कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि लेखिँदै छ ‘उपियाँको निबन्ध’ 

काठमाडौँ — स्कुले जीवनमा हरेक विद्यार्थीले निबन्ध लेख्नुपर्छ । शिक्षकले विभिन्न जनावर, पशुपक्षी, चाडपर्व, ऐतिहासिक स्थललगायत यस्तै विषयमा निबन्ध लेख्न लगाउँछन् र लेखिन्छ ।

फेरि लेखिँदै छ ‘उपियाँको निबन्ध’ 

अहिले राजधानीमा एक शिक्षक विद्यार्थीहरूलाई उपियाँबारे निबन्ध लेखाइरहेछन् । थुप्रै विद्यार्थीहरू जानीनजानी उपियाँबारे निबन्ध लेख्दै छन् ।


मण्डला थिएटर अनामनगरमा सुरु भएको नाटक ‘उपियाँको निबन्ध’ मा कलाकारहरूले यस्तो निबन्ध लेखिरहेका हुन् । हालै भारतको कोलकाता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरेर आएको यो नाटक राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला हुँदै थिएटर मल नाटकघरमा दुई वर्षअघि निमयमित मञ्चन भएको थियो । मण्डलामा अहिले ४१ औं मञ्चनबाट फेरि सुरु भएको हो ।


केदार श्रेष्ठको लेखन, निर्देशन रहेको नाटक स्कुले परिवेशको कथालाई हास्यशैलीमा प्रस्तुत गरिएको छ । नाटक ‘उपियाँको निबन्ध’ मा लौरो बोकेर कक्षा लिने नेपाली शिक्षकले नमुनाका रूपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।


नाटकमा सामान्यत: स्कुलमा हुने पात्रहरू, हेडसर, शिक्षकहरू, विद्यार्थीहरू र पालेदाइ सक्रिय छन् । उनीहरूबीचकै दृश्य र संवादका साथ नाटक अगाडि बढ्छ । एक अबोध बालकले दुई सय शब्द पुर्‍याउनका लागि हरेक निबन्धमा उपियाँको निबन्धलाई ‘लजिकल्ली’ जोडा शिक्षकको शिक्षण पद्धतिमाथि प्रश्न नाटकले उठाउँछ ।


र पुरातन पद्धति अपनाइरहेका शिक्षकलाई तिनै बालबालिकाले आफ्नो कमजोरी महसुस गराएपछि शिक्षकले लिएको नयाँ अवतारसँगै नाटक सकिन्छ ।


विद्यार्थीहरूको चलमल, चतुर्‍याइँ, उट्पट्याङहरूले स्कुल र कक्षाकोठाको अनुभूत गराउँछ । नेपाली कक्षामा अंग्रेजी बोल्दा तिराउने जरिवानाले वर्तमान समयमा विद्यालयहरूले आवश्यकताभन्दा बढी अंग्रेजीलाई प्राथमिकता दिएकोप्रति नाटकले व्यंग्य गर्छ । विद्यार्थीहरूले प्रयोग गरेका बोराका झोलाले पनि विद्यार्थीहरूमाथि थोपरिएको अनावश्यक बोझप्रति संकेत गर्छ ।


नाटकलाई कलात्मक बनाउनका लागि माक्सको सुन्दर प्रयोग गरेका छन्, जसबाटै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध देखाउने प्रयत्न गरेका छन् । बालबालिका रंगीन हुन्छन् भन्ने भावमा ‘कलरफुल’ देखिने सेटमा बिम्व र प्रतीक खेलाएका छन् । मन्दिरमा प्रयोग हुने घण्टीलाई विद्यालयको घण्टी बनाएर ‘विद्यालय शैक्षिक मन्दिर हो’ भन्ने भाव नाटकमा प्रस्तुत गरिएको छ ।


घरी बाल्यकालमा पुर्‍याउने, घरी शैक्षिक बहसले गम्भीर बनाउने नाटक ‘उपियाँको निबन्ध’ रमाइलो त छँदै, त्यससँगै नाटकले अहिलेको शैक्षिक पद्धतिमाथि सोच्नसमेत बाध्य बनाउँछ । नाटकमा ललितपुरको प्रेरणा विद्याश्रम हरिसिद्धिका विद्यार्थीहरू योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन, अदिन महर्जन, लुमन्ती महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन र जल्लु लिम्बूले अभिनय गरेका छन् । नाटक मंगलबारसम्म चल्नेछ ।

प्रकाशित : पुस १, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?