कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेरो विश्वविद्यालय

मिडिया उद्योगको व्यापकता र सूचना प्रविधिमा भएको चामत्कारिक परिवर्तनले आज नेपाली पत्रकारिता जगत्लाई निकै फराकिलो र विविधतायुक्त बनाएको छ । तथापि २५ वर्षअगाडि राखिएको कान्तिपुररूपी कोसेढुंगा नै यसको मूल मियो बनिरहेकै छ ।
तारानाथ दाहाल

काठमाडौँ — कान्तिपुरमा मैले आठ वर्ष बिताएँ । २०४९ भदौमा पत्रिका प्रकाशनको प्रारम्भिक तयारी चलिरहेकै समयमा सम्पादक योगेश उपाध्यायले मलाई बोलाउनुभएको थियो । अंग्रेजी दैनिक दी काठमाडौँ पोस्ट प्रकाशनको तयारीमा उहाँहरू चार महिनादेखि जुटिरहनुभएको थियो ।

मेरो विश्वविद्यालय

थापाथली प्रसूति गृहअगाडि पत्रिकाको कार्यालय खुलेको थियो । प्रिन्टिङ प्रेस जडान गर्ने काम हुँदै थियो । यसैबीच प्रकाशक श्याम गोयन्का र सम्पादक उपाध्यायले नेपालीमा पनि पत्रिका प्रकाशन गर्ने सोच बनाउनुभएछ । पत्रिका दर्ता भने हुन सकेको थिएन । सम्पादक उपाध्यायले नेपाली पत्रिकाका लागि टिम बनाउन दिनेश सत्याललाई जिम्मेवारी दिनुभएको रहेछ । त्यही कारण म सुरुमै टिममा जोडिन पुगें । अंग्रेजी दैनिकमा काम गर्न भनेर पुग्नुभएका श्रीकृष्ण अनिरुद्र गौतम र नारायण वाग्ले पनि नेपाली टिममै सर्नुभयो । तीर्थ कोइराला र जीवेन्द्र सिम्खडाहरू पनि मिसिनुभयो ।

सानो टिमले पत्रिकाको योजना बनाउँदै गृहकार्य गर्ने क्रममै ‘कान्तिपुर’ को नाम जुरेको थियो । थुप्रै नाममा छलफल गर्दागर्दै सम्पादक उपाध्यायले ‘कान्तिपुर’ शब्द उच्चारण गरेको र सत्यालले त्यसमा समर्थन गरेको क्षण मेरा आँखामा अझै झलझली छ । यो नाम प्रकाशक र कानुनी सल्लाहकार रामकृष्ण निरालालाई पनि मन पर्‍यो । त्यही साता जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता भयो । पछि त प्रकाशन संस्थाकै नाम कान्तिपुरमा रूपान्तरण भयो र आजको कान्तिपुर मिडिया ग्रुपको जग खडा भयो । अन्तत: नेपाली व्यावसायिक पत्रकारिताको बलियो कोसेढुंगा गाडियो ।

छ महिना लामो गृहकार्यपछि कान्तिपुर र दी काठमाडौँ पोस्टको नियमित प्रकाशन औपचारिक रूपमा सुरु भयो । नियमित प्रकाशनपूर्वका कैयौँ दिन नमुना अंकहरू छापिए र पाठकहरूबीच पनि पुगे । तर, तीभन्दा पनि धेरै अंक हामीले तयार गर्‍यौँ । कति प्रेसमा छापिए, कति कागजमा मात्र टाँसिए । अनि कैयौँ अंक कम्प्युटरका स्क्रिनमा मात्र तयार गरिए । वास्तवमा त्यो छमहिने अवधि हाम्रा लागि दैनिक पत्रिकाको अभ्यासको विश्वविद्यालयसरह हुन पुग्यो । किनभने, एक–दुई जनाबाहेक अधिकांश पत्रकारको पृष्ठभूमि साप्ताहिक पत्रिकाको थियो । हाम्रो शैली र सोच दुवैलाई दैनिक पत्रिकाअनुकूल बनाउन लामो आन्तरिक अभ्यासको समय उपयोगी बन्न पुग्यो । लामो समयसम्म पनि पत्रिका बजारमा जाने गरी औपचारिक प्रकाशन सुरु नभएका कारण कतिपय साथीले टिम छाडिसकेका थिए । द काठमान्डू पोस्टमा हामीभन्दा चार महिनापहिलेदेखि नै अभ्यासमा जुटेका थिए साथीहरू । कान्तिपुर प्रकाशनका लागि जुटेको हाम्रो टिमले पनि अनेक उतारचढाव बेहोर्दै छ महिना पूरा गरेको थियो । आखिर त्यो दिन आएरै छोडयो ।

२०४९ फागुन ७ गते हाम्रा लागि जीवनको एउटा सुखद दिन त बन्न पुग्यो नै, नेपाली पत्रकारिताको इतिहासको पनि एउटा जाज्वल्यमान क्षणका रूपमा अंकित हुन पुग्यो ।

पत्रिका प्रकाशनपूर्वका समयमा विभिन्न भूमिकामा अभ्यास गरियो । समाचार संकलनका लागि तीर्थ कोइरालाको नेतृत्वमा हाम्रो रिपोर्टिङ टिम बनाइएको थियो । तर, पृष्ठ संयोजन, लेआउट डिजाइन र सम्पादकीय लेखनलगायतमा अनुभवप्राप्त साथीहरू एक–दुई जना मात्र भएकाले एकै जनाले कहिले कुन काम कहिले कुन काम गर्नुपथ्र्यो । सुरुका ६ महिनामा मैले आर्थिक पेजको संयोजनदेखि सम्पादकीय लेखन र रात्रि डेस्कको समेत जिम्मेवारी पूरा गरें । पत्रिका नियमित प्रकाशन हुने बेला म रात्रि डेस्कमा थिएँ । प्रथम पृष्ठको संयोजन र प्रस्तुतिको चुनौती अर्जुन विष्ट र श्रीरामसिंह बस्नेतसहितको हाम्रो टिमले सम्हालेको थियो । केही समयपछि नै म श्रीकृष्ण अनिरुद्र गौतमसँगै फिचर पृष्ठमा पुगें र सम्पादकीय लेखनको अभ्यासमा जोडिने मौका पाएँ । डेस्क र फिचरको जिम्मेवारीमा रुमलिनुपरे पनि म मूलत: संवाददाताको काममा फिट थिएँ । केही समयपछाडि मात्रै मैले त्यो मौका पाएँ । राजनीति, संसद्, प्रशासन र अदालत मेरो रुचिका क्षेत्र थिए । वातावरण, विकास र सामाजिक मुद्दाहरूसम्बन्धी खोजी समाचारमा खटिनु पनि मेरो रुचिकै कुरो थियो । कुनै पनि संवाददाताका लागि पत्रिकाको प्रथम पृष्ठमा ‘बाइलाइन’ पाउनु सबैभन्दा ठूलो सन्तुष्टिको कुरो हुन्छ र पत्रकारको पहिचान र व्यक्तित्व निर्माणमा इँटाको काम गर्ने त्यस्तो ‘बाइलाइन’ मेरो महत्त्वाकांक्षा हुने गथ्र्यो । त्यो पूरा गर्न कान्तिपुरले मेरो जाँगर र ऊर्जा खर्च गर्ने अपूर्व अवसर प्रदान गर्‍यो ।

समाचारको खोजी र प्रस्तुतिका लागि गरिएका ती दिनको श्रम र मिहिनेत सम्झिँदा अहिले आफैँलाई आश्चर्य लाग्छ । बिहान सात बजेदेखि राति एक बजेसम्म कान्तिपुरको मिसनमा जुटिन्थ्यो । महिनौँसम्म एक दिन पनि बिदा बसिँदैनथ्यो । त्यो संघर्ष व्यावसायिक उत्कृष्टताका लागि थियो । ‘गरेर सिक्दै जाने’ सिद्धान्तमा विश्वास भएको मान्छे भएकाले मलाई त्यस्तो खटाइप्रति कुनै गुनासो पनि थिएन ।

कान्तिपुरको जीवनमा केही यस्ता राष्ट्रिय घटनाहरू छन्, जसले यो पत्रिकाको सर्कुलेसनलाई उल्लेखनीय रूपमा फड्को मार्न योगदान दिएका छन् । तीमध्येको पहिलो घटना थियो— नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा भएको दुर्घटना । सो दुर्घटनाको समाचार प्रवाहबाटै कान्तिपुरले वैकल्पिक समाचारपत्रका रूपमा आफूलाई स्थापित गर्न सकेको हो । त्यति बेलासम्म हजारौँ पाठकहरूमा गोरखापत्रको एकलौटी प्रभाव थियो, तर दासढुंगा घटनाको व्यापक र विस्तृत कभरेजका कारण ती पाठकहरू कान्तिपुरतर्फ तानिए । त्यति बेला आफू रिपोर्टिङमा नभए पनि म त्यसपछिका तीनवटा उल्लेखनीय सन्दर्भहरूमा संलग्न हुन पाएँ । ती सन्दर्भ थिए— नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गुटबीचको लामो द्वन्द्व, प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्धको सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ अनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेपछि सर्वाेच्च अदालतमा परेको मुद्दाको सुनुवाइ । यी तीनवटै राजनीतिक घटनाका सन्दर्भमा कान्तिपुरले प्रस्तुत गरेको विहंगम समाचार कभरेजले यो पत्रिकाको सर्कुलेसनलाई गोरखापत्रभन्दा धेरै माथि पुर्‍याएको थियो । जनसरोकारका कैयौँ चासोका विषयमा गरिएका रिपोर्टिङ र राजनीतिक एवं समसामयिक विषयमा प्रवाह गरिएका लेख–अन्तर्वार्ता तथा समाचारको विविधताजस्ता अरू कैयौँ पक्षलाई बिर्सन त मिल्दैन, तर पनि कतिपय विवादास्पद यस्ता घटनाहरू हुन्छन्, जसमा आम मानिसको चासो हुँदो रहेछ । ती सन्दर्भमा आम मानिसको रुचि सम्बोधन हुने गरी सामग्री पस्कन सक्यो भने सञ्चारमाध्यम लोकप्रिय भइहाल्दो रहेछ । माथि उल्लेख गरिएका तीनवटै सन्दर्भका रिपोर्टिङको दायित्व मैले पाएको थिएँ । खासगरी चाक्सीबारीमा भएको दुई साता लामो निष्कर्षविहीन कांग्रेस झगडाको समाचार संकलन र प्रतिनिधिसभा विघटनविरुद्धका २०५१ र २०५२ सालका दुईवटा मुद्दाको सुनुवाइका क्रममा गरिएको रिपोर्टिङ मेरो पत्रकारिता जीवनमा स्मरणीय रहेका छन् ।

कान्तिपुर प्रकाशनले आफ्ना सहकर्मीहरूलाई पुरस्कृत र सम्मानित गर्न थालेको पहिलो वर्ष ‘आउटस्टयान्डिङ अवार्ड’ पाउने सौभाग्य पनि मैले नै प्राप्त गरेको थिएँ । सायद त्यो अवार्डपछाडिको कारण थियो— प्रतिनिधिसभा विघटनविरुद्धको त्यही मुद्दाको रिपोर्टिङ । निरन्तर ११ दिनसम्म कान्तिपुरको प्रथम पृष्ठको मुख्य समाचार सोही विषयमा थियो र सबैमा मेरो बाइलाइन थियो । तस्बिर खिच्न र स्वर रेकर्ड गर्न नपाइने अदालतको इजलासमा घण्टौँ हुने बहस–पैरवीलाई टिपोट गर्नु र त्यसलाई पाठकले मन पराउने गरी प्रस्तुत गर्नु निकै चुनौतीपूर्ण भए पनि रोमाञ्चक थियो । सर्वोच्च अदालतका ११ जना न्यायाधीश बसेर गरिएको सुनुवाइ ∕ अदालतको इजलास मात्र होइन कम्पाउन्ड र बाहिर सडकमा समेत खचाखच भरिएको भीड ∕ खुटयाउन नसकिने एक से एक विद्वान् वकिलहरूका तर्क र विश्लेषणहरू डायरीमा टिपी बेलुका अदालतबाट हिँडेरै कार्यालय पुगेर राति ११/१२ बजेसम्म लेखेर दिएको समाचार भोलिपल्ट पत्रिकाको प्रथम पृष्ठ ढाकिने गरी छापिएको र पाठकहरूले त्यो एकदम रुचाएर पढेको सन्दर्भले मलाई अहिले पनि सन्तोष दिन्छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा सरकार र विश्व बैंकबीच सहमति, आयोजनाहरूसँग स्थानीयको द्वन्द्व र वातावरण संरक्षणवादीहरूको सरोकारजस्ता त्रिकोणीय संघर्षका कथाले उत्पन्न गरेको समस्यालाई निरन्तर फलोअप गर्ने काममा होस् या चेलीबेटी बेचबिखनको अपराधमा संरक्षणको भूमिका खेल्ने राजनीतिक र प्रशासनिक दुश्चक्रलाई उजागर गर्ने सन्दर्भमा, कान्तिपुरले गरेको योगदानमा म आफूलाई पनि पाउँछु । ती विषयमा गरिएका विहंगम समाचार प्रस्तुतिले तिनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा र चासोका मुद्दा बनाउन सफल भइयो ।

अदालतका इजलासमा हुने वकिलहरूको तर्क, विश्लेषण र सिद्धान्तहरूको खुटयाउनै गाह्रो पर्ने वादविवाद र बौद्धिक सञ्जाल तथा बेन्चका न्यायाधीशहरूको हाउभाउ, प्रश्न तथा प्रतिक्रियात्मक टिप्पणीहरूमा लुकेको अर्थलाई पर्गेलेर पत्रकारिताको रुचिकर सामग्री बनाउन सकिन्छ भन्ने मान्यता स्थापित गर्न कान्तिपुरको जिम्मेवारीले नै सफल बनायो ।

संसदीय गतिविधिका नीरस विवरणात्मक समाचारहरूभन्दा त्यहाँका अनौपचारिक राजनीतिक गतिविधि, सांसदहरूका शैली र प्रस्तुति अनि संसदीय परिसरका अनेक रोचक कथालाई संसदीय रिपोर्टिङको अंग बनाउने प्रयोग पनि कान्तिपुरले थालेको थियो । जनप्रतिनिधिको थलोलाई बृहत्तर र चनाखो आँखाले औंल्याएर पाठकहरूबीच पस्कदा यसप्रति आम रुचि बढाउन सफलता पाइँदो रहेछ भन्ने पनि त्यहाँको रिपोर्टिङका प्रयोगहरूबाट सिकियो । नेपाली पत्रकारितामा मुख्य रूपमा अदालत, संसद् र आर्थिक बिटको संस्थागत विकासमा कान्तिपुरको अगुवाइयुक्त योगदान छ भन्न सकिन्छ । त्यसैगरी दूरदराजका जनजीवनका दु:खका कथा, जीवनसंस्कृति र प्रकृतिका कथा अनि नेपाली सीमा क्षेत्रका संवेदनशील मुद्दालाई राष्ट्रिय जीवनधारामा समर्पित गर्न कान्तिपुरका सहकर्मीहरूको अगुवाइ उल्लेखनीय छ ।

