कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुखे पनि देशै रमाइलो

काठमाडौँ — पूर्वी नेपालमा एउटा भाका चर्चित छ– देशै रमाइलो । दु:ख र पीडाको गीत भए पनि अन्तिममा ‘देशै रमाइलो...’ फुर्को जोडेर गाइन्छ यो ।

दुखे पनि देशै रमाइलो

यही गीतमार्फत कथा भन्ने प्रयास गरिएको छ राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन भइरहेको नाटक ‘लिलामे माइलो’ ले । कथाचाहिँ मोरङ जिल्लाको लेटाङस्थित राजारानी गाउँको स्थानीय मगर समुदायबाट लिइएको छ । वास्तविकतामा आधारित भनिएको नाटक एक सातादेखि मञ्चन भइरहेको छ ।

नाटक मूलत: एउटा घरको कथामा आधारित छ । तैपनि यो परिवारसित सिंगो गाउँको माहोल पनि जोडिएर आउँछ । मगर समुदायको चालचलन, संस्कृति, खानपानदेखि उनीहरूको जीवनका दु:ख यो नाटकमा हेर्न पाइन्छ ।

खासगरी ग्रामीण जनजीवन, पुरानो जीवनशैली यो नाटकमा देखिन्छ । सहर या सदरमुकामप्रतिको मोहका कारण भंग हुँदै गइरहेको ग्रामीण सम्बन्ध र पारिवारिक विखण्डनको कथा पनि छ यसमा । प्रभाकर न्यौपानेको कथा र निर्देशन रहेको यो नाटकमा ‘देशै रमाइलो...’ भाकाको गीतलाई कथा वाचनको रूपमा प्रयोग गर्न खोजिएको छ ।

मूल पात्र लिलामे माइलोमार्फत जमिन र खेतीपातीमा आधारित पुरानो ग्रामीण परम्परा र कामदार राख्ने प्रचलन सम्झाउन खोजिएको छ नाटकमा ।

सुदूर गाउँघरतिर अझै पनि अवशेषमा रहेको यो प्रचलन अहिले हराउँदै गएको छ । नाटकमा भने लिलामे माइलो यस्तै एक कामदार हो । माइलो छोराका कारण उसले घरबाटै पाउने हेला, अरूका घरमा दु:ख गर्नुपर्दाको अवस्था, बिहेपछि पनि भोग्नुपर्ने असफलताबीच कथानक घुमेको छ ।

माइलोले यौनसम्बन्ध राख्न नसक्ने अवस्था थाहा पाएपछि पत्नीले छोडिगएको सन्दर्भमा नारी हक र आत्मनिर्णयको मुद्दा उठाउन खोजेको जस्तो लागे पनि पछि हाटबजारमा भेट हुँदा दुईजना बीच हुने अप्रत्याशित मिलनले यसलाई फितलो पारेको छ ।

यस हिसाबले नाटकमा नारी पात्र कमजोर लाग्छन् । पुरुषको हैकम हाबी छ । माइलोसित पुन: प्रेम पर्दापर्दै पनि सानुकाजीले भारतमा भगाएको सन्दर्भले पनि यसलाई पुष्टि गर्छ । यद्यपि यो गाउँघरको यथार्थ हो । यो यथार्थ पस्किने कार्यमा अभिनयमार्फत निशा पाख्रिनले राम्रो काम गरेकी छन् ।

सानुकाजीको चरित्रमार्फत चेलिबेटी बेचविखनको पाटोलाई पनि नाटकले उठाउन खोजेको छ ।

लेटाङकै मगर समुदायमा गएर अभ्याससमेत गरिएको नाटकमा मगर समुदायको सांस्कृतिकता पनि प्रस्तुत गर्न खोजिएको छ । माघेसंक्रान्तिको माहोल लोभलाग्दो लाग्छ ।

राज थापा काउचाको नाट्य रूपान्तरण रहेको ‘लिलामे माइलो’ लोक नाटक भनिए पनि नाट्य फर्म र तत्त्वहरूका आधारमा भने आधुनिक शैलीकै छ । यस हिसाबले यो लोक आधारित आधुनिक नाटक हो । शैली यथार्थवादी अपनाइएको छ । सेट पनि यथार्थवादी शैलीकै छ, प्रकाश परिकल्पना सिर्जनात्मक नै भए पनि परिचालनमा निपुणता देखिँदैन ।

प्रत्यक्ष वाद्यवादन सपाट लाग्छ, सिचुएस्नल छैन । यो कलाकारको मुडलाई सपोर्ट गर्नेगरी मात्रै प्रयोग हुनुपथ्र्यो । लगातार प्रयोगका कारण कतिपय दृश्य र सन्दर्भमा कलाकार र दर्शक दुवैको मुड ब्रेक गर्छ ।

राजाराम गौतम कार्यकारी निर्माता रहेको नाटकमा सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, अल्बिना न्यौपाने, मनोज थापामगर, सञ्जीव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, वीरेन्द्र खाती, शिला राना खनाल, सचिन मल्ल, संगीता थापा, सुनील तामाङ, ललित मगर, चक्र विष्ट, पारुहाङ वान्तवाको अभिनय छ ।

मंगलबारको शोमा संस्कृतिविद् सत्यमोहन जोशी दर्शकको रूपमा उपस्थित थिए । उनले लोकतत्त्वमा आधारित यस्ता नाटकले नेपाली रंगमञ्चलाई मौलिकता प्रदान गर्ने दाबी गरे ।

नाटक पुस ७ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?