कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ बाजामा रेशम फिरिरि

काठमाडौँ — चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि...’ को धुन बनाए ।

चिनियाँ बाजामा रेशम फिरिरि

सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो ।


क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक प्रस्तुत गर्ने क्रममा उनीसँगै दुई दर्जन चिनियाँ कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।

चाइना कल्चरल सेन्टर र चीनकै क्विजो प्रोभिन्सियल डिपार्टमेन्ट अफ कल्चरद्वारा आयोजित कार्यक्रममा कलाकारले मौलिक नृत्य, लोक गीत, लोक बाजा, एक्रोबेटिक्स लगायतका प्रस्तुति दिएका थिए । अल्पसंख्यक दोङ जातीको ‘द वल्र्ड इज फुल अफ लभ...’ गीतबाट शुरु कार्यक्रममा जाङ सिन्सियङले पातबाट धुन निकालेर सुनाए । उनी पात बाजाका लागि अन्तर्राष्ट्रिय स्तरमै चिनिएका कलाकार हुन् ।


‘द डान्स अफ गोल्डेन फेसन्ट’, ‘द मर्निङ अफ मियोओलिङ हिल’, ‘ब्युटिफुल चाइना’ लगायत शीर्षकमा सामूहिक नृत्य देखाइयो । मौलिक पहिरनमा जातीय गरगहनासहित उपस्थित कलाकारले ऊर्जाशील प्रस्तुति दिएका थिए । शक्ति र सौन्दर्यको संयोजन भनिएको एक्रोबेटिक्स ब्यालेटमा लिउ जिजी र याङ देसुमले काँधमा चढेर गरिने नाच देखाए । उक्त क्रममा ब्यालेक्स चिप्लिएर लडे पनि कलाकारले निरन्तर प्रस्तुति दिएपछि हलमा ताली बज्यो ।


बालीनाली सप्रियोस र मौसम अनुकुल होस् भन्ने कामनासहित क्विजोमा मिड–अटम फेस्टिभल मनाइने गरेको नेपालका लागि चिनिया राजदूत यु हङले अवगत गराइन् ।


‘यहाँका बासिन्दा चन्द्रमाको पुजा गर्छन्,’ उनले भनिन्, ‘यो फेस्टिभल चिनियाँ संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो ।’


राजदूत हङले इन्द्रजात्राको पनि शुभकामना दिँदै चीन र नेपालबीच भौगोलिक र सांस्कृतिक समानता रहेको बताइन् ।


प्रस्तुतिका अधिकांश लोक गीतमा ड्रमको प्रयोग थियो । ड्रमकै तालमा केही कलाकारले भव्य नाच देखाए । फु रुईले चाहिँ दुई हातले चार/पाँच वटा बल खेलाउँदै आफ्नो एक्रोबेटिक्स कला प्रदर्शन गरे ।


सभामुख कृष्ण बहादुर महराले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको बताए । उनले चीन पनि नेपाल झैं कला, संस्कृति र पर्वमा धनी रहेको भन्दै आफूहरूको सम्बन्ध अझै गाढा हुँदै जाने बताए ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?