कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहसका कथा सुनाउँदै

काठमाडौँ — विश्वभरका हिमाल आरोहण गर्दै हिँड्ने दावा याङ्जुम शेर्पा नेपालकी पहिलो महिला माउन्टेन गाइड पनि हुन् ।

साहसका कथा सुनाउँदै

पर्वतारोहणका लागि नेसनल जियोग्राफीको समेत सहयोग पाएकी उनलाई अहिले नर्थ फेसले साथ दिइरहेको छ । उनी यसपटक बिनाअक्सिजन सगरमाथा चढ्न लागेकी छन् । त्यसमा कसरी सफलता पाउने ? के–के बाधा आइपर्लान् ? यस्तै अनेक चिन्ता छन् ।


यी चिन्ता सधैंका हुन्, काममा अब्बल हुन महिला/पुरुष दुवैलाई उस्तै चिन्ता हुन्छ । तर, दावालाई महिला भएकाले परिवारको चिन्ताको पनि परवाह गर्नुपर्छ । ‘शेर्पा समुदायको भएकाले अरू समुदायका महिलाभन्दा अलि बढी स्वतन्त्रता छ,’ उनले भनिन्, ‘तर, म जुन क्षेत्रमा जसरी लागेकी छु, यसले परिवारलाई चिन्तित बनाउने गरेको छ । सधैं डुलिहिँड्ने भएकाले बिहे नहुने भयो भन्नुहुन्छ । राम्रो श्रीमान् नपाउने भइस् पनि भन्नुहुन्छ ।’


‘महिला र साहसप्रतिको दृष्टिकोण’ शीर्षकमा शनिबार दावासँगै जेनिफर पिडम, प्राश्ना डंगोल र जेसन शाहले आफ्ना विचार र अनुभव सुनाएका थिए । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को संवाद तथा बहस खण्डमा उनीहरूलाई महिलाले साहसलाई कुन तरिकाले लिने गर्छन् भन्नेबारे प्रश्न राखिएका थिए । ‘पर्वतारोहणका विषयमा महिलालाई कम आँक्ने गरिएको छ,’ हिमाली विषयवस्तुमा डकुमेन्ट्री बनाउँदै आएकी पिडमले भनिन्, ‘साहसिक गतिविधिहरू असाध्यै पुरुषप्रधान छन् । तर, त्यहाँ महिलाका लागि धेरै ठाउँ छन् ।’


झन्डै एक महिना एक्लै डोल्पा घुमेकी प्राश्नाले चाहिँ बाटो पहिल्याउन कहिलेकाहीँ झूट बोल्नु आवश्यक रहेको बताइन् । काठमाडौंको रैथाने नेवारकी छोरी उनलाई एकल भ्रमणमा जान परिवारले आनाकानी गरेको थियो । त्यो बेला आफूले हल्काफुल्का झूट बोलेको बताइन् । ‘म सुरुमा एक्लै पोखरा गएकी थिएँ,’ उनले भनिन्, ‘तर, साथीहरूसँग छु भनेँ । कहिलेकाहीँ झूट बोल्नुपर्दोरहेछ ।’ महिलाहरूको एकल भ्रमणलाई प्रोत्साहन गर्दै आएको ‘नेपाली ट्राभलर्स’ का जेसन शाहले ट्राभलिङका लागि आफूहरूलाई सयौं निवेदन आउने बताए ।


‘एड्भेन्चर भनेको कल्पनाशीलता हो,’ शाहले भने, ‘हामी घुम्नेबारे कल्पनै गर्दैनौं । त्यसैले अरू देशले भिसा पनि दिँदैनन् । सजिलै भिसा दिने देशबारे हामीलाई थाहा पनि छैन ।’ हिमाली विषयका डकुमेन्ट्री बनाउने महिला निर्देशकका रूपमा थोरबहुत चुनौती झेलेको र केही फाइदा हासिल गरेको निर्देशक पिडमले बताइन् । ‘पुरुषको टोलीमा आफू एक्लो महिला भइन्छ,’ उनले भनिन्, ‘आफूलाई कसरी सञ्चालन गर्ने भन्नेमा सचेत हुनुपर्छ । तर, महिला भएकाले पात्रहरू मसँग सहजै खुल्छन् ।’


आइतबारको सत्रमा पनि महिलाकै विषयमा छलफल कार्यक्रम छ । नेपाल पर्यटन बोर्डमा बिहान साढे ११ बजेदेखि नै ‘ब्रेकिङ रेड कोड– अ कन्भरसेसन अन मेन्स्टुरेसन एन्ड हाउ टु सि इन’ शीर्षकमा स्वास्थकर्मी, ट्रान्समिडिया आर्टिस्ट, फिल्ममेकर र फोटोग्राफर महिलाले विचार व्यक्त गर्नेछन् । योसँगै फेस्टिभलमा ‘प्योर ल्यान्ड इन मोर्टल वल्र्ड’, ‘द स्टेन्ड फ्ल्याग’, ‘टाइम ट्रायल’ लगायत फिल्म प्रदर्शन गरिनेछन् ।


शनिबार ‘मी भर्सेस माइन’, ‘अ ल्यान्ड सेप्ड बाइ विमेन’, ‘कथा ७२’ लगायत करिब दुई दर्जन फिल्म देखाइएको थियो । २०७२ को भूकम्पपछिको सेटिङमा प्रवीण स्याङबोले बनाएको ‘कथा ७२’ मा आमा–छोराको सम्बन्धमा आइपरेको उतार–चढाव समावेश गरिएको थियो । ‘यो फिल्म घटनामा होइन मुमेन्टमा आधारित छ,’ निर्देशक स्याङबोले भने, ‘घटना देखिने कतिपय दृश्य सम्पादनका क्रममा हटाइदियौं ।’

प्रकाशित : मंसिर २३, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?