रंगमञ्चमा अर्गानिक स्वाद

अनुभव र ज्ञान सेयरको हिसाबले विदेशी नाटक पनि हुनुपर्छ, तर त्यसलाई सबै ठान्नु हुन्न । हामीकहाँ थुप्रै मिथक छन्, यिनैलाई पृष्ठभूमि बनाएर अहिलेको समयको कथा भन्न सकिन्छ ।सत्यमोहन जोशीसंस्कृतिविद्
कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नै करेंसाबारीमा हलक्क बढ्दै गरेको फर्सीका मुन्टा टपक्क टिपेर तरकारी पकाउँदाको मज्जा बेग्लै हुन्छ,’ अनामनगरस्थित मण्डला थिएटरछेउको एउटा भान्साघरमा रंगकर्मी आशान्त शर्मा भन्दै थिए, ‘अझ गोलभेंडाको अचार र अकबरे खुर्सानीसँग ढिँडो खान पाए !’

बजारका फास्टफुडसँग मौलिक खानाको स्वाद तुलना नहुने बताइरहेका बेला उनको हातमा दूधको गिलास थियो । उनी एक छिन घोरिए र अर्गानिक स्वादको बखान गर्दै भित्री कुरा खोले, ‘अचेल नेपाली रंगमञ्च फास्टफुडतिर लम्किँदै गएको देख्छु ।’


‘सन्दर्भका कथामा खेल्ने मौका कम पाएँ,’ उनी हाँसे, ‘त्यस हिसाबले त म पनि फास्टफुड रंगकर्मी पो भएछु !’

Yamaha


यस्तै महसुस भएपछि पछिल्लो समय उनी आफैं कथा खोज्नतिर लागेका छन् । वर्षदिनअघि उनले ‘दरौंदीको पानी’ मञ्चनमा ल्याए । राजा राम शाह, रानी लीलावती र लखन थापाको सम्बन्ध जोडिएको उक्त नाटक ऐतिहासिक पृष्ठभूमिमा आधारित थियो । अहिले दोस्रो नाटकको तयारीमा छन् । विभिन्न महिलाको कथा सुनेर उनीहरूलाई नै लेख्न लगाई उनले ‘एलआईजी पिकनिक’ शीर्षक नाटक निर्देशन गरिरहेका छन्, साउन १० देखि यो नियमित मञ्चनमा आउँदै छ । ‘आफ्नै टेक्स्टमा काम गर्दाको आनन्द भिन्न हुन्छ, आत्मीयता हुन्छ,’ उनको अनुभव छ ।


रंगकर्मी अनिल सुब्बा लिम्बू समुदायका हुन् । तर, उनले एकल अभिनय गरेको नाटक ‘जिउँदो आकाश’ ले राम्रो रेस्पोन्स मात्रै पाएन, भारतमा आयोजित थिएटर ओलम्पिकदेखि विभिन्न थलोमा मञ्चनको अवसरसमेत पायो । अहिलेसम्म आफ्नै संस्कृति र सभ्यता अध्ययन गर्न बाँकी नै रहेको बताउने उनले यति बेला चाहिँ तामाङ समुदायमाथि नाटक बनाए ।


साँखुमास्तिरको घुमारचोक गाउँको अवस्था समातेर तयार पारेको नाटक ‘बर्दो मोन्लाम’ शिल्पी थिएटरमा हालै मञ्चन भयो । घुमारचोककै वनदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई नाटय कार्यशालामा उतारेर तयार पारिएको नाटकमा उनले बौद्ध सम्प्रदायको मृत्यु संस्कारमार्फत तामाङ समुदायको आर्थिक र सामाजिक समस्या केलाएका छन् ।


‘कथा हाम्रै वरिपरि बग्रेल्ती छन्,’ उनले भने, ‘तर, हामी दु:ख गर्न छोडेर अरूका अनूदित नाटकको सहारा लिइरहेका छौं ।’


हुन त यति बेला नेपाली विषयवस्तुकै नाटकहरू मञ्चनको लहर चल्दै छ । अघिल्लो साता मात्रै शिल्पी थिएटरमा ‘सोनाम ग्याल्मो’ ले तीन साता लामो आफ्नो नियमित सो टुंग्यायो । फूलमान वलको लेखन र सोनाम मोक्तानको निर्देशन रहेको यो नाटकअघि रमेशरञ्जन झाको लेखन र घिमिरे युवराजको निर्देशन रहेको ‘सखी’ मञ्चनमा आएको थियो । उता, सर्वनाम थिएटरमा सरिता शाहले मैथिली भाषामा ‘काशीदेवी’ मञ्चनमा ल्याएकी थिइन् ।


‘आफ्नै सांस्कृतिक पृष्ठभूमिको नाटक देखाउन पाउँदा नौलो अनुभूति हुँदो रहेछ,’ सरिताले भनिन्, ‘बानी बिग्रेर त्यस्तो भएको हुन सक्छ ।’


सर्वनाम थिएटरका राज शाह यति बेला ‘जनयुद्ध जारी छ’ को तयारीमा छन् । छ वर्षपहिले जनयुद्धको मर्म समेटेर नाटक लेखेका उनी आफ्नै विषय र परिवेशका भोगाइ रंगमञ्चमा ल्याउन मन पराउँछन् । राजले आफ्नै निर्देशन र लेखनमा जातीय विभेदमाथि ‘बुख्याँचा मन’ मञ्चन गरेका थिए । रंगमञ्च बुझ्न समाज नबुझी नहुने उनको तर्क छ ।


रंगकर्मी जोडी सिर्जना अधिकारी र सुलक्षण भारतीले पनि केहीअघि नेपाली सन्दर्भ टिपेर ‘मिल्क टी’ नाटक बनाएका थिए । शिल्पीमै मञ्चन भएको सरुभक्तको ‘थाङला’ ले पनि हिमाली स्वाद प्रस्तुत गरेको थियो । अनुप बरालले निर्देशन गरेको यो नाटक पोखरामा केही महिनाअघि सम्पन्न राष्ट्रिय नाटक महोत्सवमा दर्शकले रुचाएपछि दोहोर्‍याएर देखाउनुपरेको थियो ।


चन्द्रप्रसाद पाण्डे लिखित र आरके रोशन मेहता निर्देशित तेस्रोलिंगी मनोविज्ञान बोकेको ‘जिउँदो आकाश’ ले पनि भिन्न बहस सिर्जना गरेको थियो । केही वर्षअघि मण्डला थिएटरमा मञ्चन भएका सत्यमोहन जोशीको नाटक ‘सुनकेशरी’, दयाहाङ राईको ‘डिग्री माइला’ र ‘मितज्यू’ पनि अग्र्यानिक उत्पादन हुन् ।


अनूदित नाटक र नेपाली नाटकमा अभिनय गर्दाको फरक अनुभवको खानी छ, रंगकर्मी विजय बरालसँग । उनका अनुसार अनूदित विदेशी नाटकमा काम गर्दा टेक्स्टको चाप बढी हुने हुँदा पात्रको परिवेश महसुस गर्न कलाकारलाई कठिन हुन्छ । ‘हाम्रै समाजको कथामा अभिनय गर्दा बिग्रिए पनि तुरुन्तै मिलाउन सकिन्छ,’ उनले भने, ‘अनूदितमा त्यस्तो हुँदैन । चरित्रहरूसित पनि सामञ्जस्य गाँस्न समय लाग्छ ।’


मौलिकताको खोजी किन ?
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका नाटककार सरुभक्तको बुझाइमा, रंगमञ्चमा बाँच्नका लागि केही अनूदित नाटक र विज्ञापन शैलीका नाटक खेल्नुपर्ने बाध्यता छ, तर यसो भन्दैमा आफ्नै माटोको सुगन्ध भुलेर रंगमञ्चको मूलधारकै रूपमा बाहिरी संस्कृति र ज्ञान भित्र्याउनु हुन्न ।


‘हाम्रो रंगमञ्चको आफ्नै भाषा र विषय हुनुपर्छ,’ सरुभक्तले भने, ‘पछिल्लो समय मौलिक नाटकमा धेरै राम्रो काम भइरहेको देख्छु ।’


रंगकर्मी सुनील पोखरेलले भने धेरैजसो अनुवाद नाटक देखाए । तर, डेढ वर्षदेखि उनी नेपाली कथावस्तु खोज्दै हिँडेका छन् । खास गरी सामाजिक सौन्दर्यचेतले भरिएको नाटक उनको रोजाइमा पर्छ । ‘पछिल्लो समय अनुवाद नाटक सकभर मञ्चन गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘के गर्नु, नाटककारकै खडेरी छ !’


संस्कृतिविद् सत्यमोहन जोशीले भने संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान खुलेको आठ वर्ष हुँदा पनि नेपाली मौलिक रंगमञ्चमा खासै काम नभएको गुनासो गरे । खोजी अनुसन्धान, नाटककारलाई उत्प्रेरणा जस्ता कार्य हुन नसक्दा युवा पिढी नाटक लेखनतिर खासै आउन नसकेको उनको ठम्याइ छ ।

Esewa Pasal

प्रकाशित : श्रावण ९, २०७५ ११:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजार नजिक राति सुतिरहेको बेलामा घर माथि पहिरो खस्दा पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-२ का २२ वर्षीय नरेश भूल रहेको प्रहरीले जनाएको छ । 

बुधरबार पौने तीन बजेतिर गोकुलेश्वरकै मानबहादुर बिकको निर्माणाधीन पोल्ट्री फाम माथिबाट पहिरो खस्दा पुरिएर भूलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । पोल्ट्री फममा मजदुरी गरी रातिसँगै सुतेका अन्य ४ जना समान्य घाइते भएका छन् । समान्य घाइते चारै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि घर फर्किसकेको प्रहरी जनाएको छ ।
पोष्टमार्टमका लागि मृतक भूलको शवलाई गोकुलेश्वर अस्पतालमा लगिएको इप्रका गोकुलेश्वरले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७५ ११:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT