कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगकर्मीका रंगढंग रंगमञ्चमै

दीपक परियार

लेखनाथ — चासको मध्य दशक । झापा शनिश्चरेको एउटा एकनाले घरको ठूलो कोठा । १५ युवकयुवती नाटकको रिहर्सल गर्दै छन् । ‘दासढुंगादेखि अदालतसम्म’ । नाटक झापाको बुधबारेमा देखाउँदा दर्शकै हुँदैनन् । पूरै ‘फ्लप’ हुन्छ ।

रंगकर्मीका रंगढंग रंगमञ्चमै

झापाकै मंगलबारेमा अर्को सो देखाउँदा टिकट नपुग्ने गरी ‘हिट’ हुन्छ । नाटककी मुख्य पात्र थिइन् लेखक उमा सुवेदी । उनकै कलायात्रामाथि २० वर्षपछि बनेको नाटक ‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ यति बेला देश दौडाहामा छ ।


नाटक बिर्तामोड, मोरङको झोराहाट थिएटर, चितवन र पोखरा थिएटरमा नाटक मञ्चन भइसकेको छ । निर्देशक राजकुमार पुडासैनीले नाटकमार्फत रंगमञ्चमा रंगकर्मीकै कथा व्यथालाई प्रस्तुत गरेका छन् । रंगमञ्चमा हुने आर्थिक अपारदर्शिता, श्रम शोषणलगायत कमजोरीलाई नाटकका माध्यमबाट उनले पस्किएका छन् । साहित्यकार उमा सुवेदीकै यथार्थ भोगाइमाथि नाटक बनेको हो ।

२०७२ भदौ २७ मा कान्तिपुरको कोसेलीमा उमाको संस्मरण ‘बुधबारेमा फ्लप, मंगरबारेमा हिट’ छापियो । रंगकर्मी राजकुमारले उक्त लेख पढे । तत्कालै तारिफका साथ उमालाई सन्देश पठाए । भने, ‘यो विषयमा हामी नाटक गर्नेछौं ।’ उमाले नाइँ भन्न सकिनन् । सन्देशलाल शाक्यले लेखलाई नाटकको संरचनामा ढाले । अन्तत: दुई वर्षपछि नाटक तयार भयो ।


उमा त्यति बेला भर्खर एसएलसी परीक्षा दिएर बसेकी थिइन् । साइकलमा बुधबारेबाट होक्से र होक्सेबाट बुधबारे बत्तिएरै फुर्सदिला दिन कटाउँथिन् । एक दिन एक जना काका पर्नेले उनलाई नाटक खेल्न प्रस्ताव राखे । उनले उसै पनि विद्यालयमा देखाइने नाटकमा अभिनय गरिसकेकी थिइन् । हिरोइन बन्ने, फिल्म खेल्ने उनको सोख थियो । काकाको प्रस्ताव मन परे पनि ‘हुन्छ’ भनिहाल्न सकिनन् । घरमा दाइ अलि कडै थिए । आमासँग पनि अनुमति लिनुपर्ने थियो । एक दिन काकाले पौडेल थरका निर्देशकलाई घरमै लिएर आए । आमाले नाइँनास्ति गर्न सकिनन् ।


शनिश्चरेमा उनी दैनिक रिहर्सल गर्न पुग्थिन् । ‘दासढुंगादेखि अदालतसम्म’ नाटकको नाम सुन्दै उनको आङ जिरिंग नभएको होइन । तर विद्यादेवी भण्डारीकै भूमिका पाएपछि उनी पछि हट्न सकिनन् । बीपी कोइरालाका दुई नाटकमा अभिनय गरेकी उनले ‘सुम्निमा’ पनि पढ्न भ्याइसकेकी थिइन् त्यति बेला । १५ दिन रिहर्सलपछि बुधबारेको दुर्गा टाकिजमा पहिलो मञ्चन हुने भयो ।


टिकट बेच्ने जिम्मा कलाकारकै काँधमा थियो । टिकट नबिक्दा दिक्कलाग्दो दिनको सामना गर्नुपर्‍यो । नाटक मञ्चन भयो तर दर्शक अत्यन्त न्यून । नाटक घाटामा गयो । केही समयपछि उक्त नाटक मंगलबारेमा मञ्चन भयो । नाटक हेर्न मारामार दर्शक ओइरिए । नाटक हिट भएपछि पारिश्रमिक पाउने आश गरेका कलाकारलाई निर्देशकले चिप्ला कुरामा भुलाएर बाटोखर्च मात्रै दिएर पठाए । अभिनयकै भोकले उमाले यो कुरा बेवास्ता गरिन् ।


वीरगन्जमा राष्ट्रिय नाटक महोत्सव भयो । निर्देशकले उसैगरी कलाकारलाई फकाए । यसपल्ट पारिश्रमिक दिने लोभ देखाए । नाटक चल्यो पनि । तर ती निर्देशक पारिश्रमिक दिनु त कता हो कता, उल्टै बास बसेको होटलको पैसा पनि नतिरी गायब भए । मंगलबारेकी होटल साहुनी, सहकर्मी कलाकारले उमाले पैसा तिनुपर्ने बेहोराको पत्र पठाए । उनी छाँगाबाट खसेजस्तै भइन् ।

निर्देशकलाई खोज्दै शनिश्चरे पुगेकी उनले रिहर्सल गर्ने कोठामा ताला झुन्डिएको देखिन् । अर्को दिन बिरामी आमालाई जचाउन आउँदा उनलाई नाटक खेल्न उक्साउने काकालाई पो थाहा छ कि भनेर सोध्न पुग्दा झन्डै बुधबारेकी साहुनीको कुटाइ खाइनन् । यी सबै परिस्थिति झेलेपछि उमाको मनमा के चल्यो ? उनले नाट्यकर्मलाई अगाडि बढाइन् कि बढाइनन् ? थाहा पाउन नाटक हेर्नैपर्छ ।


डेढ घण्टाको नाटकमा सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्न निर्देशक राजकुमार पुडासैनी सफल छन् । उमा सुवेदीको भूमिकामा प्रस्तुत भएकी अनु दाहाल नाटककी प्राण हुन् । एक रंगकर्मीकै भूमिकामा रंगकर्मीले अभिनय गर्ने चुनौती उनले सहजै पार गरेकी छन् । साथीसँगका बैंसालु गफमा होऊन् वा आफ्ना सपनाहरूको प्रस्तुतिमा, उनको अभिनय खुलेको छ । बेफिक्री सपनाको पछि दौडिन उनीबाट सिक्नुपर्छ ।

नाटकभित्रको नाटकका पौडेल थरका निर्देशकको भूमिका आलोक थामीले कुशलतापूर्वक निभाएका छन् । झुस्स दारी, बोलीमा कवितात्मक शैलीले उनको निर्देशक अवतार झल्काएको छ । नाटक हेरेर थिएटरबाट निस्किएपछि पौडेल थरका ‘ठग’ निर्देशक को थिए भन्ने प्रश्न दर्शकको मनमा रहिरहन्छ । यो नाटककै सबल पक्ष हो । लेखक स्वयंले आफ्नो संस्मरणमा यो कुरा खुलाएकी छैनन् ।


काकाको भूमिकामा देखिएका कमलमणि नेपालले नाटकमा हाँसो भर्छन् । यद्यपि उनको धेरै मिहिनेत देखिँदैन । उनको अभिनयले ‘भद्रगोल’ टेलिशृंखलाका ‘खुपीका बा’ लाई बिर्साउँदैन । शनिश्चरे र मंगलबारेका दुई फरक होटल साहुनीको भूमिकामा लुनिभा तुलाधर सुहाएकी छन् ।

उनको अभिनयले छोराछोरी पढाउन दु:ख गरेकी एउटी महिलाको उधारो खाएर भाग्ने निर्देशकप्रति दर्शकलाई रिस उठ्ने बनाउन सकेको छ । उमाकी आमाको भूमिकामा अभिनय गरेकी रेणु योगी र दाइको भूमिकामा प्रस्तुत भएका सुरज तमुको अभिनय दमदार छ । हाना नगरकोटी, रोशनी स्याङ्बो, सन्दीप श्रेष्ठ, अमृत दाहाल, दामोदर खतिवडाको भूमिका तारिफयोग्य छ ।


पोखरामा नाटकले दर्शकको वाहवाही पाएको छ । उपन्यासकार गनेस पौडेल ग्रामीण भेगमा नाटक देखाउनुपर्दाको पीडालाई यसमा मज्जैले प्रस्तुत गरिएको बताए । उनले भने, ‘यो एक नाटयकर्मीको मात्रै होइन, सामाजिक मुद्दा हो ।’ नाटक भए पनि रंगकर्मीबाहेक अन्यको मन छुन थोरै असफल भएको उनको धारणा छ ।


निर्देशक राजकुमार पुडासैनी रंगमञ्चको विकृति देखाउन सकेकोमा खुसी छन् । ‘वास्तविक घटनामाथि नाटक बनाउन पाएका छौं,’ उनले भने, ‘रंगकर्मीको कथा भए पनि धेरैसँग यसले सम्बन्ध राख्छ । आर्थिक अपारदर्शिता, भ्रष्टाचार हरेक क्षेत्रमा छ ।’ नेपालको रंगमञ्च गलत बाटामा नफसोस् भन्ने नै नाटकको उद्देश्य रहेको उनले बताए ।


वान वल्र्ड थिएटरले वार्षिक नाटय यात्राका क्रममा नाटकलाई पोखरा ल्याएको हो । बुधबार र बिहीबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन भइसकेको छ । बुटवलपछि काठमाडौंमा मञ्चन हुनेछ ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?