दोहोरीमा फर्किंदै राजु

कृष्णप्रसाद गौतम

सुर्खेत — एकताका नेपाली लोकसंगीतमा गायक राजु परियारको एकछत्रजस्तै थियो । दिनमा पाँच वटासम्म गीत रेकर्ड गर्थे भने मेला र महोत्सवमा उत्तिकै माग थियो । तर जसरी चम्किएका थिए, उसै गरी एकाएक गुमनाम बने ।

लामो अन्तरालपछि उनी फेरि सांगीतिक हिसाबले नै झुल्किएका छन् । उनले यो वर्ष लागेयता तीन दर्जनजति गीत गाइसकेका छन् । जातीय छुवाछूतबारेको ‘दमाईको छोरो’ दोहोरीमा उनी बढी नोटिस भएका छन् ।

‘दर्शकश्रोताको माया र गीतसंगीतप्रतिको सानैदेखिको लगावले यो क्षेत्रलाई छाड्न दिएन,’ राजुले हालैको भेटमा कान्तिपुरसँग भने, ‘अहिलेका गीतबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छु । थप ऊर्जा मिलेको छ ।’

‘सुनपानी...’, ‘भैंसी पालेर...’, ‘आँधीखोला उर्लेर आयो...’, ‘झिमझिम सानु...’, ‘पञ्चेबाजा...’, ‘रुमाल धोको छु...’, ‘खैरेनीमा गेट...’ जस्ता चल्तीका गीत गाइसकेका राजुले २०५६ मा ‘किसिमकोटमा चरी नाचेको...’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा पाइला सारेका थिए ।

उनले आफ्नै रचनाका करिब तीन सय गीत गाइसकेका छन् । ‘विषयवस्तुले छुनेबित्तिकै फुरिहाल्छ, त्यसलाई गीतमा उतार्छु,’ उनले भने, ‘त्यसैले रचनालाई पनि निरन्तरता दिँदै आएको छु । अब स्वरले साथ दिएसम्म गाउँछु ।’

आफ्नै रचनामा ‘डोरी बाटेर’, ‘दुराडाँडे दाइ’, ‘सुनपानीले छर्क मायालु ’ गाइसकेका उनी अहिले र पहिलेको लोकगीतमा धर्ती–आकाशको फरक आएको बताए । ‘हामी प्राय: गीत गाउँदा गायक, संगीतकार, रचनाकारसँगै बसेर गीतमाथि छलफल र अभ्यास गथ्र्यौं । सबैबाट पास भयो भने मात्र गीत गाइन्थो,’ ३८ वर्षे लोकगायकले भने, ‘अहिले सबै कुरा हटयो । गीत जसरी गाउँदा पनि हुन्छ ।’

प्रकाशित : भाद्र २२, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सफल बन्दै जटिल शल्यक्रिया

कृष्णप्रसाद गौतम

सुर्खेत — सुर्खेत विमानस्थलनजिकै घर बनाउने क्रममा असार अन्तिम साता एकतला माथिबाट खसेका मजदुर रमेश थारूको जस्तापातामा ठोकिएर दायाँ हातको कुहिनोदेखि चुँडियो ।

सुर्खेत, कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल । तस्बिर : कान्तिपुर

नसा, रक्तनली, हड्डीसहित कुहिनो चुडिँदा उनको हातमा मुस्किलले ६ इन्च मात्र छाला बाँकी थियो ।

उनको शरीरबाट अत्यधिक रक्तश्राव भयो । उनलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइयो । हाडजोर्नी विशेषज्ञ डा. मंगल रावललगायत चिकित्सकलाई समेत सुरुमा हात जोड्न सक्छौं जस्तो लागेन । तर उनीहरूले आँट गरे । शल्यक्रिया सक्नै ४ घण्टा लाग्यो । अहिले थारूको अवस्था सामान्य हुँदै गएको छ । उनी अस्पतालको सामान्य शय्या उपचाररत छन् ।

गुर्भाकोट नगरपालिका १३, की सुनीता तिवारीले चैत पहिलो साता ५ सय ग्रामको बच्चा जन्माइन् । यस्तोमा उनीमात्र होइन, उनको परिवारले बच्चा बाँच्ने आस मारिसकेको थियो । ‘एक त ७ महिनाको जन्म, त्यसमा पनि जम्मा ५ सय ग्राम,’ सुनीताका पति केशव शर्माले भने, ‘हामीले छोरीलाई बाँच्ने आसै मारेका थियौं ।’

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा ३ महिनाको सघन उपचारपछि छोरी सामान्य अवस्थामा पुगेर असार दोस्रो साता डिस्चार्ज गरिएको थियो । जन्मदा ५ सय ग्रामकी शिशु ३ महिनाको उपचारपछि १ हजार ३ सय ग्राम तौलसहित सामान्य अवस्थामा फर्केको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।

क्षेत्रीय अस्पतालमा सफल भएका यी दुई जटिल उपचार र शल्यक्रिया हुन् । पछिल्लो समय अस्पतालमा एकपछि अर्को जोखिमपूर्ण शल्यक्रिया सफल हुन थालेपछि चिकित्सक पनि उत्साही भएका छन् । बिरामीमा गुणस्तरीय उपचारको आशा जागेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खडकाले बिरामीलाई गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गरिराखेकाले पछिल्लो समय जोखिमपूर्ण शल्यक्रिया सम्भव भएको बताए । उनका अनुसार दुई साताअघि परिवारले बाँच्ने आसै मारिसकेकी दैलेखकी एक १७ वर्षीया किशोरीको समेत सफल उपचार भएको थियो ।

विशेषज्ञ चिकित्सकको व्यवस्था, आधुनिक उपकरण थपिँदै जानु, अस्पताल प्रशासन सुध्रँदै जानुलगायत कारण गुणस्तरीय उपचार र शल्यक्रिया सफल भएको उनको भनाइ छ । उनले अस्पतालमा दैनिक ५ वटासम्म शल्यक्रिया भइरहेको बताए ।

अस्पतालमा अहिले अर्थोपेडिक विभागमा ३, गाइनेमा ३, मेडिसिनमा १, बालरोग विशेषज्ञ १, जनरल सर्जन २ र एनेस्थेसिया १ गरी ११ विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

चार शय्याको आईसीयू र एक महिनासम्मका शिशुका लागि ६ शय्याको एनआईसीयू सुविधा सञ्चालनमा छन् । जहाँ नर्स र विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार हुन्छ । मनिटर, अक्सिजन पाइपलगायत मेसिन पनि चालु अवस्थाका छन् । त्यस्तै १५ शय्याको इमरजेन्सी, ३० शय्याको प्रसूति र एक सय २० शय्याको जनरल वार्ड सञ्चालनमा छ ।

सीटीस्क्यान मेसिन आई जडान भइसकेको छ । अस्पतालका अनुसार एक साताभित्रै उक्त मेसिनबाट उपचार सुरु गरिनेछ । यस्तै दूरबिन प्रविधिबाट पत्थरीको शल्यक्रिया गरिन्छ । चिरफार नगरेरै हाडजोर्नीको बाहिरबाट अप्रेसन गर्न सीएम एक्सरे मेसिन चालु अवस्थामै छ ।

इन्डोस्कोपी, इकोकार्डियोग्राम, डाइलाइसिस, अक्सिजन प्लान्टलगायत आधुनिक मेसिनबाट उपचार भइरहेको छ । एनआईसीयूमा तापक्रम व्यवस्थापनका लागि चौबीसै घण्टा एसी, अक्सिजन, जन्डिस भएका शिशुका लागि फोटोथेरापी, प्रेसरसहितको अक्सिजनका लागि सिपाप, र तापक्रम सन्तुलनका लागि वार्मर मेसिनको व्यवस्था छ ।

३० चिकित्सकको दरबन्दी रहेको अस्पतालमा ८ मात्र दरबन्दीका चिकित्सक कार्यरत छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाइएका ३, व्यवस्थापन समितितर्फका एक र करारका १८ चिकित्सक कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट खडकाले टिमवर्कका कारण पनि जटिल शल्यक्रिया गर्न सकिएको बताए । एकपछि अर्को सफल शल्यक्रिया हुन थालेपछि गम्भीर समस्या भएका बिरामीलाई नेपालगन्ज, भारतको लखनउ र काठमाडौं जानुपर्ने समस्या समाधान भएको छ ।

‘धेरै उपचार यहीं सफल भएपछि बिरामीलाई महँगो रकम खर्च गर्नुपर्ने बाध्यता टरेको छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीको समेत आत्मविश्वास बढेको छ ।’ उनका अनुसार अस्पतालमा कर्णाली प्रदेशका सबैजसो जिल्लाबाट बिरामीलाई रेफर गर्ने गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT