उमेरभरि घिन्ताङ घिसी

‘पहिले घिन्ताङ घिसी नाच्ने, बजाउने र गाई बोक्नेहरू सबै पुरुष हुन्थे । पुरुषहरू नै महिलाको भेषमा सजिएर अभिनय गर्थे । अचेल पुरुषभन्दा महिला बढी देख्दा मलाई पनि नाचूँनाचूँ लाग्छ । तर, पहिले समाजले रोक्यो, अहिले शरीरले ।’
सुनीता साखकर्मी

भक्तपुर — बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ ।

भक्तपुर दरबार परिसरमा घिन्ताङघिसी खेलेर गाईजात्रा मनाउँदै स्थानीय बासिन्दा ।

गाईजात्राको दिन मृतकको प्रतीक स्वरूप बनाइने बाँसको चारखुट्टे सामग्रीतिर उनको खास चासो थियो, जसलाई ‘गाई’ नै भनिन्छ ।

‘पहिलेपहिले केटाको मृत्यु भए गाईमा सेतो कपडा र केटीको भए रातो सादा कपडा बेर्ने चलन थियो,’ उनले भनिन्, ‘उति बेला सादा गाई हुन्थे । अचेल झिलीमिली भएछ ।’ काभ्रेको तीनपिप्लेबाट जात्रा हेर्न भक्तपुरको दत्तात्रय आइपुगेकी विष्णुमायाले थपिन्, ‘संस्कृति पनि फेरिँदो रहेछ ।’ गाईजात्रामा हरेक वर्ष उनी यसरी नै जात्रा हेर्न आउँछिन् । उनलाई यहाँसम्म घिन्ताङ घिसी नाचले तानेको हो । पाँचखाल बजार छेवैको तीनपिप्लेकी नेवार भए पनि उनको घरतिर गाईजात्रामा गाई बनाउने र घिन्ताङ घिसी नाच निकाल्ने चलन छैन ।

Yamaha

‘यो नाचमा छुट्टै किसिमको जादू छ,’ उनले भनिन्, ‘यसमा बजाइने बाजा र त्यो ताल मानिस लट्ठी जुधाएर नाचेको हेरेर बस्दा दिन बितेको पत्तो चल्दैन ।’

पहिलो पटक उनी आमासँग यो जात्रा हेर्न आएकी थिइन् । भक्तपुरमै थियो मामाघर । त्यति बेला उनलाई पनि लट्ठी जुधाएर नाच्न मन लाग्थ्यो । तर, त्यो बेला महिलालाई वर्जित थियो । ‘नाच्ने, बजाउने र गाई बोक्नेहरू सबै पुरुष हुन्थे,’ उनले भनिन्, ‘बरु पुरुष नै महिलाको भेषमा सजिएर अभिनय गर्थे ।’ अहिले समय उल्टिएझैँ लाग्छ उनलाई । पुरुषभन्दा महिला बढी देख्दा उनी चकित परिन् । उनलाई पनि लट्ठी जुधाएर नाच्न मन लाग्यो । तर शरीरले साथ दिएन । उनले भनिन्, ‘पहिले समाजले रोक्यो, अहिले शरीरले ।’

काभ्रेको तीनपिप्लेबाट जात्रा हेर्न भक्तपुर आएकी विष्णुमाया श्रेष्ठ ।

भक्तपुरे विशेषता
भक्तपुरको गाईजात्रामा घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ । यो नाच्नेहरूका हातहातमा लट्ठी हुन्छ । तर दूधपाटीका दामोदर सैँजूको टिमले ल्याएको नाचमा झन्डै चालीस जना बालबालिकाका हातमा दुइटा लट्ठी थिए । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै थिए । दामोदरका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ । उनको टोलमा कसैको मृत्यु भएमा माक प्याँख निकाल्ने चलन छ ।

‘तीन देखि छ वर्षसम्मका बच्चाहरूलाई यो नाच छ महिना बेलुकाबेलुका सिकाउँछौं,’ उनले भने, ‘यो नाचमा नाच्नेहरू आठ वर्षमा एकचोटि फेरिन्छन् र नयाँ साना बच्चाहरूलाई सिकाइन्छ । यो वर्ष हामीले आठ वर्षपछि सानालाई सिकाएका हौँ ।’ यो नाच ठूलाले नाच्दा भद्दा देखिने भएकोले पनि साना बच्चालाई नचाउने गरेको उनले बताए । ‘नेपाल भाषामा माक भनेको बाँदर हो र यो नाचमा बाँदरले जस्तै चकचक गरेर विभिन्न मुभमेन्ट गर्नुपर्छ,’ उनले भने, ‘बच्चाहरू सानामा चकचके हुने भएकोले पनि बच्चाहरूकै लागि यो नाच सुरु भएको हुन सक्छ ।’

भक्तपुरको तचपालका ७२ वर्षे दस सैँजूलाई भने अहिले गाईजात्रामा नाच्ने नाच कम भएको अनुभव छ । ‘घिन्ताङ घिसी नाच त हेरेर पनि सिकिन्छ, अरू नाच्न गाह्रो भयो,’ उनले भने, ‘गाईजात्रामा घिन्ताङ घिसीबाहेक केही देखिएन ।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरमा गाईजात्रा नौ दिनसम्म मनाइन्छ र यो बीचमा भैल: नाच, देवी नाच, माछा नाच, घोडा नाच लगायत तीन दर्जन नाच नाचिन्छन् । उनका अनुसार अहिले नाचको संख्या पनि घटदै गएको छ ।

गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको धौभडेलले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि त झन् आकर्षक हुँदै गएको उनले बताए ।

‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए,’ उनले भने ।

मेटिँदै घिन्ताङ घिसीको मर्म
ताहामचा गना तय्
ग्वाखँ प्वालय तय्
ग्वाखँ प्वालय् मन्हयंसा
खुसी चुइक छोय्...

नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाउँm कि ?’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ । संस्कृतिविद् धौभडेलका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए : ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’

यस्ता गीतहरूले परम्परागत मूल्यमान्यताको मर्मलाई मारेको धौभडेलले बताए । उनले भने, ‘अहिले ब्यान्डबाजा समेत बजाएर घिन्ताङ घिसी नाचेको देखियो । यसले गर्दा हाम्रो मौलिक बाजा, गीत र नाचको मिठास हराउँछ ।’

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०८:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गोसाइँकुण्ड जाँदैनन् गोले झाँक्री

‘बाउबाजेदेखि नै जान हुँदैन भन्ने मान्यता रहेछ । जबर्जस्ती गयो भने अशुभ हुन्छ रे १’
कान्तिपुर संवाददाता

ललितपुर — शिरमा मयूर कल्की, छातीमा घण्टमाला । हरेक जनैपूर्णिमाको दिन ढयाङग्रो बजाउँदै कुण्ड या पोखरीतिर नाच्दै हिँडेका देखिन्छन् झाँक्रीहरू । यो दिन तामाङ समुदायको गोने ङहया पर्व हो ।

तामाङहरूको पर्व ‘गोने ङहया’ का अवसरमा पाटनको कुम्भेश्वर मेलामा झाँक्रीहरू । तस्बिर : कान्तिपुर

यही पर्व मनाउन मकवानपुर गडी गाउँपालिका–२ का सुमन लामा पाटनस्थित कुम्भेश्वर आइपुगे । उनका गाउँ आसपासका धेरैजसो झाँक्रीहरू दिनहुँ लगाएर रसुवाको गोसाइँकुण्ड पुग्छन् । लगनखेल बस्दै आएका उनी भने हरेक वर्ष यहीँ आउँछन् ।

‘गोसाइँकुण्ड जान त मन थियो नि,’ कुम्भेश्वरमा आइतबार पत्नीसहित भेटिएका २९ वर्षे सुमनले भने, ‘तर, गोले थरका तामाङ झाँक्री जान नहुने परम्परा तोड्न सकिनँ ।’

गोने ङहयाकै अवसरमा गोसाइँकुण्डमा आइतबार झाँक्रीहरूको भीड लागेका तस्बिरहरू सामाजिक सञ्जालहरूमा पनि छाए । सुमनले भने गोसाइँकुण्डलाई मनमनै सम्झे मात्रै । ‘बाउबाजेदेखि नै जान हुँदैन भन्ने मान्यता रहेछ,’ उनले भने, ‘जबर्जस्ती गयो भने अशुभ हुन्छ रे !’ यसबारे रोचक मिथ उनी सुनाउन थाले ।

कुनै समय गोले तामाङ झाँक्री पत्नी सहित ढयाङ्ग्रो बजाउँदै गोसाइँकुण्ड यात्रामा निस्के । बाटैमा पर्ने भैरव कुण्डमा नागहरूको राज थियो, जसले अति दु:ख दिन्थे । गोले झाँक्रीले नागहरूसित तान्त्रिक युद्ध लड्ने निधो गरे । कुण्डकै छेउ पत्नीलाई ढयांग्रो बजाउन लाएर उनी भित्र पसे । जितेर आउँदा झाँक्री पत्नीले तन्त्रमन्त्र गरेको अक्षता जीउमा छर्किनुपथ्र्यो । ‘तर, नागहरूलाई काँधमा राखेर बाहिर निस्कँदा पत्नी डराएर भागिछन्,’ सुमन भने, ‘जीउमा अक्षता नपरेपछि गोले झाँक्रीको शक्ति कमजोर भयो र उनी कुण्डभित्रै मरे । त्यही दिनदेखि गोले झाँक्री गोसाइँकुण्ड जान छाडेको रे ।’

