कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिकाउ गीतको वर्चस्व

सजना बराल

काठमाडौँ — संगीतकार दीपक जंगम अहिलेको सांगीतिक माहोलदेखि खुसी छैनन् । यहाँ बनिरहेका गीत स्तरीय नभएको उनको भनाइ छ । गीतकार श्रवण मुकारुङ पनि नेपाली गीतमा काव्यिक उचाइ घटेको भन्दै खिन्न हुन्छन् । गायिका कुन्ती मोक्तान अहिलेको गायनमा हेलचेक्रयाइँ देख्छिन्, मिहिनेत देख्दिनन् ।

बिकाउ गीतको वर्चस्व

बजारमा चलेका अधिकांश गीत कला र भाव गहनताका दृष्टिले कमजोर रहेको कवि/गीतकार मुकारुङले बताए । प्रस्तोता वा निर्मातालाई फाइदा भए पनि यस्ता गीतले राष्ट्रिय संस्कृति निर्माणमा कुनै टेवा नपुर्‍याउने उनको भनाइ छ । ‘संगीत भनेको समाजलाई सुसंस्कृत गराउने माध्यम पनि हो,’ उनी भन्छन्, ‘स्रष्टाले यो दायित्वबोध गर्न छोडेका छन् ।’


संगीतकार दीपक जंगम गायक होइन, मेसिनले गीत गाउन थालेपछि विकृति बढ्नु स्वाभाविक ठान्छन् । अटोटयुन वा टयुन इन्हयान्सरका भरमा गाएका गीत श्रोतामाझ लोकप्रिय भएको देख्दा उनी विरक्त मान्छन् । ‘गम्भीर स्रष्टा हतोत्साहित भइसके,’ उनी भन्छन्, ‘तिनको संख्या घटेको छ । साधना र अध्ययन गर्न छोडियो । तुरुन्त चर्चित हुन खोज्दा नानाभाँति भयो ।’


बजारमा ढोल पिटेका गीत गीत नभएर प्रोपोगान्डा भएको उनको भनाइ थियो । मिडियाले स्तरीय गीत नचिन्दा सस्ता गीत लोकप्रिय भएको उनी ठान्छन् । ‘फिल्मतिर बक्स अफिस लगाएजस्तै संगीतमा पनि नियमन आवश्यक भइसक्यो,’ उनी औँल्याउँछन्, ‘जुन जराबाट आएको हो, त्यसको हेरविचार र मलजल गर्ने काम भएको छैन । नेपाली संगीत बिरुवाबाट बोट हुन नपाउँदै ओइलाउन थालेको छ ।’


गायक प्रेमध्वज प्रधानका अनुसार गीत निर्माणमा सामूहिक पहल मासिएयता गीत विकृत बन्न थालेको हो । अहिले गीतलाई टुक्राटुक्रा पारेर रेकर्ड गर्ने, गीतकार, संगीतकार र गायकबीच समन्वयन नहुने भएपछि असली गीत बन्न नसकेको उनको भनाइ छ । ‘नयाँ सुगम गीत सुन्न पाएको छैन,’ उनी विरक्तिन्छन्, ‘शास्त्रीय शैली मिसाएर हाई स्केलमा, चिच्याएर गाउन थालिएको छ । सुन्दा पटक्कै आनन्द आउँदैन ।’


प्रधानलाई गीतमा सरलता मन पर्छ । उनी भारी शब्द, गुजुल्टिएको संगीत र चर्को स्वरमा कला भेटदैनन् ।


पछिल्लो समय दुईचार वटा गीत मात्रै कलात्मक हुने गरेको उनी बताउँछन् ।
कवि मुकारुङलाई पनि राम्रा गीत बन्दै नबनेको भन्ने लाग्दैन । तर, नराम्रोको वर्चस्व रहेको उनको बुझाइ छ । तृष्णा गुरुङको ‘खनी हो यामु...’, विपुल क्षत्रीको ‘राम साइँली...’, हेमन्त रानाको ‘सुन साइँली...’ जस्ता एकाध गीत आफूलाई रचनात्मक लागेको उनी बताउँछन् ।


जराको खोजी
बजारले चाहेअनुसार गीत सिर्जना गरिएको नयाँ पुस्ताको भनाइ छ । मुकारुङका अनुसार अहिले नेपालमा मात्र होइन विश्वस्तरमै मनोरञ्जनात्मक गीत हावी भइरहेका छन् । गायक प्रधानलाई पनि विदेशी गीतको सिकोले हामी ‘पेपी नम्बर’ मा भुलेका हौं भन्ने लाग्छ । प्राविधिक सुविधा थपिएपछि साधना कम भएको गायिका कुन्ती मोक्तानको ठहर छ ।


गायिका मीना निरौला पनि वर्तमान समयमा गम्भीर गीत नबनेको भन्नेमा सहमत छिन् । तर, यस्ता गीत नराम्रा हुन्छन् भन्नु सही नभएको उनको भनाइ छ । ‘यो पनि संगीतको एउटा प्रकार हो,’ उनी भन्छिन्, ‘हामी गायकगायिकाले सबै प्रकारका गीतको सम्मान गर्नुपर्छ, गाउनुपर्छ ।’ उनी आफूहरूले नेपालीपन नभुलेको बताउँछिन् । हिजोआज लोकलयमै आधारित गीत बनेकाले नयाँ पुस्ताले मौलिकता बिर्सियो भन्नु सही नभएको उनको तर्क छ ।


‘अहिलेका श्रोता र यो समयलाई ध्यानमा राख्दा जस्ता गीत बनिरहेका छन्, ठीकै बनेका छन् भन्ने लाग्छ,’ मीनाले भन्छिन्, ‘भारतमा पनि पहिलेजस्तो गहन गीत बन्न छोडेका छन् । शैली फेरिइरहन्छ । यो शैली पनि सधंैका लागि होइन ।’


नयाँ एल्बमको तयारी गरिरहेकी गायिका मोक्तान पनि थरीथरीका गीतबाट राम्रा छानिँदै जानेमा विश्वस्त छिन् । ‘श्रोताको सांगीतिक चेत बढदै जान्छ,’ उनले भनिन्, ‘बिकाउ गाउनेहरू टिकाउन हुँदैनन् ।’

किन हरायो कलात्मकता ?
कस्ता गीत राम्रा हुन्छन् ? यसको जवाफ छैन भने पनि भयो । तर, साहित्यबिनाको संगीत, मौलिकताबिनाको संगीत वा सौन्दर्यबिनाको संगीत ‘राम्रो’ भित्र नपर्ने संगीतकर्मीहरूको भनाइ छ । गीतको आधारभूत मापदण्ड मिचेपछि यसबाट कला हराएको कवि मुकारुङको ठम्याइ छ । ‘खोकेको पनि गीत, हाँसेको पनि गीत हुन्छ,’ उनी भन्छन्, ‘हास्य कलाकार पनि गायक हुन्छन् यहाँ । जथाभावी गाउनेलाई सेलेब्रिटीको व्यवहार गरिन्छ ।’


राम्रा गीतको प्रचारमा मिडियाले भूमिका खेल्नु अत्यावश्यक रहेको उनको सुझाव छ । स्रष्टाले पनि श्रोताको सांगीतिक चेतनास्तर बढाउनु आफ्नो जिम्मेवारी भएको महसुस गर्नुपर्ने उनको भनाइ छ ।


दीपक जंगम भने अहिलेको प्रविधिलाई दुरुपयोग होइन, सदुपयोग गरे समस्या सल्टिहाल्ने ठान्छन् । ‘मिहिनेत नगरेर संगीत स्तरीय नबनेका हुन्,’ उनी भन्छन्, ‘संगीतमा पनि बाँध बाध्ने बेला आएको छ । मिडियाले बाँधको भूमिका निर्वाह गरिदिए सस्ता गीत छानिने थिए ।’


मौलिकताको कुरा उठिरहँदा अहिलेका ‘सर्जक’ ले पुराना लोक गीत हुबहु नक्कल गर्नु लाजमर्दो भएको कुन्तीको ठहर छ । उनी नयाँ पुस्तालाई सिर्जनशील हुन आग्रह गर्छिन् । यसका लागि उही ‘श्रम’ आवश्यक रहेको उनी बताउँछिन् । ‘अहिले हामीसँग सबै थोक छ,’ उनी भन्छिन्, ‘सुविधैसुविधा छन् । मात्र मिहिनेत बाँकी भयो । मिहिनेत गर्ने र अध्ययनशील हुनासाथ नेपाली गीतमा आफ्नोपन आइहाल्छ ।’

प्रकाशित : भाद्र ६, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?