कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दले बिलखबन्द

एउटा ४०–४५ वर्षको व्यक्तिले आक्रोशित हुँदै भन्यो, ‘किन मोटरसाइकल चढ्नुपर्‍यो ? हिँडेर रिपोर्टिङ गर्न सकिन्न ?’
मैना धिताल

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय नियोगको नेपाल कार्यालयको अभिलेखअनुसार सन् २००८–२०१३ मा मात्रै ४ हजार ४ सय ५१ वटा आमहडताल तथा बन्द भए । तीबाहेक सानो स्तरमा हुने चक्काजाम र हडतालको गणनै थिएन ।

बन्दले बिलखबन्द

प्रेस इन्स्टिच्युटमा पत्रकारिताको १० महिने तालिम लिँदै गर्दा सन् २००१ को अन्त्यतिर इन्टर्नका रूपमा म कान्तिपुर प्रवेश गरेकी थिएँ । त्यहीँबाट सुरु भएको मेरो सक्रिय पत्रकारिताका झन्डै १२ वर्ष कान्तिपुरमै बिते । कान्तिपुरमा काम गर्दा धेरै खालका घटनाहरू देखिए, भोगिए ।

देशका विभिन्न राजनीतिक घटनाक्रमदेखि अर्थतन्त्र र समाजका विभिन्न आयामलाई नजिकबाट नियाल्ने मौका पनि मिल्यो । दरबार हत्याकाण्ड, सशस्त्र द्वन्द्व, शाही कदम, जनआन्दोलन–२, शान्तिप्रक्रिया, राजतन्त्रको अन्त्य, संविधानसभा निर्वाचन र संविधान घोषणा यस्ता घटना थिए, जसका कारण नेपाललाई वैश्विक चासोको केन्द्रतिर ल्याइदिएका । संसारलाई नै चकित पार्ने खालका यी घटनाक्रमबीच मेरो पत्रकारिताको यात्रा पनि अघि बढ्यो ।

जनआन्दोलन–२ पछि देशले नयाँ मोड लिइरहेको थियो । खास गरी राजतन्त्रको अवसान र माओवादी शान्तिप्रक्रियामा आएसँगै देश संक्रमणकालमा प्रवेश गर्‍यो । त्यसको मुख्य ‘साइड इफेक्ट’ का रूपमा देखा परे— बन्द, हडताल र चक्काजाम । विद्यार्थीदेखि शिक्षकसम्म, राजनीतिक दलदेखि व्यावसायिक संघसंस्थासम्म सबैले बन्दलाई आफ्नो माग पूरा गराउने अचूक अस्त्र मान्न थाले । विरोधको अर्को नाम बन्द–हडताल बन्न पुग्यो । बन्द–हडताल कहिले हुनेभन्दा पनि नहुने दिन कहिले हो भनेर थाहा पाउनुपर्ने अवस्था थियो । युनाइटेड नेसन्स डिपार्टमेन्ट अफ सेफ्टी एन्ड सेक्युरिटी (यूएनडीएसएस), नेपाल कार्यालयको अभिलेखअनुसार सन् २००८ देखि २०१३ बीचमा मात्रै ४ हजार ४ सय ५१ वटा आमहडताल तथा बन्द भए । तीबाहेक सानो स्तरमा हुने चक्काजाम र हडतालको गणनै थिएन ।

राजमार्गमा गाडीले कुखुरा किच्दा होस् वा नयाँ संविधान समयमै जारी होस् भन्ने दबाब दिनुपर्दा, जुनसुकै निहुँमा बन्द–हडताल दिनचर्याको हिस्सा बन्यो । अरू त अरू, बन्दले उद्योगधन्दा चौपट पार्‍यो भनेर गनगनाउने उद्योगी–व्यवसायीले समेत आफूलाई चित्त नबुझेका कुराको अभिव्यक्तिका लागि यही दुष्कृत्यको सहारा लिए । जुनसुकै बहानामा गरिएका बन्द–हडतालका कारण मुलुकको अर्थतन्त्र भने नराम्ररी थलिँदै गयो । एक दिनको बन्द वा आमहडतालबाट मुलुकले १ अर्ब ८० करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने तथ्यांक राष्ट्र बैंकको छ । यस्तै, २०६३ देखि २०७० को अवधिमा बन्द–हडतालबाट मुलुकलाई वार्षिक २७ अर्ब रुपैयाँ घाटा भएको राष्ट्र बैंकको विश्लेषणले देखाउँछ । तर, त्यो तथ्यांकको बोझ कसले दिमागमा हालिराख्ने ∕ विरोधको सबैभन्दा सहज र प्रभावकारी माध्यमलाई ‘सदुपयोग’ किन नगर्ने ∕ हल्लैहल्लामा पनि बन्द भइदिन्थे । कतिपयका लागि बन्द सार्वजनिक बिदा जस्तै थियो । फरक यत्ति मात्र थियो, त्यो सरकारी क्यालेन्डरमा समेटिएको थिएन । कतिपयलाई भने सरप्राइज छुट्टी । कृत्रिम अभाव गराउने, कालाबजारी र ठगीमा पल्केकाहरूलाई त कमाइको गतिलो अवसर बन्थ्यो यस्तो समय ∕ जनतालाई सूचना दिने पत्रकारले बन्द भनेर घरमै बस्ने कुरा हुँदैन । आमपत्रकारझैं मैले पनि बन्द, हडतालमा आफ्नो पेसागत दायित्वलाई निरन्तरता दिएँ । तर, २०६४ माघ ९ गतेको नेपाल बन्द भने मेरा लागि अविस्मरणीय घटना बन्यो ।

