महिनामा एउटा तामाङ फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्लो महिना तामाङ फिल्मकर्मी रोशन फयुबा ‘सेर्कु’ फिल्मको छायांकन र सम्पादनमा व्यस्त थिए । आधा दर्जन फिल्म निर्देशन गरिसकेका उनले केही दिनअघि मात्रै नयाँ फिल्म निर्देशनको घोषणा गरे, ‘स्हेङ’ (नासो) ।

फिल्म ‘सेर्कु’ को एक दृश्य ।

पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्दाका समयको कथा टिपेर बनाउन लागिएको ‘स्हेङ’ को प्रि–प्रोडक्सन चलिरहेको छ, दसैंलगत्तै सुटिङमा जानेगरी । ‘हिमालकी रानी’ र ‘सेमकी ताम’ को रिलिज योजना पनि बनाउनु छ,’ फयुबाले भने, ‘पाइप लाइनमा केही काम पनि थपिँदै छन् ।’

- सबैभन्दा बढी तामाङ फिल्म निर्देशन गरेका छन्, अमीर दोङले । २६ तामाङ फिल्ममा अभिनय गरिसकेका उनले १७ वटा त निर्देशन नै गरिसकेका छन् । हालैको कुराकानी क्रममा उनी पछिल्लो फिल्म ‘ङिङजे’ (बिचरा) को पोस्ट प्रोडक्सनमा व्यस्त थिए । बौद्धस्थित डम्फु मिडियामा सम्पादन गरिरहेका उनको अघिल्लो फिल्म ‘देन्बा माया’ (साँचो माया) केहीअघि मात्रै दुबईमा देखाइएको थियो ।

- अघिल्लो साता राजधानीको जमलस्थित नाचघरमा अभिनेत्री सुकुमाया मोक्तान आफ्नो ब्यानरमा निर्मित फिल्म ‘घ्रान’ (कसम) को च्यारिटी सोमा निकै उत्साहित थिइन् । कुनै समय फिल्म ‘मायाला छो’ (मायाको डोरी) गुण सिनेमा ग्वार्कोमा ५१ औं दिन मनाउन सफल भएको गौरव छ उनीसँग । ‘प्राङबो ला म्हाङ’ (गरिबको सपना), ‘पोङ’ (सगुन), ‘मायाला छो’ (मायाको डोरी), ‘हयाङला रिमठिम’ (हाम्रो थिति), ‘खासु न्हाङला दिनी’ (बादलभित्रको जुन), ‘च्याङबा’ (कान्छा), ‘जाथेबा’ (ठूलो छोरा) जस्ता फिल्म खेलेकी उनी छिट्टै नयाँ फिल्म पनि घोषणा गर्दै छिन् ।

यी तीन उदाहरणले तामाङ मातृभाषी फिल्मको पछिल्लो चित्र स्पष्ट पार्छ । तामाङ चलचित्र संघका सचिवसमेत रहेका निर्देशक फयुबाका अनुसार बर्सेनि एक दर्जन तामाङ फिल्म बन्छ, कम्तीमा महिनाको एउटा रिलिज हुनेगरी । प्रवासी बजारसँगै युटयुबमार्फत हुने आम्दानी पनि बढ्दो छ ।

स्वर्ण समय
नेपाली फिल्मको स्वर्ण समय मानिने पचासको दशकको सुरुवाती वर्षमै तामाङ फिल्म सुरु भएको थियो । २०५२ मा जयनन्द लामाले निर्देशन गरेको ‘सेमरी छोरङान’ (मनमा चेतना) बाट सुरु तामाङ फिल्म यात्रा अहिले १ सय ४० को संख्या नाघिसकेको छ । ‘सेमरी छोरङान’ मा अहिलेका चर्चित गायक रोज मोक्तानदेखि ङिमा पाख्रिन, विश्रान्ती लामा, शिखा मल्ल, गौरी लामासम्मले खेलेका थिए ।

महँगो प्रविधिका कारण त्यसको केही वर्ष तामाङ फिल्म बन्न सकेनन् । ‘डिजिटल समयले क्रान्ति ल्यायो,’ निर्देशक एवं समीक्षक दीपेन्द्र दोङ भन्छन्, ‘मातृभाषामै सबैभन्दा बढी संख्याको प्रशंसा पाएको तामाङ फिल्म उद्योग अहिले लोभलाग्दो त बन्दै छ तर व्यवस्थित हुनचाहिँ सकेको छैन ।’

