कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिनय पढ्न आकर्षण

‘स्क्रिनमा आउनु, सेलेब्रिटी बन्नु भन्ने कुरा आफैंमा आकर्षक छ । आर्थिक पक्ष पनि राम्रो भएपछि यसतर्फ आकर्षण बढेको हो ।’
सजना बराल

काठमाडौँ — बलिउड फिल्म हेर्दै हुर्किएका विप्लव गौलीलाई प्लस टु तहको अध्ययन सकाएपछि फिल्म नै पढूँपढूँ लागेछ । उनले अभिभावकलाई नसोधीकनै ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा प्रवेश परीक्षा दिए । उत्तीर्ण पनि भए । पछि घरमा पनि त्यति ठूलो विरोध खेप्नुपरेन ।

अभिनय पढ्न आकर्षण

‘अब ब्याचलर्स सकेर फिल्म खेल्न थाल्छु,’ उनले कान्तिपुरसँग भने, ‘लिड रोल नै गर्न पाए हुने । तर, सहायक भूमिकाबाट सुरु गर्दा बलियो भइन्छ ।’ स्नातक तहमा अभिनयलाई मूल विषय बनाएर पढिरहेका उनी फिल्म क्षेत्रमा आफ्नो राम्रै भविष्य देखिरहेका छन् ।


विप्लवझैं अभिनयबारे औपचारिक अध्ययन गर्नेको संख्या अहिले बढिरहेको ओस्कार कलेजकै प्रधानाध्यापक विनोद पौडेलले बताए । हाल कलेजमा ४५ विद्यार्थी एक्टिङ पढिरहेका छन् । ‘एकदुई वर्षअघिसम्म एक्टिङभन्दा फिल्म डाइरेक्सन पढ्नेको संख्या धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले एक्टिङमा आकर्षण छ ।’


अभिनयलाई मूल विषय बनाउनेमा छात्राहरू पनि थपिएको उनले सुनाए । यसअघि छात्रा संख्या न्यून हुने गरेकाले कलेजले महिलालाई विशेष छुटको व्यवस्था गरेको थियो । अहिले प्रतिस्पर्धामार्फत विद्यार्थी छान्नुपर्ने भइसकेको छ ।


अनामनगरको मण्डला थिएटरमा यति बेला २५ जना धमाधम अभिनय सिक्दै/पढदै छन् । विद्यार्थी चाप बढेपछि मण्डलाले वर्षमा एक चोटि मात्रै भर्ना लिन थालेको छ । सिट संख्या घटाएर २५ बनाएको मण्डलाका राजन खतिवडाले बताए । ‘एक्टिङ सिकेजस्तो गरेर फिल्मतिर लागिहाल्ने सोचले धेरै विद्यार्थी आउन थाले,’ राजनले भने, ‘त्यही भएर हामीले गम्भीर विद्यार्थीलाई मात्रै लिनुपर्‍यो भनेर भर्नामा कडाइ गरेका छौं ।’ मण्डलाले प्रोडक्सनसमेत गरेर पाँच महिनाको ‘थिएटर ल्याब’ कोर्स प्रदान गर्दै आएको छ । यसका लागि ४० हजार रुपैयाँ शुल्क लाग्छ ।

फिल्मको चार्म
राजनको भनाइ अनुसार, एक्टिङ कोर्सलाई युवा पिँढीले फिल्ममा छिर्ने खुटकिलाका रूपमा लिन थालेको छ । फिल्मतिर युवा अनुहार छाइरहेकाले त्यसतर्फ आम युवाहरूको आकर्षण बढेको हुनुपर्ने उनको ठम्याइ छ ।


फिल्म निर्देशक दीपेन्द्र के खनाललाई पनि अभिनय सिक्न/पढ्न खोज्नेहरूको संख्या बढ्नुमा फिल्मकै चार्म मुख्य कारण हो भन्ने लाग्छ । ‘फिल्ममा नयाँ पिँढीको सक्सेस देखिँदै छ,’ उनले भने, ‘पारिश्रमिक पनि राम्रो छ । फिल्मतिर लाग्दा बिग्रिइन्छ भन्ने भ्रम हटेकाले एक्टिङ सिक्नेहरू बढेका हुन् ।’


दीपेन्द्रका कुरालाई आधार मानेर हेर्दा फिल्म क्षेत्रमा अहिले युवा पुस्ताकै वर्चस्व देखिन्छ । हालै प्रदर्शनमा आएका ‘इन्टु मिन्टु लन्डनमा’, ‘अनुराग’, ‘कथा काठमाडौं’ लगायत फिल्ममा युवा जोडी नै देखिए । अनमोल केसी, साम्राज्ञी शाह, पल शाह, आँचल शर्मा, प्रदीप खडका, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, जसिता गुरुङ, आयुष्मान जोशी, पुष्प खड्का, धीरज मगर, सलिनमान बानियाँजस्ता युवा कलाकारको क्रेज छ । यिनले एउटै फिल्मबाट मोटो रकम पारिश्रमिक लिन थालेको खबर सुनिन्छ । यस्तोमा अन्यलाई पनि फिल्म क्षेत्रले लोभ्याउनु स्वाभाविक हो ।


‘स्क्रिनमा आउनु, सेलेब्रिटी बन्नु भन्ने कुरा आफैंमा आकर्षक छ,’ ओस्कारका पौडेलले भने, ‘आर्थिक पक्ष पनि राम्रो भएपछि यसतर्फ आकर्षण बढेको हो ।’ पछिल्लो सत्रमा कलेजले प्रवेश परीक्षा दिने २ सय विद्यार्थीबाट ८० लाई छानेको थियो ।


उता थिएटरतिरको दुनियाँ पनि रोमाञ्चक छ । रंगमञ्चबाट आएकामा नाजिर हुसेन, लक्ष्मी बर्देवा, अंकित खडका, प्रवीण खतिवडा, रियर राई, उमेश तामाङ, अभय बराल, सजन थापा, प्रकाश गन्धर्वहरूले फिल्ममा प्रशस्त काम पाइरहेका छन् । यी सबै युवा कलाकारको व्यस्तता लोभलाग्दो छ ।

फिल्म स्कुल
रंगमञ्च पृष्ठभूमि भएका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, दिया मास्के, कर्मा, खगेन्द्र लामिछाने, भोला सापकोटा, सिर्जना सुब्बा, लुनिभा तुलाधर लगायतले सुनील पोखरेलको ‘आरोहण गुरुकुल’ र अनुप बरालको ‘एक्टर्स स्टुडियो’ बाट अभिनयको ज्ञान लिएका थिए । गुरुकुल बन्द भएपछि सहरका मण्डला, शिल्पी, सर्वनाम लगायत रंगमञ्चले बुद्धि तामाङ, नाजिर हुसेन, विजय बरालजस्ता कलाकार जन्माए । पुष्प खडकाले एक्टर्स स्टुडियोमा कक्षा लिएका थिए भने सृष्टि श्रेष्ठ सुनील पोखरेलकी शिष्य हुन् ।


गुरुकुल थिएटर खुल्नुअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा अभिनयको प्रशिक्षण दिने गरिन्थ्यो । अभिनेता खगेन्द्र लामिछाने, निर्देशक सुवर्ण थापा लगायतले त्यहाँ कक्षा लिएका थिए । नाचघर सरकारी निकाय हो जहाँ अझै पनि अभिनयको प्रशिक्षण दिने गरिएको छ ।


नेपाली फिल्मको ख्याति र केही हदसम्म बजार सुध्रिएपछि सहरमा फिल्म कलेजहरू पनि प्रशस्त खुल्न थालेका छन् । ओस्कारसँगै अहिले एभरेस्ट फिल्म एकेडेमी, कान्तिपुर फिल्म एकेडेमी, नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमी, नेसनल फिल्म एकेडेमी सञ्चालित छन् । यिनमा निर्देशन र अभिनय सिक्नेको संख्या अरू विषयमा भन्दा बढी हुने गरेको छ । अन्य विषयमा मोसन पिक्चर फोटोग्राफी, एडिटिङ, अडियोग्राफी पर्छन् । पछिल्लो पटक अभिनेता सरोज खनालले पनि माला आर्टस् एकेडेमी नामक फिल्म स्कुल खोलेका छन् ।

अभियनमा अवसर
फिल्म क्षेत्रमा भविष्य बनाउन चाहनेले अभिनयको कक्षा लिनु उत्तम हुने रंगकर्मी एवं थिएटरका गुरु सुनील पोखरेलको भनाइ छ । उनी अचेल ‘ज्ञ’ समूहमा आबद्ध छन्, जसले तीनमहिने अभिनय कोर्स दिने गर्छ । ‘डिस्कभर योरसेल्फ’ शीर्षक कोर्समा उनी विद्यार्थीलाई अभिनयको व्याकरण त सिकाउँछन् नै, तिनको व्यक्तित्व विकासका लागि पनि कसरत गराउँछन् ।


‘नेपाली बोल्न व्याकरण जानिरहनुपर्दैन,’ पोखरेलले भने, ‘तर, राम्रो बोल्न र सीप सुधार्न व्याकरण जान्नैपर्छ । अभिनय सिक्नुपर्ने कारण पनि सीप सुधार्नका लागि हो ।’


निर्देशक खनालका अनुसार, अभिनयको कक्षा लिएपछि व्यक्तिको बोध क्षमता वृद्धि हुन्छ । उसले आफ्नो बुझाइको परिधि फराकिलो बनाउन सक्छ, अनुशासित हुन्छ । ‘कला भनेको जन्मिँदै ल्याइएको हुन्छ,’ उनले भने, ‘त्यो कलामा निखार ल्याउन, त्यसलाई पालिस गर्न हामीले औपचारिक अध्ययन गर्नु आवश्यक छ ।’ विदेश गएर अभिनय सिकेको भन्दैमा अति जान्नेसुन्ने हुन खोज्ने कतिपय कलाकार देखेरचाहिँ उनलाई हाँसो उठ्ने गरेको रहेछ ।


फिल्म शिक्षक विनोद पौडेलका अनुसार, एक्टिङको कक्षा पूरा गरेपछि विद्यार्थीले तटस्थ हुन सिक्छ । कला क्षेत्रमा लाग्नेलाई यो बानीले अझ सिर्जनशील बनाउन सघाउँछ । ‘एक्टिङ सिकेर फिल्ममा लाग्नैपर्छ भन्ने छैन,’ उनले भने, ‘यसले व्यक्तिलाई शान्त हुन सिकाउँछ । कम्युनिकेसन अफिसर बन्न सकिन्छ ।’ यसको फाइदाबारे चाल पाएरै होला, सुनील पोखरेलकहाँ मनोविज्ञानका विद्यार्थी पनि अभियन सिक्न आउने गरेका छन् ।


‘फिल्मका टुल्स एन्ड टेक्निक बुझ्न एकेडेमी ज्ञान हुनैपर्‍यो,’ राजन खतिवडाले भने, ‘व्यक्तित्व विकासका लागि जोकोहीले अभियन सिक्न सक्छन् ।’

प्रकाशित : आश्विन १९, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?