ढिँडो छोडेर स्यान्डविच

फिल्म समीक्षा
सुशील पौडेल

काठमाडौँ — ‘यो फिल्म जंकफुडको सहरमा ढिँडोको थाली हो ।’ निर्देशक नरेशकुमार केसीले डेब्यु फिल्म ‘डाइङ क्यान्डल’ बाट पाएको समीक्षा हो यो ।

दिदी र भाइबीचको भ्रातृत्वको कथा बोकेको पहिलो फिल्मबाटै मनग्गे प्रशंसा बटुलेका केसीले ल्याएको दोस्रो फिल्म ‘रोमियो एन्ड मुना’ यति बेला प्रदर्शनरत छ । यति बेला भने उनी ढिँडो छोडेर ‘स्यान्डविच’ बेच्न उद्यत छन् ।

संसारभर आदर्श प्रेम पात्रका रूपमा हेरिने रोमियो र जुलियट हुन् वा हाम्रै मुना र मदनको प्रेमकथा । उत्कृष्ट प्रेमको नमुना मानिन्छ । सम्भवत: नरेशले पनि पाश्चात्य साहित्यको प्रेमी रोमियो र हाम्रै परिवेशकी मुनाको प्रेमकथाको संयोजन गरी ल्याएको छनक दिन चाहेका हुन्, ‘रोमियो एन्ड मुना’ मार्फत । अझ बढी, उनले गायिका सुकमित गुरुङको ‘पल पल...’ गीतमा विख्यात चित्रकार भिन्सन्ट भ्यान गगका पेन्टिङ र त्यसैमा फिल्मका पात्रलाई चलायमान गरेकाले फिल्ममा कलाको समायोजन पनि हुने ठूलो अपेक्षा थियो । मुख्य पात्र मुना स्वयं चित्रकार पनि हुन् । निर्देशक स्वयंले तयार पारेको पटकथा भने यसमा खास केन्द्रित छैन । फिल्मले बरु स्त्रीलम्पट चरित्रको वेद र मुडी मुनाबीचको आकस्मिक प्रेम तथा मुना र उनको बुवाबीचको मनोवैज्ञानिक द्वन्द्वको कथालाई समानान्तर पेस गर्ने प्रयास गरेको छ ।

Yamaha

विदेशमा स्त्रीगमनमै उमेर फालिरहेको वेद (विनय) लाई आमाले बारम्बार बिहे गरी सेटल हुन दबाब दिन्छिन् । फलस्वरूप स्वदेश आएको छ । धरानमा नर्सिङ पढ्दै गरेकी प्रिया (सुरक्षा) भेट्न आउने क्रममा मुना (सृष्टि) सँग आकस्मिक भेट हुन्छ । घृणाबाट सुरु हुने रोमियो र मुनाबीचको सम्बन्धलाई निर्देशकले प्रेममा बदल्न गरेको कोसिस नै पूरा फिल्मको यात्रा हो । यसमा जँडयाहा बाबुका कारण आमाले ज्यान गुमाउनुपरेपछि बहिनी च्यापेर धरान झरेकी मुनाको बाबुप्रतिको घृणादेखि क्षमादानसम्मको अर्को यात्रा पनि सँगै बुनिएको छ ।

दुई गन्तव्य लिएर अघि बढेको फिल्मको पल्ला कहिले एउटा कथामा र कहिले अर्को कथामा ढल्कन्छ । दुई कथाको आपसी सम्बन्ध नहुनुले कतिपय दर्शकलाई पटयार लाग्न पनि सक्छ । मुनाको मानसपटलमा बुवाप्रति एकखाले डर छ । जसलाई निर्देशकले एक एनिमेटेड क्यारेक्टर ‘मोन्स्टर’ जन्माएका छन्, जुन बारम्बार मुनालाई कमजोर पार्न आइरहन्छ । डरको विम्बका रूपमा राखिएको उक्त पात्रलाई नै निर्देशकले अन्त्यमा बाबुमा ट्रान्सफर्म गरिदिएका छन् । एक हदसम्म फिल्मले यसबाट कलात्मक प्रस्तुति दिन खोजेको छ । ‘स्यान्डविच’ लाई यौनका रूपमा रोमियोको हर्कतसँग विम्बात्मक रूपमा राखिएको छ । उनी युवतीलाई पनि स्यान्डविच नजरले हेर्ने गर्छन् ।

अर्गानिक स्वादमा ‘डाइङ क्यान्डल’ पस्केका नरेश यसपटक जंकफुडमा ढल्केका छन् । ‘रोमियो एन्ड मुना’ लाई आमदर्शकमा बेच्ने लोभमा खान्कीमा मसला ठेलिदिएका छन् । जुली (सुषमा) र आर्यन (प्रज्ज्वल) बीचको प्रेमको उपकथा यसैको एउटा उदाहरण हो । यसलाई निर्देशकले दर्शक हँसाएर होल्ड गराउनकै लागि राखिदिएका छन् । तात्कालिक रूपमा त दर्शकले यसमा मनोरञ्जन पनि लिन्छन् । तर फिल्मको राम्रै हिस्सा ओगटेको उक्त प्लट फिल्मको मूल कथाका लागि भने सहायक बन्न सकेको छैन । र, फिल्मको मर्म र निर्देशक केसीको शैलीभन्दा विल्कुल फरक लाग्छ । कम्तीमा संवेदनशील फिल्ममेकरले आफूलाई यस्ता प्लटमा खुम्चाउनु ठीक हैन ।

निर्देशनका हिसाबले भने नरेशले आफ्नो छाप देखाएका भने छन् । विम्बको प्रयोग होस् वा कलाकारलाई चरित्रमा रूपान्तरण गरी काम लिनमा निर्देशक सफल देखिन्छन् । पूरा फिल्म कमजोर हुँदाहुँदै पनि प्रत्येक दृश्यलाई रमाइलो बनाउन र उतारचढावपूर्ण बनाउन राम्रै मिहिनेत गरेका छन् र सफल पनि भएका छन् । सृष्टिको अस्पष्ट संवाद सम्प्रेषणबाहेक अभिनय सशक्त छ । धनी र बिग्रेको केटाको भूमिकामा विनयले पुरापुर न्याय दिएका छन् । सुरक्षा जति दृश्यमा देखिन्छिन्, आफ्नो बलियो उपस्थिति जनाएर जान्छिन् ।

‘रोमियो एन्ड मुना’ प्राविधिक दृष्टिकोणबाट तुलनात्मक बलियो बनेको छ । खासगरी छायांकन पक्ष अब्बल छ । दीपांकर सिग्देरको भ्यु फाइन्डरले पात्रलाई मर्का नपर्ने गरी सहज रूपमा पछ्याएका छन् भने प्रकाश संयोजन खास छ । पृष्ठभूमि संगीत फिल्मको अर्को सशक्त पक्ष हो । फिल्मको मुड सिर्जना गर्न पृष्ठभूमि संगीत गतिलो हतियार बनेको छ । गीतलाई पनि निर्देशकले ठीक ठाउँमा ठीक तरिकाले प्रस्तुत गरेका छन् ।

फिल्मको शीर्षकले आदर्श प्रेमको झल्को दिए पनि पात्रबीचको प्रेमको विकास गहकिलो बन्नबाट चुकेको छ । मुनाको घमण्डीपनाको उपज खुल्न सकेको छैन । आमाको मृत्युपछि मुनाको मुडमा जति ख्याल गरिएको छ, सँगैकी बहिनीमा त्यसको रत्तिभर प्रभाव देखिँदैन । मुना र रोमियोबीच तिरस्कारपूर्ण भेट हुँदाहुँदै पनि दुई सँगै भइरहनुपर्ने बाध्यकारी परिस्थिति गहकिलो बन्न सकेको छैन ।

बाजी थाप्ने र त्यसमा कटिबद्ध भएर लाग्नुमा पर्याप्त लजिक खोज्न सकेको लाग्दैन । आमाको दुर्घटनाको फ्ल्यासब्याक र वर्तमान समयबीचको टाइम फ्रेममा फिल्म चुकेको छ । तर यावत् फिल्मी व्याकरणलाई नजरअन्दाज गर्दै फिल्म हेर्न चाहनुहुन्छ भने ‘रोमियो एन्ड मुना’ ले तपाईंलाई कम्तीमा हेरुन्जेल बोर हुन दिँदैन । त्यत्ति हो, फिल्मको नाम र गीतका भरमा भयंकर सोचेर हेर्न जाँदा भने खल्लो लाग्नु स्वाभाविक हुनेछ । समकालीन नेपाली प्रेमकथाका फिल्मभन्दा ‘रोमियो एन्ड मुना’ फरक र केही अब्बल पक्कै छ ।

रोमियो एन्ड मुना
निर्देशक : नरेशकुमार केसी
कलाकार : विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरी, सुषमा कार्की, सुरक्षा पन्त

Esewa Pasal

प्रकाशित : श्रावण १७, २०७५ ०९:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जीवन बदल्न रंगमञ्च

‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ । जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — कैदी बन्दीको मनोरञ्जनका लागि कारागारभित्र विभिन्न गतिविधि हुन्छन् भन्ने थाहै छ । सेलेब्रिटीहरू बोलाएर प्राय: सांगीतिक सांस्कृतिक कार्यक्रम गर्ने चलन प्राय: बढी छ ।

तर, अमेरिकाको न्युयोर्क प्रिजनमा भने कलाकार निम्त्याएर रमाइलो गर्नुको सट्टा जेल जीवन भोगिरहेकाहरूलाई नै कलाका विभिन्न गतिविधिमा सामेल गराइन्छ । यसै साता कैदीबन्दी अभिनीत ‘अफ माइस एन्ड मेन’ नाटक देखाइयो ।

रिहाबिलिटेसन थ्रु द आट्र्स (आरटीए) अर्थात् कलाका माध्यमबाट पुन:स्थापना भन्ने कार्यक्रममार्फत कैदीबन्दीलाई रंगमञ्चमा उतारिएको हो । यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभएर काराबासमा रहेकाहरूलाई आत्मविश्लेषण गर्ने माध्यम बनोस् भन्ने उद्देश्यले सञ्चालन गर्ने गरिएको छ । हड्सन नदीको किनारमा रहेको सिङसिङ करेक्सन फयासिलिटी (बन्दीगृह) को थिएटरमा रोचक त के भने सहरका उच्च प्रशासनिक व्यक्ति एवं राजनीतिकर्मीहरू पनि नाटक हेर्न आउने गरेका छन् ।

कलाले मान्छेलाई बहुआयामिक बनाउने र आफूभित्रको सकारात्मक पक्ष उजागर गर्न मद्दत गर्ने भएकाले यसमार्फत कैद जीवन बिताइरहेकाहरूलाई असल मार्गमा प्रोत्साहन गराउन खोजिएको आरटीएको वेबसाइटमा उल्लेख छ । ‘यसले हामीलाई फरक तरिकाले सोच्न सिकाइरहेको छ,’ एक कैदीको भनाइ उद्ध्रृत गर्दै वेबसाइटमा लेखिएको छ, ‘हामी राम्रो व्यवहार सिक्दै छौं । पुन:स्थापनाको सही अर्थ मेरा लागि बानी परिवर्तन गर्नु हो, जुन नाटकमार्फत भइरहेको छ ।’

सन् २००३ मा आफ्नै साथीको हत्या गरेर १७ वर्षका लागि थुनामा परेका चाल्र्स मुर अहिले आरटीए कार्यक्रममा निर्माताका रूपमा संलग्न छन् । उनी कारागारमा नाटक उत्पादन गर्न ठूलो धैर्य चाहिने दाबी गर्छन् । पछिल्लो पटक देखाइएको ‘अफ माइस एन्ड मेन’ कै सन्दर्भ जोडेर उनले भने, ‘हलमा दर्शक आइसक्नुभएको थियो । म सबैथोक तयारी अवस्थामा छन् कि छैनन् भनेर जाँच्दै थिएँ । यसो हेर्छु त मुख्य अभिनेता नै थिएटरमा थिएनन् । सुरक्षा अधिकारीले कहिले हलमा पुर्‍याइदेला भनेर उनी त आफ्नै बन्दी कोठामा कुरेर बसेका रहेछन् । बल्लतल्ल आइपुगे ।’

मुरलाई सुरुमा सत्र वर्षसम्म कसरी जेलभित्र बस्ने होला भनेर ठूलो पीर परेको रहेछ । उनी त्यहाँको माहोल देखेर निकै आत्तिएका रहेछन् । पहिलो पटक आरटीएले बनाएको नाटक हेर्दा उनलाई त्यसले खासै आकर्षण पनि गरेको थिएन । उनी उकुसमुकुस भएर बसेका थिए । तर, जब आफैं नाटकमा संलग्न भए, उनको जीवन फेरियो । ‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ,’ उनले रोलिङस्टोन म्यागाजिनसँग भनेका छन्, ‘तर, जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’

सानैमा अनाथ बनेपछि हजुरआमाको सानिन्ध्यमा हुर्किएका मुर पछि गएर लागूऔषधको अम्मली हुँदै हत्यारा बनेका थिए । नाटकमार्फत आफूभित्रको मानवता फिर्ता ल्याउन सकेको भन्दै उनी अचेल खुसी छन् । ‘हामी सबै एकजुट भएर यस्ता अद्भुत कार्यक्रम निर्माण गर्छौं,’ उनी भन्छन्, ‘यसले हामीलाई हामी अपराधी मात्र होइनौं भन्ने आभास गराउँछ । समाजले हामीलाई जुन नाम दिएको छ हामी त्योभन्दा बेग्लै पनि छौं ।’

प्रकाशित : श्रावण १७, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT