा दुइटा धुन प्रस्तुत गर्‍यो । धिमे, न्याखी, झयाम्टा बजाउँदै पाँच सदस्यीय समूह स्टेजबाट बाहिरिएपछि ‘त्रय’ समूहले प्रस्तुति दिएको थियो । सितार, गिटार र तबलाको धुन फयुजन गराएर समूहले नौलो स्वाद चखायो ।


‘नेपा: बाँसुरी खल’ ले चाहिँ वर्षा ऋतुमा गाइने लोक धूनसँगै ‘छन्त जी नापला वे...’ र ‘राजमती कुमती...’ गीतलाई बाँसुरी र बादलको धूनमा प्रस्तुत गर्‍यो । दस सदस्यसहितको ‘काठमाडौं स्ट्रिङ्ग इन्सेम्बल’ अर्केस्ट्रा समूहले शास्त्रीय, कन्टेम्पोररी र नेपाली गीत प्रस्तुत गरेको थियो । समूहलाई केही गीतमा संगम तामाङ र स्वस्तिका रेग्मीले भोकल्समा साथ दिए ।


युवा कलाकार युभस वैद्यको पियानो वादन कार्यक्रमको आकर्षण बन्यो । जुनेली साँझमा उनले आनन्द जगाउने धूनहरू सुनाए । लगत्तै चरिया, खिँ र धिमेमा एक हूल कलाकारले लोक नृत्यु प्रस्तुत गर्दा माहोल रंगीन बन्यो । कार्यक्रमको अन्त्यमा भने काठमाडौं विश्वविद्यालयको संगीत विभागका छात्राहरूको समूह ‘दिदीबहिनी’ ले इथ्निक–पप स्वाद पस्किएका थिए ।

वियर्ड इभेन्ट्सले गरेको सोल सेसन्सको यो दोस्रो शृंखला थियो । गत वर्ष पुल्चोकमा यस्तै शैलीको कार्यक्रम गरिएको आयोजकले जनायो । युवा संगीतकर्मीलाई प्रमोट गर्नु लक्ष्य भएको सोल सेसन्सको भनाइ छ । बिहीबारको समारोहमा विश्व संगीत दिवसबारे जानकारी दिइएको थियो । कलाकारले एकअर्कालाई शुभकामना आदनप्रदान गरे ।

प्रकाशित : असार ८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?