‘सेमरी छोरङान’ पछि उनै दीपेन्द्रले बनाएको ‘मयुङ बुरिङ’ ले राम्रो चर्चा कमायो । त्यो स्वर्ण समयकै कुरा थियो । यसपछि उनले ‘मिख्ली’ (आँसु), ‘नालिस’, ‘झाँक्री’ बनाए । विसं २०६७ को राष्ट्रिय फिल्म अवार्डमा उनको फिल्म ‘झाँक्री’ ले विशेष अवार्ड पायो । यो नै तामाङ फिल्मले पाएको पहिलो सरकारी अवार्ड थियो । साठीको दशकपछि तामाङ फिल्मको निर्माणको लहर नै आयो ।

Yamaha

संख्या मात्रै बढी
हालै भूकम्पमाथि ‘टुहुरोला ल्हुई’ (टुहुरोको जुनी) बनाएका विनय दोङ अघिल्लो महिना नै फिल्म सो गर्ने तयारीमा थिए । तर, केही फिल्मले प्रदर्शनीको समय तोकिसकेको कारण उनी पछि हटे । लक्षित समुदाय एउटै भएकाले पनि उनले फिल्म जुधाउन चाहेनन्।

नाचघरमा ‘घ्रान’ देखाएको केही दिन नबित्दै अजय स्याङतानले शनिबारै बाराही हल भक्तपुरमा ‘आप्लेङला नाम्सा’ (मितबाउको गाउँ) सो गरे। समीक्षक एवं निर्देशक दोङ भने अहिले संख्या मात्रै बढिरहेको गुनासो गर्छन्– ‘विषयवस्तु र गुणात्मकतातिर अब ध्यान दिनुपर्छ।’ उनका अनुसार अहिलेका फिल्ममा भाषा मात्रै तामाङ छ। नेपाली फिल्मलाई तामाङमा डबिङ गरेजस्तै । ‘सामाजिक र सांस्कृतिक विषयवस्तुमा पस्न सकेका छैनौं,’ उनले भने। निर्देशक एवं अभिनेता अमीर दोङको पनि तर्क यही छ ।

प्राविधिक रूपमा फिल्म राम्रो हुँदै गए पनि कथा र पटकथामा खासै नयाँपन आउन सकिरहेको छैन । यसमा अध्ययन र लगानीको सीमा रहेको अमीर बताउँछन् । ‘अध्ययनभन्दा पनि रहरले आउने बढी छन्,’ निर्देशक अजय भन्छन्, ‘रहरले नै आए पनि अध्ययनचाहिँ गर्नुपर्‍यो ।’


सदाबहार सक्रिय
तामाङ फिल्ममा सदाबहार सक्रियमा पर्छन् अभिनेता एवं निर्देशक अमीर दोङ, सुकुमाया मोक्तान, रोशन फयुबा, विनय दोङ, डीबी मोक्तान, कुमार मोक्तान । जनक गुरुङ, विनायक मोक्तान, भीम दोङ, सागर गोले, राजकुमार मोक्तान, बिकु थोकरलगायत पनि सक्रिय छन् ।

निर्माता एवं निर्देशक डीबी मोक्तान ‘दोर्जे डन’, ‘मायासे लासी’, ‘हयुल्ला कानुन’ (राज्यको कानुन), ‘ङाला माया’ (मेरो माया) जस्ता फिल्म बनाएपछि अहिले राजनीतितिर लागेका छन् । उनी अहिले काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष छन् । पछिल्लो समय अजय हुत्त, भुवन लामा पनि निर्देशकको रूपमा आएका छन् । अभिनेत्रीमा एक दशकभन्दा लामो समयदेखि रोशनी ब्लोन, चाँदनी लामा, सुकुमाया, रञ्जिता ब्लोन सक्रिय छन् ।

पछिल्लो पुस्तामा सुषमा मोक्तान, उर्मिला वाइबा, सुषमा थिङ, सीता थिङ, सुनीता लुङबा, रूपा घलेलगायत अभिनेत्रीहरू आएका छन् । अभिनेतामा अमीर, कुमार मोक्तान, सागर घिसिङ सदाबहार सक्रिय छन् भने ऋतुराज पाख्रिन, सञ्जय हुत्त, आरम्भ तामाङ, राजकिङ वाइबालगायत प्रतिभा भित्रिएका छन् ।

सानो लगानी, फराकिलो बजार

निर्देशक रोशन फयुबाका अनुसार तामाङ फिल्म १० लाखदेखि २० लाख रुपैयाँसम्मको लगानीमा बन्छन् । जनक गुरुङको निर्देशनमा बनेको फिल्म ‘घ्रान’ को भने ३० लाख रुपैयाँ लगानी दाबी गरिएको छ ।

