फिल्मकर्मीहरू दुईतिर

जी सिने अवार्डमा “नेपाल क्याटेगोरी”
उनीहरू चीन वा अमेरिकामा गएर अवार्ड समारोह गर्दा ती देशका फिल्मलाई एउटा ट्रफी दिने हिम्मत गर्न सक्छन् ? - मनोज पण्डित
कसैले सम्मान गरेर दिने कुरा लिँदा राष्ट्रियता बरु उचो नै हुन्छ । अवार्ड आयोजना हुनु, त्यसमा पनि नेपाल क्याटेगोरी राखिनु झन् राम्रो हो । - नीर शाह
सुशील पौडेल

काठमाडौँ — भारतको जी सिने फिल्म अवार्ड मंसिर २२ मा काठमाडौंमा हुने भएपछि यसले तरंग ल्याएको छ । अवार्डमा सामेल गर्ने भनिएको ‘नेपाल क्याटेगोरी’ का कारण नेपाल भारतको अर्को प्रान्तका रूपमा दरिन सक्ने कतिपयले आशंका गरेका छन् भने कतिपयले कसैबाट सम्मान पाउनुलाई अन्यथा मान्न नहुने तर्क गरेका छन् ।

प्रधानमन्त्री केपी ओली भारतीय टोलीलाई भेट दिँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी लगायत ।

त्यस्तै, सन्देह गर्नेमध्येका एक फिल्म निर्देशक मनोज पण्डितले भारतीयहरूले एउटा ट्रफी दिनु ठूलो कुरा नभएको भन्दै त्यस्तो ‘दयाको भीख’ लिनुअघि नेपालले सोच्नुपर्ने बताएका छन् । ‘अर्काले जे दिए पनि स्विकारिहाल्ने र स्विकार्नुपर्ने बाध्यता बोक्ने हाम्रो माग्ने चरित्रका कारण आजसम्म हामी स्वाधीन र स्वतन्त्र हुन सकिरहेका छैनौं,’ उनले कान्तिपुरसँग भने, ‘त्यसबारे के गर्ने भनेर हामीले सोच्ने मात्रै होइन कि अस्वीकार गर्न सक्ने हिम्मत हुनु आवश्यक छ । ‘के उनीहरू चीन वा अमेरिकामा गएर अवार्ड समारोह गर्दा ती देशका फिल्मलाई एउटा ट्रफी दिने हिम्मत गर्न सक्छन् ?’

नेपाली कानुन र संस्कृति स्विकार्दै आफ्नो कार्यक्रम गर्नुमा कुनै समस्या नभएको र यसलाई एउटा राम्रो अभ्यासका रूपमा लिन सकिने उल्लेख गर्दै पण्डितले थपे, ‘तर नेपाल क्याटेगोरीलाई स्वीकार्दै नेपालका प्रधानमन्त्री हौसिनुले हाम्रो राष्ट्रियता कति कमजोर धरातलमा रहेछ भन्ने खुलाउँछ । उनीहरूले नेपाललाई आफ्नो देशको एउटा प्रान्तभन्दा बढी गन्दैनन् । यो त्यसैको परिणति हो ।’

Yamaha

जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रासहितको भारतीय टोलीले यसै साता प्रधानमन्त्री केपी ओलीलाई भेटी अवार्ड आयोजनाको प्रस्तावसँगै ‘नेपाल क्याटेगोरी’ पनि राख्ने प्रस्ताव गरेको थियो, जसलाई नेपाली पक्षले ताली बजाएर स्वागत गरेको थियो ।

भारतीय टोलीसँगको भेटपछि प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत जी सिने अवार्ड आउँदो डिसेम्बरमा काठमाडौंमा गरिने जानकारी दिँदै हरेक वर्ष अवार्डमा ‘नेपाल क्याटेगोरी’ पनि थपिने उल्लेख गरेका छन् । तर अवार्डको नेपाल संयोजन गरिरहेका निर्देशक दिनेश डीसी भने जी सिने अवार्डमा ‘नेपाल क्याटेगोरी’ दिने कुरा उठे पनि तय भइनसकेको दाबी गरे ।

‘भारतीय पक्षबाट त्यसबारे कुरा उठेको पनि हो । तर नेपाली फिल्मलाई समेट्ने गरी एउटा क्याटेगोरी पनि थप्नेबारेमा सहमति भइसकेको भने छैन,’ उनले भने, ‘मेरो व्यक्तिगत बुझाइमा यसले विवाद निम्त्याउँछ भन्ने लाग्छ । नेपाल क्याटेगोरीको नाममा हामी कसैको सती किन जानु ?’ उनले त्यो बेलाको छलफलमा ‘नेपाल क्याटेगोरी’ लाई सामान्य ढंगले लिएर ताली बजाए पनि विवाद निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखेर हटाउन सकिने बताए । भने, ‘यसो गर्दा भारतले आफ्नो देशको एउटा भोजपुरी प्रान्त जस्तो गरी नेपाललाई पनि अवार्ड दिएको बुझियो भने नराम्रो हुन्छ । म यसबारे प्रधानमन्त्रीलाई अवगत गराउनेछु ।’

भारतीय टोलीसँगको छलफलमा सहभागी अर्का निर्माता/निर्देशक नीर शाहले भने जी सिने अवार्डमा ‘नेपाल क्याटेगोरी’ राखिनु सकारात्मक भएको तर्क गरे । ‘मेरो विचारमा त यो प्रस्ताव राम्रो हो । यसमार्फत नेपाली फिल्मले पनि परिचय पाउँछ भने यो नेपाली फिल्मलाई गरिएको एउटा सम्मान नै हो,’ शाहले यसलाई अनावश्यक रूपमा राष्ट्रियतासँग दाँजेर हेर्न नहुने भन्दै थपे, ‘ओस्कार अवार्डमा नेपाली फिल्म मनोनयन भयो भने अवार्ड नलिने त ? कसैले सम्मान गरेर दिने कुरा लिँदा राष्ट्रियता नै बरु उचो हुन्छ । एक त यहाँ अवार्ड आयोजना हुनु राम्रो कुरा हो, अझ त्यसमा पनि नेपाल क्याटेगोरी नै राखिनु झन् राम्रो कुरा हो ।’

निर्देशक पण्डितले नेपाल भारतको प्रान्त हैन भनेर नेपाल नै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको औँल्याए । ‘उनीहरूको कार्यक्रमलाई राष्ट्रले जतिसक्दो सहयोग गरेर भव्य बनाउने भूमिका खेल्दा केही फरक पर्दैन,’ उनले भने, ‘यसले नेपालको पर्यटनलाई प्रवद्र्धन गर्छ भनी सोच्नु पनि अन्यथा नहोला, तर नेपाली फिल्म बलिउडको एउटा अंग होइन भन्ने चाहिँ सत्तावालाले हेक्का राख्नु जरुरी छ । हाम्रो शासकवर्गले उनीहरूलाई नेपाल र नेपाली फिल्म क्षेत्र सार्वभौम भएको अनुभूति दिलाउनुपर्छ ।’

Esewa Pasal

प्रकाशित : श्रावण ११, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जोगाउँदै कर्णालीका भाका

कृष्णप्रसाद गौतम

सुर्खेत — गलीमा लाउने गली ठुमरा कानैमा लाउने सुनको भमरा पाउमा लाउने पाउजु बजाउँदै शिरफूल लाएर सिउँदो सजाउँदै उडी गई पुतला नबोली गैगै मायाजालमा...

६ वर्षअघि तिलक परियारले गाएको यो सिंगारु गीतले मध्यपश्चिम क्षेत्रमा राम्रै श्रोता पायो । उनको लोकप्रियता पनि बढ्यो । त्यसबेला सातामा चार वटासम्म कन्सर्ट भ्याउँथे । यसबाट हौसिएका उनले त्यसपछि ‘रिम्ना दोभान’ झयाउरे गीत र ‘तोरी हरियो’ टप्पा गीत ल्याए । यी दुई गीत पनि पश्चिम पहाडमा लोकप्रिय बने । अहिले उनको परिचय नै लोपोन्मुख भाका जोगाउने सर्जकको रूपमा स्थापित भएको छ ।

तिलकले अहिलेको कर्णाली प्रदेशमा लोप हुँदै गएका पुराना भाकालाई नयाँ शब्दमा ढालेर गीत गाउने गरेका छन् । उनले पैस्यारु गीत ‘बासमती चावल’ का साथै टप्पा भाका ‘क्या राम्री रैछौ’ र ‘सुन हजुर’ ल्याएका छन्, जुन सुर्खेत, दैलेख, रुकुम र सल्यानमा निकै रुचाइएका छन् । दुई वर्षअघि उनले गाएको यो टप्पा पनि पश्चिम क्षेत्रमा चल्यो :

सगालैको बारीमा तोरी हरियो
लाग्दैन बाँडुली माया मरियो...

लोकसंगीत आधुनिकीकरण भइरहेका बेला उनी पुराना लोकभाकाको संरक्षणमा किन लागे त ?
‘पश्चिम पहाडको पहिचान बोकेका टप्पा, सिंगारु, पैस्यारु लगायतका गीतलाई संरक्षण गर्न जरुरी छ,’ २९ वर्षे गायकले भने, ‘त्यसैले वर्षमा एउटा एल्बम लोपोन्मुख भाकाकै ल्याउने गरेको छु । पछिल्लो समय चाडपर्व र मेलामा बाहेक अन्त पुराना भाका सुन्न पाइँदैन ।’

‘दु:ख पाइछौ रे’ गीत हुँदै २०६५ मा लोकसंगीतमा प्रवेश गरेका तिलकले भावी सन्ततिका लागि समेत मौलिक पहिचानको जगेर्ना गर्नुपर्ने बताए । आफ्ना गीतले केही हदसम्म परम्परागत कला–संस्कृतिलाई जोगाउन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT