कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परदेशीको के भर हुन्छ...

कोसीपारि — ठूलीमाई तामाङकी कान्छी छोरी चार वर्षदेखि मलेसियामा छिन् । मुुटुको भल्भ बिग्रिएर छोरा बितेपछि श्रीमान् र नातिका साथ बस्दै आएकी ठूलीमाई चौरी देउराली गाउँपालिका–४ स्थित स्वर्णिम सरस्वती युवा क्लबले गरेको सांस्कृतिक कार्यक्रममा गीत सुनेर निकै रोइन् ।

परदेशीको के भर हुन्छ...

लोकगायक बद्री पंगेनीले ‘बिदा पाउँदिनँ, अहिलेको दसैंमा आमा घरमा आउँदिनँ’ गीत गाउँदा धुसेनीकी ठूलीमाई भक्कानिएकी थिइन् ।


‘चार वर्ष भयो गएको, आउन पाएकी छैन, फागुनमा आउँछु भनेकी छ,’ ठूलीमाईले भनिन्, ‘हाम्रै पीडाको गीत सुन्दा मन थाम्नै सकिनँ ।’


दर्शकश्रोताबीच पुगेर बद्रीले गाएका गीतमा अरूले पनि आँसु खसाले । गाउँमा युवा रित्तिएकाले छोराछोरी र श्रीमान्लाई विदेश नजान आग्रह गर्न बद्रीले सिकाए । उनले कार्यक्रममा उपस्थित सञ्चारमन्त्री गोकुल बाँस्कोटा, सांसद गंगाबहादुर तामाङ, रत्न ढकाल लगायतलाई स्वदेशमै काम गर्ने अवसर सिर्जना गर्न अनुरोध गरे । कहिलेकाहीँ मात्रै गाउँ पुग्ने नेताहरूको प्रवृत्तिलाई व्यंग्य गर्दै उनले आफ्नो गीत ‘लौन नेताज्यू, हाम्रो गाउँमा आऊ न कहिलेकाहीं, किन नेताज्यू हाम्रो भेट हुन्न पहिलेझैं....’ गाए ।


अर्का लोक गायक घमेश दुलालले पनि बिदेसिनुको पीडा झल्काउने गीत नै गाए । ‘परदेशीको के भर

हुन्छ, कि फर्कन्छ कि धाउँछ बगर...’ गीत सुन्दा केही दर्शकश्रोता फेरि भावुक देखिए । अर्को प्रस्तुतिमा भने घमेशले दर्शक र अतिथिलाई नचाए ।


लोकगायिका राधिका हमालको ‘पढ केटा हो’ र ‘क्याम्पस पढ्न आउने’ गीतमा धेरैले नाच्ने धोको मेटाए । लोकगायिका सुनीता गौतमले पनि प्रस्तुति दिइन् । हास्यकलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुतिमा धेरैले पेट मिचिमिची हाँसे । सरकारलाई कडा व्यंग्य प्रहार गरेको राजा राजेन्द्रको प्रस्तुतीले सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री बास्कोटालाई समेत पेच परेछ ।


‘पत्रकार त छँदै थिए, हुँदाहुँदा कलाकारले पनि सरकारको विरोध गर्न थाले भन्या,’ ठट्यौलीमा मन्त्री बाँस्कोटाले भने, ‘तपाईंहरूले चिन्ता गर्नुपर्दैन, सरकारले काम गरिरहेको छ ।’ विभिन्न विद्यालयका बालबालिकाले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित : पुस २, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?