कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नो शैली बनाउन संगीत महोत्सव

‘कुनै पनि विषयमा छलफल, बहस र विमर्श आवश्यक छ । संगीतमा त झनै बहस चाहिन्छ । यसले हामीलाई मार्गनिर्देश गर्छ ।’
सजना बराल

काठमाडौँ — जमिन थर्किने उच्च ध्वनि गुन्जाउँदै अर्को महिना ‘साइलेन्स फेस्टिभल’ मनाइँदै छ । मेटल संगीतको यो महोत्सव यस पालि सातौं शृंखलामा छ । यसमा भाग लिन विदेशबाट पनि मेटल ब्यान्डहरू काठमाडौं आउँदै छन् ।

आफ्नो शैली बनाउन संगीत महोत्सव

सन् २००७ देखि साइलेन्स इन्टरटेन्मेन्टले यस्तो मेटल उत्सव आयोजना गर्दै आएको हो । उसको आहान छ, ‘लेट्स मेक इट मोर बिगर, बेटर एन्ड लाउडर ।’


मेटल म्युजिकमा झैं ज्याज विधातिर पनि महोत्सव गर्ने गरिएको छ । काठमाडौं ज्याज कन्जरभेट्रीले वार्षिक रूपमा ‘ज्याजमान्डु : काठमाडौं ज्याज फेस्टिभल’ गर्ने गरेको छ । गायिका अभया सुब्बाको अगुवाइमा ‘विमेन इन कन्सर्ट’ नामक फेस्टिभल पनि हुन्छ । हामीकहाँ हुने थोरै संगीत महोत्सवमध्ये यी उदाहरण हुन् ।


‘राणा, राजाहरूको पालामा संगीत सम्मेलन हुन्थे,’ गायक/संगीतकार आभासले भने, ‘ती बिस्तारै हराए ।’
सहरमा फिल्म, साहित्य र खाना महोत्सव थपिँदै गएका छन् । संगीत महोत्सव भने एकदम न्यून छन् । फुड फेस्टिभलमै संगीत समाविष्ट गरिए पनि त्यहाँ संगीतलाई केवल मनोरञ्जनका लागि राखिन्छ । संगीतकै खास महोत्सव भएको देखिँदैन । मोडर्न विधामा थोरबहुत फेस्टिभल भए पनि लोक, क्लासिकल वा कन्टेम्पोररी विधालाई समेटर नेपालमा संगीत महोत्सव नगरिएको आभास बताउँछन् । विश्वविद्यालय, सरकारी निकाय र निजी संगीत संस्थाले यस्ता महोत्सव गर्नुपर्ने उनको भनाइ छ ।


विदेशमा मौसमअनुसार संगीत महोत्सव हुन्छन् । क्यालिफोर्नियामा हरेक अप्रिलमा समर म्युजिक फेस्टिभल हुन्छ । ‘कोचेला भ्याली म्युजिक एन्ड आर्ट फेस्टिभल’ मा ठूलठूला कलाकार सहभागी हुन्छन् । स्पेनको ‘प्रिमाभेरा साउन्ड’ देखि बेलायतको ‘वायरलेस फेस्टिभल’, बेल्जियमको ‘टुमरोल्यान्ड’ जस्ता फेस्टिभल संगीतपारखीमाझ लोकप्रिय छन् । सन् २०१५ मा स्विटजरल्यान्डमा आयोजित फेस्टिभलमा भाग लिएकी अभयाले भनिन्, ‘मेरो पनि रहर छ एउटा ठूलो महोत्सव गर्ने । तर, धेरै झन्झटिलो हुन्छ । विमेन इन कन्सर्टलाई चाहिँ सधंै जारी राख्नेछु ।’


अभयाका अनुसार, लाइभ म्युजिक बचाइराख्न संगीत महोत्सव आवश्यक छ । महोत्सवले नै संगीतलाई ताजा र गहन बनाउन सघाउने उनको मत छ । ‘महोत्सवहरू गरिएनन् भने अटो–टयुन र रेकर्डेड म्युजिकले हाम्रो वास्तविकता ढाकिदिन्छ,’ उनले भनिन्, ‘लाइभ म्युजिकले आर्टिस्ट र श्रोताबीचको सम्बन्ध बढाउँछ । एक–अर्काको मुटु हल्लाउन सक्ने तागत लाइभ म्युजकमै हुन्छ । यसका लागि महोत्सव गर्नु जरुरी छ ।’


काठमाडौंमा राम्रो भेन्यु नहुँदा महोत्सव गर्न समस्या हुने गरेको अभयाको अनुभव छ । ज्याज फेस्टिभलका मनोजकुमार केसीलाई भने आर्थिक अभाव मुख्य चुनौती लाग्छ । सन् २००७ देखि नै ज्याजमान्डुसँग आबद्ध उनी संगीतमा सरकारी साथ नहुँदा गाह्रो पर्ने गरेको बताउँछन् । ‘हामीले भनेजस्तो, राम्रो आर्टिस्ट ल्याउन सक्दैनौं,’ उनले भने, ‘तर पनि कोसिस गरिरहेका छौं । अहिलेसम्म म्यानेज भइरहेको छ ।’


ज्याजमान्डुमा गाउने/बजाउने त हुन्छ नै, यसको अर्को विशेषता भनेको ‘म्युजिक एडुकेसन फेस्टिभल’ पनि हो । यसमा संगीत शिक्षक, विद्यार्थी, आर्टिस्टलाई तालिम
दिने गरिन्छ ।


‘संगीतकर्मीबीचको अन्तरक्रिया बढाउन महोत्सव महत्त्वपूर्ण हुन्छन्,’ १९७४ एडी ब्यान्डका गिटारिस्टसमेत रहेका मनोजले भने, ‘हामीबीचको सम्बन्ध, सहकार्य बढाउन पनि महोत्सव चाहिन्छ । ज्याजमान्डु ज्याज विधाको मात्र महोत्सव होइन । यहाँ हामी पाश्चात्य संगीतको सिद्धान्त, विशेषता, स्वर संगीत आदिबारे ज्ञान आदानप्रदान गर्छौं ।’ मनोजले आफूहरूकहाँ विदेशी आर्टिस्ट आउने भएकाले दुई देशको संगीत कला साटासाट भइरहेको भन्दै सन्तुष्टि व्यक्त गरे ।


निजी स्तरबाट सञ्चालन भइरहेका यस्ता फेस्टिभललाई प्रोत्साहन गर्दै सरकारले आफ्ना तर्फबाट पनि संगीत सम्मेलन वा महोत्सवन गर्नु जरुरी भएको आभासको भनाइ छ । ‘कुनै पनि विषयमा छलफल, बहस र विमर्श आवश्यक छ,’ उनले भने, ‘संगीतमा त झनै बहस चाहिन्छ । यसले हाम्रो शैली निक्र्योल र निर्माण गर्न सघाउँछ । हामीलाई मार्गनिर्देश गर्छ ।’ सांगीतिक विविधतालाई पहिचान दिन र संगीतमा आफ्नो भाषा पहिचान गर्न महोत्सव चाहिने बताए ।


नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले यस्तो काममा अग्रणी भूमिका खेल्नुपर्ने यी संगीतकर्मी बताउँछन् । तर, सरकारी निकाय यो मामिलामा गम्भीर नभएको भन्दै उनीहरू खिन्न छन् ।


प्रतिष्ठानका पूर्व सदस्यसचिव गणेश रसिकले चाहिँ आफ्नो चारवर्षे कार्यकालमा थुप्रै संगीत महोत्सव गरेको बताए । ‘संगीतको विकास र सम्बद्र्धनका लागि महोत्सव गर्नुपर्छ,’ उनले भने, ‘हामीले जिल्लातिर थुप्रै संगीत महोत्सव गरेका थियौं । तर, त्यति प्रभावकारी हुन नसकेको साँचो हो ।’

प्रकाशित : आश्विन १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?