कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“कायरा” केमेस्ट्री

काठमाडौँ — चकलेटी नायकका रूपमा ‘मेरो एउटा साथी छ’ बाट फिल्म यात्रा थालेका आर्यन सिग्देल त्यसपछिका केही वर्ष युवा दर्शकको ढुकढुकी नै रहे । जसै अनमोल केसी, प्रदीप खड्का र पल शाह मार्काका विकल्प बजारमा देखिए, आर्यन बिस्तारै छेउ लागे ।

“कायरा” केमेस्ट्री

बीच–बीचमा आफूलाई लभरब्वाय एक्टरबाट एक्सन नायकमा पनि आफूलाई टेस्ट गर्न खोजे तर सफल भएनन् । ‘होमवर्क’ जस्तो फिल्मबाट वृद्धको हुलियामा समेत आफूलाई प्रस्तुत गर्ने जोखिम उठाए । तर जोखिम अनुसारको उपलब्धि त्यसले पनि दिएन । यतिबेला फेरि उनी ‘कायरा’ मार्फत नायकको अन्तिम ओभर खेलिरहेका लाग्छन् ।

साउन १८ मा देशव्यापी प्रदर्शन थाल्ने लक्ष्मण रिजाल निर्देशित उक्त फिल्मलाई आर्यनले नै निर्माण पनि गरेका हुन् । फिल्ममा नायककै भूमिकामा देखिएका आर्यनले नायिकाका रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई खेलाएका छन् ।

सोमबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा आर्यनले साम्राज्ञीबारे भने, ‘साम्राज्ञीसँगको कामगराइ नयाँ नायिकासँग गरे जस्तो अनुभव भएन । गर्व गर्न लायकको फिल्म बनेको छ ।’ उनले साम्राज्ञीलाई अनुबन्ध गर्न झन्डै एक महिना आफैंले स्क्रिप्ट लिएर ताकेता गर्नुपरेको सुनाए ।

साम्राज्ञीले आर्यनको पहिलो फिल्म सात–आठ कक्षामा पढ्दा हेरेकी रहिछन् । ‘मलाई पहिल्यैदेखि मन पर्ने एक्टर हो,’ आर्यनबारे साम्राज्ञीले भनिन्, ‘तर घमन्डी छ, दु:ख दिन्छ भन्ने सुनाइएको थियो । अहिले सँगै काम गर्दा उहाँप्रति झन् बढी सद्भाव बढ्यो । जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि क्यामेरा अन हुनेबित्तिकै चरित्रमा ढलिहाल्ने उहाँको क्षमताबाट बढी प्रभावित भएँ । सोचेभन्दा ठ्याक्कै फरक ।’ साम्राज्ञीले आर्यनको मात्रै तारिफ गरिनन्, फिल्म पनि राम्रो बनेको सुनाइन् ।

निर्देशक रिजाल चार वर्षको अन्तरालमा ‘कायरा’ मार्फत पुन: निर्देशनमा फर्किएका हुन् । उनले यसपटक आफू निर्देशनमा सक्षम भई आएको दाबी गरे । भने, ‘मलाई मनदेखि फिल्म बनाउनु थियो । मैले पहिला कस्ता फिल्म बनाएँ, यतिबेला सम्झन चाहन्नँ । र, यो फिल्म हेरिसकेपछि तपार्इंले पनि किन त्यस्तो भन्यो भन्ने थाहा पाउनु हुनेछ ।’ उनले सुरुवातमा आफू ‘कायरा’ को निर्माणमा मात्रै आबद्ध रहेकामा स्क्रिप्टपछि निर्देशन नै गर्न तयार रहेको बताए । म्युजिकल लभस्टोरी भनिएको ‘कायरा’ फिलिपिन्समा खिचिएको हो ।

प्रकाशित : असार ११, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?