कुलागीमा चिटिक्कै
मिरिक, भारत — तामाङ फिल्म ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल) की नायिका सुनीता लुङ्बालाई औपचारिक सभासमारोहमा प्राय: मौलिक पहिरन नै मनपर्छ ।
उनलाई तामाङ गोइलो (पहिरन)को सम्बन्ध रियल र रिल लाइफ दुवैमा उत्तिकै महत्त्वपूर्ण लाग्छ । यिनै नायिका लुङ्बा अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको अवसरमा आयोजित तामाङ फेस्टिभलमा मौलिक वेशभूषामै भेटिइन् ।
मौलिक वेशभूषाको स्टलछेउ साथीसंगीहरूका साथ फोटो खिचाउँदै उनले भनिन्, ‘रिल र रियल लाइफ दुवैमा मौलिकता नै रोज्छु ।’
उनीसँगैका तामाङ फिल्मकी अर्की नायिका पुसन लामा र सुषमा मोक्तानले पनि फेस्टिभलमा मौलिकताकै खोजी गरे । अलिक मोडिफाइ गरिएको चोलो र लुङगीमा सजिएका उनीहरू चिटिक्क देखिएका थिए । उनीहरू छेवैमा रहेको गोइलो सप्लायर्सको स्टलमा नेपालका रसुवा–नुवाकोटदेखि दोलखा–रामेछापसम्म प्रचलित हिमाली हातेबुना पोशाकहरू राखिएका थिए ।
‘मलाई मिल्ने कुलागी (टोपी) हेरौँ न’, मिरिककी श्रद्धाञ्जली तामाङ टुप्लुक्क आईपुगिन् । तामाङ भाषा बोल्न नआए पनि उनले आफू पहिरनमा सजिन पाउँदा निकै गर्व महसुस हुने बताउँदै थपिन्, ‘यता अलि राम्रो टोपी पाईन्न । नेपालबाट नयाँ डिजाइनको आइपुगेको छ कि भन्दै फेस्टिभलमा आएँ ।’
आफूलाई मिल्ने कुलागी नपाएपछि उनले एउटा लुङ्गी किनिहालिन् । जोदावपुर विश्वविद्यालयमा प्राध्यापनसमेत गर्ने उनले टुङ्ना र डम्फूको स्टल पनि चहारिन् । ‘संस्कृतिले मानिसलाई जोड्दोरहेछ,’ १८ देशबाट सहभागिता रहेको अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको सान्दर्भिकता समेतलाई जोडेर उनले भनिन्, ‘अरूतिर के हुन्छ थाहा छैन, दार्जिलिङ र मिरिकतिर चाहिँ पछिल्लो समय नेपाली मौलिकताले युवाहरूलाई तानेको छ ।’
उनीसँगै भेटिएकी दार्जिलिङकी ५५ वर्षीया सुशीला बमजन छोरीलाई साथमा ल्याउन नपाउँदा दु:खमनाउ गर्दै थिइन् । उनले भनिन्, ‘मेरी छोरी त तामाङ ड्रेसमा पुतली जस्तै देखिन्छे । औधी रहर गर्छे तर आज स्कुल बिदा थिएन ।’ तैपनि उनले मौलिक पहिरन किनिन् छोरीका लागि । आफ्ना लागि कुलागी रोजिन् । तामाङ समुदायमा महिलाले शिरको सजावटका रूपमा कुलागी लाउने गरेको उनले बताइन् ।
काठमाडौंको बौद्धदेखि स्टल लिएर आएकी गोइलो सप्लायर्सकी चन्द्रमाया तामाङले नेपालमा जस्तै मिरिकमा पनि युवा पुस्ताले नै बढी मौलिक वेशभूषा खोज्दै आएको बताइन् । उनका अनुसार सबैभन्दा बढी कुलागी बिक्यो । उनका अनुसार तामाङ समुदायमा पुरुष र महिलाले लाउने कुलागी फरक–फरक हुन्छ ।
सम्मेलन क्रममा विभिन्न सेसनमा छलफल चलिरहेकै थियो । तर, कालिम्पोङदेखि आएकी मनिला तामाङ भने सिधै मौलिक पोसाकको स्टलतिरै अल्झिइन् । आमा मञ्जिललाई समेत लिएर आएकी उनी स्थानीयभन्दा नेपालको पश्चिमी क्षेत्रका तामाङ पहिरनप्रति चासो देखाउँदै थिइन् । उनले रसुवा–धादिङतिर प्रचलित एउटा तागी (रसुवाली टोपी) किनिन् । सिक्किमको एउटा कलेजमा अध्यापन गर्ने मनिलाले अब बिस्तारै नयाँ पुस्ताले आफ्नो मौलिकता खोज्न थालेको बताइन् ।
धादिङको रुबीभ्यालीदेखि मिरिक आएका मङगा माम्बा र सुजाता रम्पोट तामाङले झनै सबैको ध्यान खिचे । लुङगी, चोलो, बख्खुसहित चेप्टे रिङलगायत पुराना गरगहनामा सजिएका उनीहरू दुईले देखाउनकै लागि यो पहिरन नलगाएको बताए । ‘हाम्रो गाउँको तानमै बुनेको डिजाइन हो यो, गाउँमा सधैं हामी यस्तै लाउँछौं,’ माम्बाले भनिन्, ‘सहर बजारमा त औपचारिक कार्यक्रम वा मेलातिर मात्रै लाएको देखिन्छ ।’
आइतबार सकिएको सम्मेलनले यस्तै मौलिक संस्कृति र पहिचानलाई जोड दिएको छ । सम्मेलनमा मौलिक वेशभूषासँगै तामाङ लोकबाजा, हस्तकला, थाङका चित्र, खाना गरी १ सयभन्दा बढी स्टल राखिएका थिए ।
प्रकाशित : पुस २, २०७५ ०८:००