बिहानको ११ बजेको थियो । सादा पेपरमा ‘भंगेरे टाउको’ अक्षरले ‘प्रेस’ लेखिएका दुई पाना झिकेँ, जुन मैले अघिल्लो दिनै अफिसमा प्रिन्ट गरेर बोकेकी थिएँ । त्यो ‘प्रेस’ मोटरसाइकलका अगाडिपछाडि दुवैतिर टाँसेँ । ‘प्रेस’ लेखेकै, आँखै तिरीमिरी पार्ने पहेंलो ज्याकेट लगाएँ । अनि गलामा कान्तिपुरको परिचयपत्र भिरेँ । लाग्यो— यति भएपछि अब बन्दकर्ता होस् वा हूलदंगाकर्ता, कसैले छुन सक्दैन र निर्बाध रूपमा रिपोर्टिङमा जान सकिन्छ ।

म घरबाट निस्किएँ । मैले द काठमान्डू पोस्टमा काम गर्ने साथी अञ्जली सुवेदी (हाल रिपब्लिका) लाई आधा बाटोमा पिकअप गर्नुपर्ने थियो । उनलाई लिन लाजिम्पाटबाट त्रिपुरेश्वर हुँदै कलंकी पुगें । ठाउँठाउँमा टायर बलिरहेका थिए । त्यसेको खरानीले सडकै कालाम्मे बनेको थियो । कतिपय सर्वसाधारण भने टायरकै आगो ताप्दै जाडो छल्ने कोसिसमा थिए । तर, टायरले वायु प्रदूषणलगायत स्वास्थ्य र वातावरणमा पार्ने असरबारे भने जनचेतनाको ज्यादै कमी थियो, जसमा अहिले पनि खासै परिवर्तन आएको छैन । बन्द आयोजना गर्ने दल हुन् वा सरोकारवाला सरकारी निकाय, कसैले पनि त्यसलाई गम्भीर रूपमा लिएको पाइँदैन । अञ्जली र मैले यसैबारे फिचरस्टोरी बनाउने सल्लाह गर्‍यौं ।

दोस्रो जनआन्दोलनपछि नयाँ बानेश्वर क्षेत्र राजनीतिक गतिविधिको मुख्य ‘हब’ बन्दै आएको छ । नेपाल बन्दमा पनि बढी क्रिया–प्रतिक्रिया त्यतै हुन्थ्यो र हामीले पनि स्टोरीका लागि बानेश्वर क्षेत्र नै रोज्यौँ । हामी नयाँ बानेश्वर चोकमा पुग्दा एउटा हूलले रोक्यो । केही युवाले हुटिङ गर्न थालिसकेका थिए । हामीले भन्यौँ, ‘कम्तीमा परिचयपत्र देखाउने मौका त दिनुस् !' परिचयपत्र हेरेपछि केहीले ‘कान्तिपुरको रहेछ, जान दे’ भने । हामी अगाडि बढ्न खोज्दै थियौँ । एउटा ४०–४५ वर्षको व्यक्तिले आक्रोशित हुँदै भन्यो, ‘किन मोटरसाइकल चढ्नुपर्‍यो ? हिँडेर रिपोर्टिङ गर्न सकिन्न ?’ ‘बाध्यता छ । एकै दिन थुप्रै ठाउँमा रिपोर्टिङका लागि जानुपर्ने हुन्छ, हिँडेर साध्यै हुँदैन,’ मैले बुझाउने कोसिस गरेँ । ऊ रोकिएन । अन्टसन्ट बक्न थाल्यो, भन्दै थियो, ‘तिमीहरूले खै तेलको मूल्य घटाएको ?’

त्यसअघिका बन्दमा प्राय: पार्टीका नेता र कार्यकर्ता सडकमा देखिन्थे । परिचयपत्र हेरेपछि रोकटोक हुँदैनथ्यो । तर, त्यो दिन अवस्था फरक थियो । हामीलाई अराजक भीड हाबी भएको महसुस भयो । कार्यालयको परिचयपत्र, प्रेस लेखिएको कागज र ज्याकेट केहीले पनि काम गर्ने अवस्था देखिएन । हामीलाई रोक्ने उनीहरूसँग न कुनै पार्टीको झन्डा थियो, न त परिचयपत्र नै । अर्कोले प्वाक्क भनिहाल्यो, ‘खै तपार्इँको मोटरसाइकलबाट तेल झिक्नुपर्‍यो, टायर बाल्नलाई ∕’ अझ अर्कोले थप्यो, ‘टायरको हावा खुस्काइदे ।’

त्यसै बेला वाकीटकी बोकेका दुई सुरक्षाकर्मी झुल्किए । मनलाई राहत मिल्यो । सोचेँ— अब भने उम्कन पाइने भयो । तर, हाम्रो दुखेसो सुनेपछि उनीहरूले त मोटरसाइकल डोर्‍याएर हिँड्न पो सुझाए ∕ अञ्जली मोटरसाइकलबाट उत्रिइन् । मैले डोर्‍याउन थालेँ । तर, त्यो अराजक भीड थामिएन, हुटिङ गर्दै पछयाउन थाल्यो । हामीले अलिकति अगाडि बढ्न नपाउँदै फेरि घेरिहाल्यो । कसैले मोटरसाइकलबाट ‘प्रेस’ उक्काई च्यातिदियो । त्यतिले नपुगेर केही हुल्लडले मोटरसाइकलमै लात्ती बर्साउन थाले । हेडलाइट, साइडलाइट सबै भाँचिदिए । मोटरसाइकललाई चारैतिरबाट लुछ्न थाले, गिद्धले सिनो लुछेझैं । हामी भने निरीह बनेर त्यसको साक्षी मात्रै बनिरह्यौँ । मोटरसाइकल डोर्‍याउन सुझाव दिने सुरक्षाकर्मी दृश्यबाट गायब भइसकेका थिए ।

अचानक मेरा आँखा मोटरसाइकलमा झुन्ड्याएको आफ्नो ब्यागमा परे । चेन खुलेको देखेपछि चोरीको आशंकाले चेक गरेँ । ब्यागभित्रको पर्स गायब भइसकेको रहेछ । पर्समा ड्राइभिङ लाइसेन्स, दुइटा एटीएम कार्ड, केही पैसा र महत्त्वपूर्ण कागजपत्र थिए । त्यसै बेला द काठमान्डू पोस्टका युवराज आचार्य र उज्ज्वल पौडेल तथा कान्तिपुरका कृष्ण थापालगायतका सहकर्मीहरू आइपुगे । उनीहरूले मोटरसाइकल र हामीलाई भीडबाट निकाल्न निकै संघर्ष गरे । जसोतसो मोटरसाइकल पारिपट्टि रहेको थ्री ब्रदर्स पेट्रोल पम्पमा पुर्‍याउन सकियो । क्षतविक्षत बनाइएको मोटरसाइकलपछि तीनकुनेस्थित प्रहरी कार्यालयमा पुर्‍याइएको रहेछ ।

कार्यालय पुगेपछि त्यो दुव्र्यवहारबारे समाचार लेख्ने सल्लाह भयो । भोलिपल्ट समाचार निस्कियो । समाचार आएको एक/दुई दिनपछि एकजना व्यक्ति मलाई भेट्न कान्तिपुर आइपुगे । खासमा उनी मेरो लाइसेन्स र एटीएम कार्ड लिएर आएका रहेछन् । ‘तपाईंको पर्स र पैसाचाहिँ त्यो भाइ आफँैले राख्छु भन्यो । लाइसेन्स र एटीएम कार्ड दिनू भनेकाले ल्याइदिएको,’ उनले भने ।

मेरा लागि त्यो नै महत्त्वपूर्ण थियो । आशा मारिसकेका कागजपत्र कार्यालयसम्म पुर्‍याउन आएकामा उनलाई मनैदेखि धन्यवाद दिएँ । आफूले लेखेको समाचारले अरूलाई पारेको प्रभाव त थाहा थियो, यस पटक भने आफूले लेखेको समाचारको प्रभाव आफैँमा परेको थियो ।

कान्तिपुर जिल्ला ब्युरोकी पूर्वप्रमुख धिताल हाल अमेरिका छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?