नियमित हल सो र व्यवस्थित बजार नभएको अवस्थामा यति लगानी ठिकै मान्छिन् अभिनेत्री सुकुमाया मोक्तान । उनका अनुसार लगानी उठाउने मुख्य आधार च्यारिटी सोहरू नै हुन् । नाचघरमा झन्डै एक हजार दर्शकमाझ ठूलो च्यारिटी सो गरेपछि तामाङ फिल्म बौद्धस्थित सिद्धार्थ, पृथ्वी हल र केएल, बालाजुस्थित अष्टनारायण हल, भक्तपुरस्थित बाराही हल, ग्वार्कोस्थित गुण सिनेमा, काभ्रे बनेपास्थित मयूर र शुमकामना हलमा सोहरू हुन्छन् ।

अर्का निर्देशक विनय दोङका अनुसार यसबाहेक पोखरा, हेटौंडा, चितवन, सर्लाहीलगायत जिल्लामा तामाङ फिल्मको राम्रो बजार छ । ‘सेमला माया’ (मनमाया), ‘मुग्लान हयुल’ (परदेश), ‘धिमनाम’ (घरजम), ‘मायाला म्हेन्दो’ (मायाको फूल) जस्ता फिल्म बनाएका उनले यी फिल्मलाई राजधानी बाहिरका जिल्लाहरू पनि पुर्‍याउने काम गरे । ‘अहिले युटयुबको बजार पनि राम्रो छ,’ उनले भने, ‘थोरै भए पनि नियमित आम्दानीको बाटो बन्दै छ ।’ अभिनेता एवं निर्देशक अमीर दोङ पनि युटयुबतिर आकर्षित देखिन्छन् । केही फिल्म अरूकै च्यानललाई दिएका उनी युटयुबको आम्दानी राम्रो देखेपछि अहिले आफ्नै च्यानल खोलेका छन् ।

उता निर्देशक राजकुमार मोक्तान फिल्म ‘सेमताबा म्ही’ (मन पराएको मान्छे) लिएर यति बेला कोरियामा छन् । गत वर्ष अमेरिकामा आयोजित नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलमा तीनवटा अवार्ड बटुल्न सफल यो फिल्म उनले कोरियामा चार सो गरेका छन् । कुमार मोक्तान र डीबी मोक्तानको ‘मायासे लसी ३’ (मायाले गरेर (३) अघिल्लो महिना मात्रै जापानमा देखाइयो । अमिर दाेङको ‘अमिर ज्यो ज्यो’ कतारमा देखाइएको थियो । अजय स्याङतानको फिल्म ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) केही महिनामै स्विट्जरल्यान्ड, जापान र अमेरिका जाँदै छ ।

रोशन फयुबाकै ‘स्याल्गार’ भारत र अमेरिकामा देखाइएको थियो । ‘लगानी सानो भए पनि अहिले बजार फराकिलो बन्दै छ’, फयुबा भन्छन्, ‘मातृभाषी फिल्मका लागि यो सुनौलो अवसर हो ।’।

Esewa Pasal

प्रकाशित : श्रावण १३, २०७५ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहरमा सारंगी

कान्तिपुर संवाददाता

काठमाडौँ — सारंगी र अरबाजोलाई लोक संगीतमा पोथी र भाले बाजा मानिन्छ । सारंगी भने प्राय: पुरुषले नै बजाउँदै आएका छन् । यसमा महिला वादक पनि थपिनुपर्छ भन्दै सारंगी गुरु मिनु वाइबाले शनिबार सांस्कृतिक संस्थान (नाचघर) मा आफ्नो प्रस्तुति दिइन् । उनले सारंगी रेटदै झलकमान गन्धर्वको ‘डाँफे चरी...’ को छोटो भाग पनि सुनाइन् ।

राजधानीमा शनिबार आयोजित राष्ट्रिय सारंगी उत्सवमा प्रस्तुति दिँदै धनबहादुर गायक र मिनु वाइबा । तस्बिर : सजना बराल । कान्तिपुर

गन्धर्व इतिहास र सामाजिक जीवन समेटेको उक्त गीत गाएपछि वाइबाले यसको महत्त्व बुझाउनु सान्दर्भिक ठानिन् । ‘यो निकै लामो गीत छ,’ उनले भनिन्, ‘गन्धर्व इतिहास र लोक साहित्य बुझ्न हामीले यो गीत सुन्नैपर्छ ।’ नाचघरमै शनिबार आयोजित राष्ट्रिय सारंगी उत्सव २०७५ मा उनीसहित झन्डै दुई दर्जन सारंगी वादकले प्रस्तुति दिएका थिए । तीमध्ये मिनु र वर्त गन्धर्वले महिला प्रतिनिधित्व जनाए । वर्तले आफ्नै शब्द रचनामा ‘हे मेरी आमा...’ सुनाएकी थिइन् ।

