१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

युटयुब ट्रेन्डिङमा अझै तिहार

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहार सकिएर पनि छठ पर्व आइसक्यो । तर युटयुबको नेपाल ट्रेन्डिङमा भने अझै तिहार सकिएको छैन । सोमबार साँझसम्म पनि पाँच ट्रेन्डिङ भिडियोमध्ये तीन भिडियो सामग्री तिहार सम्बन्धित नै भेटिए ।

नायक अनमोल केसीका फिल्म मात्रै चल्दैनन्, उनी सम्बद्ध जुनसुकै भिडियो पनि युटयुबमा बढी हेरिनेमा पर्ने गर्छ । अझ भनौं, ट्रेन्डिङमै आउँछ । त्यसैले पनि उनी संलग्न कार्यक्रमका भिडियो खिच्न युटयुबर मरिहत्ते गर्छन् । युटयुबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा उनै अनमोल छाएका छन् ।


रातो खुर्सानी च्यानलले अपलोड गरेको अनमोल केसीले घरमा लगाएको भाइटीकाको भिडियो अग्रस्थानमा आएको हो । उक्त सामग्रीमा २० वर्षपछि दाजुभाइको भेट शीर्षकले पनि भिडियोप्रति कौतूहल जगाएको हुन सक्छ । भिडियो सामग्री समाचारमूलक भने छैन ।


‘मेगास्टार अनमोल केसीले दिदीहरूको खुट्टा ढोगेको साह्रै मन पर्‍यो,’ भिडियोको कमेन्ट बक्समा प्रकाश खत्री लेख्छन् ।


नेपाल ट्रेन्डिङको दोस्रो नम्बरमा भने पशुपति शर्माको भिडियो अन्तर्वार्ता छ । फिल्मी कुरा टीभी च्यानलले ‘देउसी खेल्दा एकै ठाउँबाट २५ लाख उठे’सि पशुपति शर्मा मिडियामा’ शीर्षकमा अपलोड गरेको शर्मासँगको कुराकानीमा आधारित भिडियोलाई चार दिनमा झन्डै चार लाख पटक हेरिएको छ ।


कुराकानी तिहारको देउसीसँग सम्बन्धित रहेकोले पनि युटयुबमा बिकाउ बनेको हुन सक्छ । तर कमेन्टमा च्यानलका युटयुबर श्यामहरि शिवभक्तिको भने चर्को आलोचना भएको छ । रुद्र खनाल लेख्छन्, ‘देशको एउटा राम्रो कलाकार भएर किन यस्ता दुईपैसे पत्रकारसँग कुरा गर्छन् ?’


तिहारको पूर्वसन्ध्यामा युटयुब अपलोड गरिएको ‘धनपति’ फिल्म नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको खगेन्द्र लामिछाने अभिनीत उक्त फिल्मले हलमा खासै कमाल देखाउन नसके पनि तिहारको छेकोमा युटयुबमा भने राम्रै भ्युज पायो । एक सातामा झन्डै १८ लाख पटक हेरिएको उक्त फिल्मलाई हाइलाइट्स नेपालले अपलोड गरेको हो ।


युटयुबमा अधिकांश सुखद प्रतिक्रिया पाएको ‘धनपति’ बारे रफ्तार क्रिएसन टीभी गणेश नामक हयान्डलबाट लेखिएको छ, ‘तरुनीको तिघ्रा उचालेको फिल्म हेर्न मरिमेट्नेहरूलाई के थाहा रियल स्टोरीमा बनेको यत्तिको नेपाली मुभी †यो मुभीले नेपाली फिल्म इन्डस्ट्रीमा नयाँ तरंग ल्याइदिएको छ । यो मुभी नहेर्नेको आधा जिन्दगी खेर गएन त ?’


त्यसैगरी, गजुरेल कमेडी च्यानलमार्फत राखिएको प्रज्ञा सिस्नुपानी देउसीको भिडियोले सोमबार साँझसम्म ट्रेन्डिङको चौथो स्थानमा कब्जा जमाएको छ । चार दिनभित्रमा उक्त भिडियो झन्डै ६ लाख पटक हेरिएको छ । सिस्नुपानी नेपालले राजधानीमा आयोजना गरेको देउसी कार्यक्रमको झन्डै पौने एक घण्टाको उक्त भिडियोमा मिश्रित प्रतिक्रिया आएका छन् ।


खासगरी समसामयिक विषयवस्तुमाथि हास्यव्यंग्गको शैलीमा कटाक्ष गर्न माहिर सिस्नुपानी नेपालको देउसी कार्यक्रमलाई युटयुबमा हेरेपछि बोधराज लेख्छन्, ‘सरकारको निकम्मापनको बारेमा खासै बोलेन सिस्नुपानीले । यो कतै वामपन्थीतिर झुकेको त होइन ? वाइड बडी कता गयो ? मन्त्रीको घूस कता ? असुरक्षा कता गयो ? दण्डहिनता कता ? अब सिस्नुपानी नहेरे भो कि ?’


नेपाल ट्रेन्डिङको पाँचौं नम्बरमा भारतीय टीभी च्यानल कलर्सको एक सिरिज ‘सिलसिला बदलते रिश्तोंका’ को १ सय १५ औं भाग आएको छ । अपलोडको दुई दिनमा नै उक्त भागले १३ लाख बढी भ्युज बटुलिसकेको छ । राष्ट्रियताका सवालमा प्राय: भारविरुद्ध क्रूद्ध भईहाल्ने नेपालीहरू भारतीय टीभी कार्यक्रम वा फिल्मलाई भने युटयुबमा बढी हेर्ने गरिएको छ ।


प्राय: बलिउड फिल्मका ट्रेलर वा दक्षिण भारतीय फिल्म अपलोडको छोटो समयमै नेपालको ट्रेन्डिङमा पनि आउने गर्छन् र लामो समय रहन्छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?