कान्तिपुरमा रहँदा मैले प्रमुख संवाददाता, फिचर (लेखरचना) सम्पादक, शनिबारे कोसेली संयोजन र समाचार सम्पादकजस्ता महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हाल्ने अवसर पाएँ । ती सबै अवसरले मेरो आत्मविश्वास भरिदिए । यसैको बलमा आजपर्यन्त पत्रकारिता क्षेत्रको स्वतन्त्रता र विकासको गतिविधिमा समर्पित भइरहन प्रेरणा मिलिरहेको छ । २०५७ सालमा नेपाल पत्रकार महासंघको महासचिवका रूपमा कार्यव्यस्तता निकै बढेपछि मैले कान्तिपुरबाट बिदा लिएँ । आठ वर्षको कान्तिपुरको सेवा नै मेरो पत्रकारिता जीवनको सबैभन्दा लामो र गहन सिकाइको अवधि हो । २०४४ सालमा सुरु भएको पत्रकारिता जीवनले तीन दशक पूरा गरेको छ । यसबीच दर्जनभन्दा बढी मिडियामा जोडिन पुगेँ । तर पनि कान्तिपुरमा बनेको पहिचानले नै आफूलाई अहिलेसम्म पेसामा टिकाइरहेको महसुस हुन्छ ।

उदार र फराकिलो सम्पादकीय सोच भएको नेतृत्वले नै कुनै पनि सञ्चारमाध्यमलाई आम जनताको अपनत्व महसुस गर्न सक्ने बनाउँदै सबैको साझा चौतारीमा विकसित गराउन सक्छ र त्यसका लागि सम्पादकीय पहललाई स्वतन्त्र रूपमा अगाडि जान सघाउने लचकता अपरिहार्य हुन्छ । यस प्रसंगमा कान्तिपुरले आफूलाई दृढतापूर्वक सजग राख्दै आएको छ । त्यसैले यो देशको अगुवा मिडिया समूह हुन सकेको हो । प्रशस्त लगानी खन्याउँदै र योग्य पत्रकारहरू हुँदैमा मात्र कुनै पनि सञ्चारमाध्यम दिगो र सबल बन्न सक्दैन भन्ने कुरा कान्तिपुरपछि सुरु भएका कैयौँ मिडिया उद्यम डुब्नुबाट स्पष्ट हुन्छ । नेपाली मिडिया अर्थराजनीतिमा सफलताभन्दा असफलताको चाङ धेरै छ । करोड होइन, अर्बका लगानी असफल भएका छन् । सञ्चारमाध्यमको लगानीकर्ता र व्यवस्थापकको पहिलो प्राथमिकता सञ्चारमाध्यमको लोकप्रियताका लागि निर्भीक सम्पादकीय स्वतन्त्रताको अभ्यासको जगेर्ना हुुनुपर्छ । पत्रकारिताका व्यावसायिक सीमारेखाहरूप्रतिको संवेदनशीलता भएको नाफा रणनीतिमा सीमित हुन सक्नुपर्छ । कान्तिपुरलाई यही संवेदनशीलताको अनुभूतिले नै जोगाएर सफलतातर्फ लगेको हो भन्न सकिन्छ ।

मिडिया उद्योगको व्यापकता र सूचना प्रविधिमा भएको चामत्कारिक परिवर्तनले आज नेपाली पत्रकारिता जगतलाई निकै फराकिलो र विविधतायुक्त बनाएको छ । तथापि २५ वर्षअगाडि राखिएको कान्तिपुररूपी कोसेढुंगा नै यसको मूल मियो बनिरहेकै छ । प्रिन्ट मिडियाको मौलिकता र प्रभाव कति समय रहला भन्ने आशंका छाएको यो समयमा कान्तिपुरले आफूलाई रेडियो, टेलिभिजन र अनलाइनका संस्करणहरूमा विस्तार गर्दै मूल रूपमा छापा ब्रान्डमै स्थापित गराइरहन सफल भएको छ ।

कान्तिपुरका पूर्वप्रमुख संवाददाता दाहाल फ्रिडम फोरमका प्रमुख कार्यकारी हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?