लोक स्रष्टा कल्याण शेचरनको ७२ औं जन्मस्मृतिका अवसरमा नाचघर र कल्याण स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा देशभरका सारंगी वादक भेला भएका थिए । उनीहरूले सारंगीमै लोक, शास्त्रीय, भजन र फयुजन गीत एवं धुन सुनाए । कोलम्बियाका एरिक बोकामको प्रस्तुति कार्यक्रमको आकर्षण बन्यो । सारंगी सिक्न कास्की बस्दै आएका उनले मनछुने गाएका थिए ।

कास्कीका गोविन्द गायकको ‘हे राम...’ बोलको लोक गीतमार्फत सांगीतिक माहोल सुरु गरिएको थियो । यसमा उनले मान्छेको जुनी अजम्बरी नहुने भाव व्यक्त गरेका थिए । रुपन्देहीका कर्णबहादुर गन्धर्वले ‘आयो आयो गाइने दाइ...’ बोलमा सारंगी वादकका हक/अधिकारका कुरा समेटे । उनको ‘इलेक्ट्रोनिक सारंगी’ पनि कार्यक्रममा चासको विषय बन्यो ।

कीर्तिपुरका हरिशरण नेपालीले सारंगीमा शास्त्रीय धुन मिसाउँदा दर्शक ताली बजाउन आतुर बने । मादल र पर्कसनमा उनले ‘साँघुरी बारी...’ गीतलाई फयुजन शैलीमा सुनाए । कास्कीकै सम्बरबहादुर गायक सारंगीलाई प्लेटफर्म दिएकोमा धन्यवाद भन्दै स्टेजमा भावुक बने । उनले धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पा...’ गाउँदै सारंगी रेटिरहे ।

गन्धर्वहरूको बाहुल्यमा रोल्पाका झंकार बूढामगर पनि लोकभाका सुनाउन तम्सिए । गाउनुअघि उनले आफू मगर जातिको भए पनि सारंगी बजाएर गन्धर्व बनिसकेको बताए । ‘सुरुमा त मलाई जात फालिस् भने,’ उनी बोले, ‘तर, संगीतको जात हुँदैन जस्तो लाग्छ मलाई ।’ गन्धर्व समुदायको लोक सम्पदाका रूपमा रहँदै आएको सारंगी र यससम्बन्धी सीप विकासका लागि उनले नाचघरलाई थप पहल गर्न अनुरोध पनि गरे ।

म्याग्दीका हेमन्त रसाइलीले चाहिँ आफू अघिल्लो जन्ममा गन्धर्व हुनुपर्ने अडकल काटे । झलकमानको ‘हे बैरी...’ सुनाउनुअघि उनले भने, ‘पहिले गन्धर्व भएकाले अहिले गाउन/बजाउन जानेको हुँजस्तो लाग्छ ।’ समारोहका झापाका लालबहादुर गन्धर्वले ‘आकाशैमा चिल हो कि...’ सुनाइरहँदा तनहुँका धर्म गन्धर्वले सन्तोषी भजन प्रस्तुत गरे । कोलम्बियाका एरिकले सारंगी रेटा दर्शकलाई उत्तिकै कौतुहलताले बाँध्यो ।

दाङका खुमबहादुर केसी, हेमराज गन्धर्व, अर्घाखाँचीका ठाकुर गन्धर्व, बाग्लुङका कमल विश्वकर्मा, भक्तपुरका भरत नेपाली, सुर्खेतका तिलक गन्धर्व, कैलालीका दीपक गन्धर्व र दाङका बालाराम गन्धर्वले सांरगी उत्सवलाई गुञ्जयमान बनाए । समारोहमा हिमाली सांस्कृतिक परिवारका कलाकारले कल्याण शेचरनका गीतमा नृत्य देखाएर माहोल अझै रोमाञ्चित बनाउन भ्याए । संस्कृति मन्त्री रवीन्द्र अधिकारीले सारंगीजस्ता लोकबाजा र लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारले ध्यान दिइरहेको दाबी गरे ।

‘सारंगी वादन नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ,’ उनले भने, ‘हामी संस्कृति प्रवद्र्धनमा क्रान्ति ल्याउन चाहन्छौं । यसका लागि संस्कृतिको पुस्तान्तरण आवश्यक छ ।’ उनले सारंगीलाई स्कुल/कलेजको पाठयक्रममा राख्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT