कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीमा आउँदै मनीषाको क्यान्सर कथा

काठमाडौँ — अभिनेत्री मनीषा कोइरालाले क्यान्सरसँग जुध्नुपर्दाको कथाव्यथा समेटिएको अंग्रेजी पुस्तक ‘हिल्ड’ केही समयअघि बजारमा आएको थियो ।

नेपालीमा आउँदै मनीषाको क्यान्सर कथा

यो पुस्तक अब नेपाली भाषामा पनि आउने भएको छ । पोखरामा हुन लागेको ‘नेपाल लिट्रेचर फेस्टिभल’ को उद्घाटन सत्रमा शनिबार ‘हिल्ड’ को नेपाली संस्करण लोकार्पण गरिने फाइन प्रिन्टले जनाएको छ ।


मनीषाले भने पुस्तक अनुवादबापत पाएको पारिश्रमिक क्यान्सर केयर नेपाललाई प्रदान गरेकी छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले क्यान्सर केयरका रश्मि गुरुङ लगायतलाई रकम हस्तान्तरण गरिन् ।


समारोहमा मनीषाले किताब लेख्नुको कारण पनि खुलाइन् । ‘म आफ्नो निकट इतिहासको अनुभव बिर्सिन चाहन्नँथेँ,’ उनले भनिन्, ‘त्यो पीडा र अप्ठ्यारोबाट मैले धेरै पाठ सिकेकी छु । आफ्ना अनुभवलाई संरक्षण गर्न चाहेर किताब निकालेकी हुँ ।’ उनका अनुसार अप्ठ्यारो पलबाट गुज्रेपछि नै मानिसले जीवन बुझ्छ ।


पाठेघरको क्यान्सरले जीवनप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गराएको पनि बताइन् । ‘मेरो भोगाइबाट कसैले केही बुझ्छन् भने त्यो मेरा लागि ठूलो कुरा हुनेछ,’ उनले भनिन्, ‘यसबाट ठूलो ज्ञान आर्जन गरिएला त म भन्दिनँ, तर यसले कसैको जीवनमा केही अर्थ राख्यो भने किताबले आफ्नो उद्देश्य पूरा गरेको मान्नेछु ।’


बलिउड यात्राबारे पनि आफूले भविष्यमा सम्भवत: आत्मवृत्तान्त लेख्ने मनीषाले बताइन् । क्यान्सरको भोगाइसँग अन्य विवरण मिसाउँदा किताबको सार हराउला भन्ने लागेर अहिलेलाई ‘हिल्ड’ मात्रै लेखेको उनले बताइन् । ‘दवाई खानेबित्तिकै निको हुने रोग होइन रहेछ क्यान्सर,’ उनले भनिन्, ‘उपचारको चरणमा छँदा पनि मृत्युलाई नजिकबाट देखिन्छ । मृत्युसँग जुध्नु भनेको असाध्यै गहन अनुभव हुँदो रहेछ ।’


क्यान्सरका बिरामीले शारीरिक, भावनात्मक र मानसिक रूपमा आफूलाई बलियो बनाउनुपर्ने उनको अनुभव छ । यसले आफू मात्र नभएर परिवारलाई समेत पीडा दिने उनले बताइन् ।


‘क्यान्सर बिरामीको संघर्षले आफन्तहरूलाई पनि असर पर्छ,’ उनले भनिन्, ‘मेरी आमाले मलाई निको होस् भनेर मेरा डाक्टरलाई रुद्राक्ष लगाउन भन्नुभएको थियो । त्यो उहाँको आस्था थियो । यस्ता धेरै कुरा पुस्तकमा लेखेकी छु ।’


मनीषाले ‘हिल्ड’ नीलम कुमारसँगको सहकार्यमा तयार पारेकी हुन् । नीलम आफैं पनि कुनै समय क्यान्सरपीडित थिइन् ।


पुस्तक तयार पार्दाको चुनौती के थियो भन्ने प्रश्नमा मनीषाले पुराना क्षण सम्झनु नै सबैभन्दा पीडादायक भएको बताइन् । ‘सबै कुरा विस्तृत रूपमा सम्झनुपर्‍यो,’ उनले भनिन्, ‘त्यो क्षण दोहोर्‍याएर बाँच्नुपरेको आभास भयो । एक पल त यति गाह्रो भयो कि किताबको काम बीचमै रद्द गरिदिऊँ जस्तो भएको थियो ।’ उनले लिट्रेचर फेस्टिभललाई लिएर आफू उत्साहित भएको पनि बताइन् ।

प्रकाशित : पुस ३, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?