यो विषयमा संस्कृतिविद् रवीन्द्र ग्याबा तामाङले पुस्तकै लेखेका छन् । यही मिथमाथि चार वर्षअघि सेलो थिएटरले नाटक ‘म्हेन्दोमाया’ बनाएर काठमाडौंमा महिनादिन मञ्चन गरेको थियो । गोसाइँकुण्ड नजानेमा सुमन मात्रै हैन, संस्कृविद् एवं लेखक रवीन्द्रका अनुसार, अहिले पनि गोले थरका कुनै पनि झाँक्रीहरू गोसाइँकुण्ड जाँदैनन् । उनका अनुसार गोलेकै स्वाँगेभाइ (सहगोत्री) बल, तितुङ, दोङ, बज्यु, गाङदान, स्योङदान, गोङबा, डिम्दुङलगायतका थर भएका तामाङ झाँँक्रीहरू पनि गोसाइँकुण्ड जाँदैनन् ।

‘तामाङ समाजमा यो एउटा मिथको रूपमा रहेको छ,’ रवीन्द्रले भने, ‘तर, अहिलेसम्म पनि यो परम्परा जारी रहनुले त्यति बेला ठूलै घटना भएको संकेत गर्छ ।’ उनका अनुसार नेपालमा तान्त्रिक परम्परा मल्लकालमा उत्कर्षमा पुगेको मानिने भएकाले यो घटना पनि मल्लकालमै भएको हुनुपर्छ ।

गोने ङहया र झाँक्री नाच
अरू बेला कुनै सांस्कृतिक झाँकी या र्‍यालीतिर मात्रै देख्न पाइने झाँक्री नाच जनैपूर्णिमाका दिन भने बाटोघाटो, कुण्ड, पोखरी या पानीको मुहानतिर त्यत्तिकै देख्न सकिन्छ । आइतबार पाटन कुम्भेश्वरमा काभ्रेकी टर्केश्वरी तामाङ, पञ्च लामा, दोखला चरिकोटका कुमार तामाङको टोलीसँगै साँखुका विष्णु, हरि र शिव तामाङको टोली पनि भेटिए । उनीहरू ढयांग्रो बजाउँदै एकसुरले नाच्दै थिए ।

विभिन्न विधिबाट पानीको पूजा गरेपछि एक नाचेर उनीहरू फर्के । काभ्रेकी टर्केश्वरी अघिल्लो दिन नै काठमाडौं आएकी थिइन् । आफन्तकहाँ बास बसेर उनी भोलिपल्ट कुम्भेरश्वर पुगिन् । उनका अनुसार यसरी घरबाट यात्रामा निस्कँदा बाटोमा ‘छे थाप्ने’ चलन पनि छ । ‘फर्किने बेला गाउँमा बाटोभरि मानिस सगुन राखेर बसेका हुन्छन्,’ उनले भने, ‘अनि छे (आशीर्वाद) दिनुपर्छ ।’

संस्कृतिविद् रवीन्द्रका अनुसार यो बोन संस्कृतिमा आधारित प्रकृतिपूजक परम्परा हो । आठौं शताब्दीमा तामाङ समुदायलाई गुरु पद्मसम्भवले बौद्ध धर्ममा बदलेको भए पनि तामाङ समाजबाट बोन संस्कृति हराएको छैन ।

गोने ङहयाको दिन तामाङहरू नजिकको कुण्डमा गएर ‘जलपूजा’ गर्छन् । रसुवामा गोसाइँकुण्ड, सिन्धुपाल्चोकमा पाँच पोखरी, काभ्रेमा तेमाल, गोसाइँस्थान, नगरकोटको महादेव पोखरी लगायत ठुलो मेला लाग्छ । आसपासका तामाङहरू उपत्यकाका विभिन्न पोखरीमा आउँछन् । ‘यो प्रकृतिपूजा गर्ने आदिवासी संस्कृति पनि हो,’ उनले भने, ‘बोन परम्परा मान्नेहरूले तान्त्रिक विधि अपनाएर पानीपूजा गर्छन्, बाजा बजाएर नाच्छन् । यस्तो नाच्ने शैली र खुट्टाको चाल भिन्नै हुन्छ,’ उनले भने, ‘आधुनिक ज्ञानको प्रभावका कारण यो संस्कृति हराउने खतराचाहिँ बढदै छ ।’

उनका अनुसार, गोसाइँकुण्ड जस्तो टाढाको यात्रा रोज्ने झाँक्रीहरूको समूहमा सयभन्दा बढी गाउँले आइमाई र केटाकेटी हुन्छन् । कम्तीमा सात दिनको यात्रा गर्छन् । ‘नचिन्ने झाँक्रीहरूको समूह भए पनि ठाउँठाउँ सगुन राख्ने चलन छ,’ रवीन्द्रले भने, ‘गोने ङहयाको आकर्षण भनेकै झाँक्री यात्रा हो ।’

प्रकाशित : भाद्र १२, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT