कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“बुलबुल” फागुनमा

काठमाडौँ — नायिका स्वस्तिमा खडका टेम्पो चालकको भूमिकामा देखिँदै गरेको खबर बाहिरिएपछि ‘बुलबुल’ यति बेला प्रतीक्षित फिल्मको पंक्तिमा उभिएको छ ।

“बुलबुल” फागुनमा

त्यसो त फिल्ममा अर्की कलाकार लक्ष्मी बर्देवा पनि टेम्पो चालककै भूमिकामा छिन् । पात्र चरितार्थका लागि दुवैले महिना दिन टेम्पो चलाउन सिकेका पनि थिए । यति बेला भने ‘बुलबुल’ छायांकन सकिएर पोस्ट प्रोडक्सनको चरणमा पुगेको छ । फागुन ३ मा रिलिज हुँदै छ यो फिल्म ।


विनोद पौडेल निर्देशित फिल्मको छायांकन २५ दिनमा सकिएको हो । एउटा गीत भने खिच्न बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘गीतका लागि मौसम सफा चाहिने भएकोले हामी त्यसैको प्रतीक्षामा छौं । सम्भवत: दसैं–तिहारको बीचमा खिच्छौं,’ उनले भने । यसअघि ‘साँघुरो’ को पटकथा लेखिसकेका पौडेलको ‘बुलबुल’ पहिलो निर्देशन हो ।


निर्माता अविरल थापाले फिल्म भ्यालेन्टाइन्स डेको छेको पारेर फागुन ३ मा रिलिज गरिने जनाए । ‘डायस्पोरामा प्रिमियर गरेर बल्ल सार्वजनिक प्रदर्शन थाल्ने सोचअनुरूप फागुनको समय राखेका हौं,’ उनले भने ।


फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय छ । सुसन प्रजापतीको छायांकन रहेको फिल्म निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतले गाएका छन् । फिल्म पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?