कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेमिल इदको त्यो परिकार

काठमाडौँ — अभिनेता नाजिर हुसैन आफ्नो जन्मस्थान बारा पुगे । सुटिङका लागि हैन, चाड मनाउन । उनले दुई वर्षयता परिवारमाझ इद मनाउन पाएका थिएनन् । फिल्म सुटिङ र रंगमञ्चमा व्यस्तता त्यस्तो थियो ।

प्रेमिल इदको त्यो परिकार

यो पटक भने पूर्वसन्ध्यामा चाडलाई प्राथमिकता दिए । ‘कामको चक्करमा संस्कृति र आफन्त नै भुलें कि जस्तो लाग्यो,’ उनले भने, ‘त्यसैले यो पटक घर आएँ ।’

उनले फेसबुकमा इदको अंग्रेजी शब्दको अर्थ खुलाउँदै स्टाटस पनि राख्न भ्याए, ‘ई’ को अर्थ ‘इम्ब्रेस विथ ओपन हार्ट’ (खुला ह्दयले आत्मसात् गर्नु), ‘आई’ को अर्थ ‘इन्स्पायर विथ इम्प्रेसिभ एटिटयुड’ (प्रभावकारी व्यवहार) र ‘डी’ को अर्थ ‘डिस्ट्रिब्युट प्लेजर टु अल’ (सबैमा खुसी बाँड्नु) । यो उनको आफ्नै परिभाषा हो ।

नाजिर बुधबार बिहानै नुहाइधुवाइ सकेर नजिकैको मस्जिद पुगे । टोपी थिएन, शिरमा रुमाल राखेर भए पनि नमाज पढे ।

मुस्लिम समुदायमा इदको बेला खसीबोका बलि दिने चलन छ, नाजिरका अनुसार त्यही भएर ‘बकर इद’ भनिएको हो । हरेकका घरमा बलि दिइएको खसीको मासु एक भाग आफूले खाने र दुई भाग मस्जिदलाई चढाउने गरिन्छ ।

‘इदको अर्को रमाइलो परम्परा पनि छ,’ नाजिरले भने, ‘आफूभन्दा ठूलालाई इदी (सलाम) गरेपछि ठूलो मान्छेले मायास्वरूप दक्षिणा दिने गर्छन् । मैले इदी गर्दै बेलुकासम्म ३ हजार रुपैया दक्षिणा पाएँ ।’

सविर चुरौटे र सञ्जिता पराजुली

रंगकर्मी सविर चुरौटे र सञ्जिता पराजुलीले बकर इदलाई सामाजिक सद्भाव बाँड्ने पर्व मान्छन् । ब्राह्मण समुदायकी सञ्जिताले सविरसँग बिहे गरेपछि मुस्लिम समुदायको संस्कृति आत्मसात् गर्न थालेकी हुन् ।

सविरलाई जन्मजात मनाउँदै आएकोले इद नौलो लाग्दैन । तर, सञ्जिताका लागि हरेक विधि र संस्कृति रोचक लाग्छ । गत वर्ष इद मनाउन बर्दिवास पुगेकी सञ्जिता यो पटकचाहिँ जान पाइनन् । शाकाहारी भए पनि इदका दिन हुने रमाइलोचाहिँँ उनलाई मन पर्छ ।

‘जेजति परिकार बनाउँछन्, त्यो सबै मिलेर खाने संस्कार अमूल्य छ,’ उनले भनिन् ।

फिल्म निर्देशक असीम साह बकर इदलाई हरेक कुराको सन्तुलन मिलाएर सुरु गरिएको पर्व मान्छन् । काठमाडौंको नयाँ बजार घर भएका उनी बुधबार बिहानै इद मनाउन बागबजारस्थित मस्जिदमा आए । त्यहाँ आफन्त र साथीभाइसँग अँगालो मार्दै उनले दु:ख मात्रै होइन सुख पनि साटे । ‘अँगालो असाध्यै आत्मीय लाग्छ,’ उनले सुनाए, ‘मस्जिदले मलाई उत्तिकै शान्त बनाउँछ ।’

यो वर्ष पनि असीमले फिल्म क्षेत्रकै निश्चल बस्नेत, वर्षा राउत, स्वस्तिमा खडका लगायतलाई घरमा निम्त्याए । असीमकी जीवनसंगिनी दीपाञ्जली लामालाई पनि इद उत्सव विशेष लाग्छ । सञ्चारकर्मी समेत रहेकी दीपाञ्जली इदको दिन अरू काम थाती राखेरै भए पनि आफन्तमाझ रमाइलो गर्छिन् ।

‘इद आफन्तको लागि हो,’ उनले भनिन्, ‘इदको दिन पकाउने र खानेमै दिन जान्छ ।’

प्रकाशित : भाद्र ७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?