कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली साहित्यबारे कोलकातामा बहस

काठमाडौँ — दोस्रो विश्वयुद्ध होस् या कारगिल वार । भारतीय राष्ट्रियताको रक्षामा गोर्खा (नेपाली) सेनाको उत्तिकै भूमिका रहेको मानिन्छ । भाषा, साहित्य र संस्कृतिका माध्यमबाट पनि पछिल्लो समय भारतीय राष्ट्रियता निर्माणमा नेपालीभाषीको योगदान रहेकोबारे हालै कोलकातामा बहस चल्यो ।

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चले कोलकातामा गरेको दुईदिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको तेस्रो संस्करणमा यस्तो बहस भएको हो ।


मञ्चको विज्ञप्तिअनुसार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालीभाषी समुदायले भारतमा आफ्नो पहिचानको निम्ति भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका कार्यहरू गरिरहेकामा प्रशंसा गरे ।


भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषा सूचीकृत छ । लामो समयदेखि नेपाली भाषाको साहित्यले भारतमा पहिचान बनाउँदै आएकोमा यसलाई अझ परिष्कृत बनाएर अघि बढाउनुपर्ने उप्रेतीले बताए । मञ्चले जनाएअनुसार भारतीय भाषा परिषद् भवनमा सम्पन्न सम्मेलनमा समालोचक एवं कवि अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, रामजी तिमिल्सिनाले ‘डायास्पोरा नेपाली साहित्य’ र टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ कार्यपत्र प्रस्तुत गरेका थिए ।


विभिन्न सेसनअन्तर्गत ‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरू हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल भएको सम्मेलनको कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईंले जनाए ।


उक्त अवसरमा कवि एवं गीतकार वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसंग्रह (बंगाली भाषा) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता संग्रहको लोकार्पण गरियो । तुल्सी प्रभासद्वारा निर्मित सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरियो ।


सम्मेलनको अन्तिम दिन बहुभाषिक कविगोष्ठीमा नेपाली, हिन्दी, बंगला, मैथिली, पन्जावी, भोजपुरी, असमी र उर्दु भाषाका चालीस कविहरूले कविता वाचनसमेत गरेका थिए ।


सम्मेलनमा नेपालबाट कुलपति उप्रेतीसहित रंगकर्मी हरिहर शर्मा, कवि राजेन्द्र शलभ, गीतकार रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, शुभद्रा भट्टराई, गोकुल अधिकारी, श्याम रिमाललगायत सहभागी थिए ।


सम्मेलनका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, बीपी कोइराला फाउन्डेसन नयाँदिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिन्डिकेट, जुपिटर कार्गो र संयुक्त नेपाली केन्द्रीय सेवा संघको सहकार्य रहेको विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?