लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतस्थित ओटु ब्रिक्सटनमा शनिबार सांगीतिक कार्यक्रम गरेको नेपथ्यले अबको कन्सर्ट असोजमा नै काठमाडौंकै स्वयम्भूमा गर्ने जनाएको छ ।

तेस्रोपटक बेलायतमा कन्सर्ट गर्ने क्रमलाई नेपथ्यले आफ्नो दसौं एल्बमको गीत ‘कुरूप अनुहार हो...’ बाट थालनी गरेको थियो । सरुभक्तको रचना र विक्रम गुरुङको संगीत रहेको उक्त गीतलाई नेपथ्यले पृथक शैलीमा एकोहोरोपनामा ढालेको छ ।

कार्यक्रममा नेपथ्यले भर्खरै तयार पारेको ‘शिरफूल शिरैमा होस्...’ देखि ‘पल्ला घरका बईका...’, ‘आँगनै भरि...’, पस्केको थियो । पाँच वर्षअघि पहिलोपटक बेलायतको विम्बले एरेनामा प्रस्तुति दिएको नेपथ्यले त्यसपछि दोस्रो पनि अहिलेकै ओटु ब्रिक्सटनमा दिएको थियो ।

Yamaha

‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरूबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने । दुई घण्टा लामो प्रस्तुतिमा अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरू पनि दर्शकलाई सुनाउन भ्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोगको खाँचो पर्ने बताए ।

स्वयम्भूको कन्सर्ट असोज १३ मा हुने नेपथ्यले जनाएको छ । ‘ब्यान्डले स्वयम्भूमा आफूलाई उभ्याउन तयार भएकोमा म असाध्यै खुसी छु,’ स्वयम्भू नै घर भएका नेपथ्यका ड्रमसेट वादक ध्रुव लामा भन्छन्, ‘स्वयम्भू क्लबले आयोजनाको जिम्मा लिएको कन्सर्ट त्यस क्षेत्रको सम्पदा संरक्षण सहयोगार्थ गरिनेछ ।’

बेलायत कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुवसहित किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरलाई लाइफ टाइम

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको एलजी सिने सर्कल अवार्डमा वरिष्ठ नेपाली फिल्म निर्देशक किशोर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड पाउने भएका छन् ।

‘राँको’, ‘करोडपति’, ‘सीमारेखा’, ‘घामछायाँ’, ‘एक नम्बरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता फिल्मका निर्देशकलाई नेपाली फिल्म उद्योगमा पुर्‍याएको अतुलनीय योगदानबापत अवार्ड दिन लागिएको विज्ञप्तिमा जनाइएको छ । अवार्डमा ५१ हजार रुपैयाँ रहेको अवार्ड समितिका दिनेश डीसीले जनाए ।

केही भारतीय र भोजपुरी फिल्मसमेत निर्देशन गरेका रानाको दुवै मृगौलामा खराबी देखिएपछि हाल मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत छन् । वि.सं. २०१२ मा सुनसरीमा जन्मिएका रानाले मुम्बईबाट फिल्मी यात्रा तय गरेका थिए ।

मुम्बईमा गोपाल भुटानीसँग भेट भएपछि फिल्म क्षेत्रमा लागेका उनी बी.एस थापा निर्देशित फिल्म ‘कान्छी’को मुख्य सहायक निर्देशकको रूपमा नेपाली फिल्म उद्योगमा प्रवेश भएका थिए । पछिल्लो फिल्म ‘प्रतिबिम्ब’मा काम गर्ने क्रममा उनको मृगौलामा समस्या देखिएको हो । यही भदौ ३१ गते राजधानीमा अवार्ड समारोह हुँदै छ । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डको यो तेस्रो संस्करण हो ।

वर्ष २०७४ मा प्रदर्शनमा आएका तथा एलजी सिने सर्कल अवार्डमा नि:शुल्क नाम दर्ता गराएका ६३ नेपाली कथानक फिल्मबाट २२ विधामा अवार्ड प्रदान गरिने डीसीले जनाए ।

अवार्डको पहिलो संस्करणमा भारतीय अभिनेता एवम् सांसद शत्रुघ्न सिन्हा, जापानी फिल्म निर्देशक मात्सुवयासी र हलिउड फिल्म निर्देशक डिगर मेस समेत आएका थिए भने दोस्रो संस्करणमा पहिलो नेपाली फिल्म ‘माइतीघर’का प्रमुख कलाकार माला सिन्हा र सीपी लोहनी आएका थिए ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड भने यसअघि कला संयोजक उद्धव भट्टराई (जुँगे) र द्वन्द्व निर्देशक एनबी महर्जनले पाइसकेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT