कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्जकको दसैं

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं, नेपालीको साझा पर्व । त्यसैले पनि सरकारले लामो बिदा दिने गर्छ । बहुजातीय, बहुधार्मिक मुलुकमा सबै जातजातिमा सद्भाव कायम छ । दसैंको छुट्टी सबैले आ–आफ्नै शैलीमा मनाउँछन् । सर्जकले चाहिँ कसरी मनाए त दसैं ?

सर्जकको दसैं


‘बाहिरबाट जमरा ल्याइयो’
नेवार समुदायमा दसैंका तीन दिन (फूलपाती, अष्टमी र नवमी) भोजैभोज हुन्छ । दशमीको दिन टीका राखेर मात्रै खाना खाइन्छ । मेरो नि त्यस्तै भयो । तर, यस पटक घटस्थापनाकै दिन आफन्तकोमा जुठो परेको कारण जमरा भने राख्न पाइएन । बाहिरैबाट ल्याएर टीका राखियो । आमाकी बहिनी हुनुहन्छ, ९५ वर्षीया । उहाँकै हातबाट टीका राखें । सानुबुबाकोमा पनि गएँ । घरमूली आफैं भएकाले दशमीयता आफन्त र शुभचिन्तकलाई टीका राख्ने काममै व्यस्त छु । कविलेखक पनि आइरहेकै छन् । दसैं भनेको हार्दिकताको संस्कृति हो, भेटघाट, खानपिन चलिरहेकै छ ।


दसैंको फुर्सद चाहिँ घरमै केही एकेडेमिक काममा विताएँ । यही वर्ष ५५ देशका साहित्यकारहरू निम्त्याएर नेपालमा ‘विश्व काव्य सम्मेलन’ गर्दै छु, त्यसको तयारीमा जुटें । ६ महिना अघि दिल्ली विश्व काव्य सम्मेलनमा सहभागी भएको थिएँ, त्यहाँ सहभागी संसारभरकै कविहरूका सिर्जना समेटेर २३ भाषामा ‘शब्द’ कृति छापिएर आएछ, पढें ।


‘अतिथि सत्कारमा व्यस्त’
दसैं महिलाहरूका लागि व्यस्तताको समय रहेछ । यस पटक झनै महसुस भयो । अतिथि सत्कार, खानपिन र सरसफाइमै समय गयो । पर्व एउटै भए पनि महिला र पुरुषमा यस्तो भिन्नता हुँदो रहेछ । बच्चामा भए दक्षिणाको बेग्लै रोमाञ्चकता हुन्थ्यो, अब त्यो पनि हुने कुरा भएन । महिलालाई त दसैंको बेला थप बिदा नै चाहिने रहेछ । किताब पढ्ने, घुम्ने समयै भएन ।


नवमीको साँझमा चाहिँ उहाँ (पति सञ्जीव उप्रेती) सँग मैतिदेवी मन्दिर घुम्न गएँ । खासमा साँझको बत्ती हेर्ने चाह भएर । झिलिमिली बत्तीसँग सेल्फी खिच्दै सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्ने तन्नेरीहरू थुप्रै भेटें । सामाजिक सञ्जालमा हाम्रो संस्कृति कसरी प्रमोट भइरहेको छ भन्ने यो एउटा अध्ययन नै भयो ।


हाम्रोमा दसैंको धार्मिक भन्दा सांस्कृतिक विधि मात्रै हुन्छ । ससुरा (शंकर उप्रेती) बाट टीका ग्रहण गरियो, घर (मालीगाउँ) मै । आशीर्वादमा त उहाँले ‘यो बूढो ससुराको राम्रोसँग हेरचाह गर्नू’ पो भन्नुभयो ! हामी सबै हाँस्यौं ।


‘पुरानो दसैं मिस गर्‍यौं’
सहरको दसैंमा खासै फरकपन आउन सकेको छैन । उही नियमित पूजापाठ, भेटघाट र खानपिन । यसपटक पनि सानो छँदाको दसैं खुब मिस गर्‍यौं । गाउँ (भोजपुर) को दसैंमा भिन्नै रौनक थियो । धेरैजसो दसैं चाहिँ विराटनगरमा बितायौं । पाँच/छ वर्षयता भने काठमाडौंमा मनाउँदै आएका छौं । ७३ वर्षीया आमा (धनकुमारी) कै हातबाट टीका थापें । दसैंको सौन्दर्यमध्ये पारिवारिक पुनर्मिलनको भिन्नै महत्त्व छ । हामी चार भाइ र एक चेलीसहितको परिवार एकै थलोमा भेट हुँदा आमाको अनुहारमा नाचेको खुसी लोभलाग्दो थियो । सम्बन्ध नवीकरणको यो सांस्कृतिक निरन्तरताको ठूलो अर्थ छ ।


हरेक दसैंमा देवी मन्दिर जाने पुरानै सेडयुल हो । यस पटक भने स्वास्थ्यले साथ नदिएर नक्साल भगवती मन्दिर, मैतीदेवी र गुहयेश्वरीमा मात्रै गएँ । सडक सुनसान भए पनि मन्दिरको रौनक भिन्नै थियो । दसैंको बेलाको काठमाडौंको सडक चाहिँ साँच्चिकै सुन्दर देखिँदोरहेछ ।


‘१९ वर्षपछि बुवाको घर’
यसपटकको दसैंको सुन्दर पक्ष के रह्यो भने जन्मघर पाल्पाको गोठादी गएँ । सडक र बिजुली बत्ती पुगेछ । रमाइलो लाग्यो । पहिले एक दिन हिँड्नुपथ्र्यो, यसपटक एक घण्टामै पुगें सदरमुकामबाट । पुराना साथीभाइ भेटें, आमाले पढाउनुभएको स्कुल गएँ । अष्टमीको दिन चाहिँ बर्दियास्थित बुवा (भद्रबहादुर कार्की) को घर पुगें । दसैंको बेला पारेर १९ वर्षपछि बुवा बित्नुभएको पुरानो घर पुगें । पुराना सम्झनाहरू सँगालें । नवमीको दिन नेपालगन्जस्थित वागेश्वरी मन्दिर गएर दर्शन गरें । यसपटक टीका थिएन । दशमीयता काठमाडौंमा आमा (मीनाकुमारी केसी) सँग बिताइरहेकी छु । आफन्त भेटघाट चलिरहेकै छ ।


हरेक वर्ष दसैंमा (अमेरिकाबाट) मुलुक फिर्छु । यसपटक मदन पुरस्कारले पनि व्यस्त बनायो । यसबाहेक केही साहित्यिक कर्म गरें । आफ्नै पुराना कृतिहरू पुनर्पठन गरें । ‘वेली’ कथा संग्रहको दोस्रो संस्करण आउँदै छ । यसको सम्पादनलाई समय दिइरहेकी छु ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?