कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

किलो एट 

विकास रौनियार

काठमाडौँ — तीन दशकअघि जर्मनीबाट काइला काकाले ल्याइदिनुभएको सेकेन्ड ह्यान्डको मिनोल्टा क्यामेरा अहिले पनि झलझली सम्झन्छु । त्यतिखेर आईएल भर्ना भएको थिएँ । बिहान कलेज जान्थें, दिउँसो क्यामेरा भिरेर घुम्न जान्थें । रमाइलो गर्दै खिचेका फोटो हिमाल पत्रिका, क्रिस्चियन साइन्स मोनिटर, स्पार्क र इन्डिपेन्डेन्टलगायतमा छापिन्थ्यो । 

किलो एट 

त्यसैक्रममा कान्तिपुरका सम्पादक योगेश उपाध्यायले साइँलो काकामार्फत मलाई भेट्न खोज्नुभएको थाहा पाएँ । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स दुर्घटना भएको दिन घरमै फोन गर्नुभयो । मोटरसाइकल छ कि छैन ? सोध्नुभयो । मैले छ भनें । भोलि ललितपुरमा भएको जहाज दुर्घटनाको रिपोर्टिङ गर्न साथीहरू जाँदैछन् । बिहान साढे ४ बजे थापाथली आउनु भनेर बोलाउनुभयो । कान्तिपुर निस्कनुभन्दा अघिदेखि फोटो पत्रकारका रूपमा चन्द्रशेखर कार्की काम गरिरहनुभएको थियो । पाकिस्तान एयरलाइन्स दुर्घटना हुँदा उहाँ काठमाडौं नभएकाले मैले अवसर पाएँ । त्यतिखेर कान्तिपुरको ‘डमी’ मै मैले खिचेका फोटो छापिन थाल्यो । मैले कान्तिपुर निस्कनु अघिल्लो दिन ०४९ फागुन ६ गते नियुक्ति पत्र पाएँ ।

कान्तिपुर र काठमान्डु पोस्ट दुवैका पहिलो अंकमा मैले खिचेका फोटो छापिए । कान्तिपुरमा २०४६ को जनआन्दोलन र पोस्टमा उड्न लागेको परेवाको फोटो छापिएको थियो । कान्तिपुर सुरुवात गर्दा फोटो पत्रकारमा हामी दुई जना चन्द्रशेखर कार्की र म मात्रै थियौं । प्राविधिक काम धुलाउने, प्रिन्ट गर्नेदेखि क्याप्सनसम्म लेख्थ्यौं ।

सरकारी सञ्चार माध्यमको तुलनामा हामीलाई स्वतन्त्रता थियो । सरकारी सञ्चार माध्यममा बोल्दै गरेको, रिबन काटेको जस्ता तस्बिर मात्रै आउँथे । हाम्रो उद्देश्यचाहिँ तस्बिरले नै घटना बोलोस् भन्ने चाहन्थ्यौं । दुई जना भए पनि सबै क्षेत्र कभर गर्नुपथ्र्यो । भोलिपल्टको कार्यक्रमको निम्तो आउँथ्यो । त्यो हेरेर काम बाँडफाँट हुन्थ्यो । अप्रत्याशित घटनाको सूचना विभिन्न माध्यमबाट आउँथ्यो । तर, ढिला हुन्थ्यो । यस्ता घटनामा सुरुको अवस्थाको तस्बिर लिन चुनौती थियो ।


त्यतिबेला विदेशी सेलिब्रिटी र महत्त्वपूर्ण व्यक्ति नेपाल आएको खबर होटलका म्यानेजरले गर्थे । मोबाइल थिएन । टेलिफोन, वाकीटकी र पेजरमा भर पर्नुपथ्र्यो । सञ्चार मन्त्रालयले कान्तिपुरलाई वाकीटकी राख्न अनुमति दिएको थियो । सञ्चालक, सम्पादकपछि वाकीटकी बोक्ने प्राथमिकतामा हामी थियौं । वाकीटकीमा मेरो कलासाइन किलो एट थियो । कसैले खोज्यो भने किलो एट भनेर बोलाउँथ्यो । म किलो एट स्पिकिङ भनेर जवाफ दिन्थें । २०५५ मा मेरो विवाह भएको डेढ महिना मात्रै भएको थियो । साढे १० तिर मिर्जा दिलसाद बेगलाई सिफलमा गोली हान्यो भन्ने खबर आयो । प्रहरीसँगै घटनास्थल पुग्यौं । अरू सञ्चार माध्यमका पत्रकार हामी पुगेको एक घण्टापछि मात्रै आइपुगे ।

जटिल प्रविधि

सूचना पाउन जति कठिन थियो, प्रविधि त्यति नै जटिल थियो । बेलुका ६ बजेसम्मको घटना कभर गर्न मात्रै सकिन्थ्यो । फोटो खिचेर मात्रै हुँदैनथ्यो । डार्क रूपमा फोटो पनि धुलाउनुपथ्र्यो । फोटो धुलाएर सुकाउनसम्म डेढ घण्टा लाग्थ्यो । पहिला नेगेटिभ धुलाउनुपथ्र्यो । त्यसलाई सुकाउनुपर्‍यो । नेगेटिभबाट तस्बिर निकाल्थ्यौं । तस्बिर पनि सुकाउन समय लाग्थ्यो । एउटा फोटो धुलाउन कम्तीमा पनि डेढ घण्टा लाग्थ्यो । एक रोलमा ३६ वटा तस्बिर हुन्थ्यो । एउटा कार्यक्रममा धेरै तस्बिर खिच्न सकिँदैनथ्यो । सीमित फोटो खिच्नुपथ्र्यो । कहिलेकाहीँ ३६ वटा नसकिँदै धुलाउनुपथ्र्यो । डार्क रुममा सावधानीपूर्वक रिल काटेर बाँकी रिल बचाउँथ्यौं ।


पहिला ब्ल्याक एन्ड ह्वाइटमा पत्रिका छापिन्थ्यो । कान्तिपुर रंगीन भएपछि हामीलाई चुनौती पनि थपियो । काठमान्डु पोस्ट ब्ल्याक एन्ड ह्वाइट नै थियो । कान्तिपुर रंगीनमा छापिन थाल्यो । दुवै पत्रिकालाई फोटो खिच्न दुई वटा क्यामेरा बोक्नुपर्ने अवस्था आयो । हामीले दुई विकल्प अघि सार्‍यौं । पहिलो विकल्प दुवै क्यामेरा बोक्ने, अर्को विकल्प एउटै कार्यक्रममा दुई जना जाने ।


हाम्रो डार्क रुममा ब्ल्याक एन्ड ह्वाइट मात्रै धुलाउन मिल्थ्यो । रंगीन भएपछि त कलर ल्याब जानुपर्ने भयो । फोटो खिचेर सकिनेबित्तिकै कार्यालयभन्दा पहिला ल्याब जान्थ्यौं । कुनै घटनाको तस्बिर खिच्दा ल्याब बन्द हुनु अघिसम्म पुग्नु हाम्रो चुनौती थियो । कहिलेकाहीँ राति अबेरसम्म फोटो खिच्नुपथ्र्यो । ल्याबलाई अनुरोध गरेर अबेरसम्म खुलाउन लगाउँथ्यौं ।

मिर्जा दिलसाद बेगको घटनामा दुई वटा क्यामेरा बोकेर फोटो खिच्न गएको थिएँ । किनभने राति रंगीन ल्याब बन्द भइसकेको हुन्थ्यो । ब्ल्याक एन्ड ह्वाइट फोटो हामी आफैं धुलाउन सक्थ्यौं । फोटो खिचेर राति पौने २ तिर फक्र्यौं । आफैं धुलाएर ३ बजेतिर डेक्सलाई दिए । रंगीन फोटो खिच्ने क्यामेरा मात्रै लगेको भए फोटो छाप्न सकिँदैनथ्यो ।

डिजिटल क्यामेरा नआउँदासम्म जिल्लाको फोटो कुरिअर र काठमाडौं आवतजावत गर्ने व्यक्तिमार्फत आउँथ्यो । त्यसैले जिल्लाका न्युज फोटो कमै छापिन्थ्यो । जुम्लामा नेकोन एयरको जहाज दुर्घटना भयो । समाचार विभिन्न माध्यमबाट आयो । रिपोर्टर नवराज शाहीले जहाज जल्दै गरेको तस्बिर खिचेको हामीलाई थाहा थियो । तर भोलिपल्ट छाप्न सकिएन । चार दिनपछि मात्रै छापियो ।

डिजिटल युग

करिब डेढ दशकअघि सुरु डिजिटल युग फोटो पत्रकारिताको स्वर्णिम युग हो । जति पनि फोटो खिच्न सकिन्छ । धुलाउन जानु पर्दैन । डिजिटल क्यामेराले सहज बनाएको छ । अहिले फोटो पत्रकारको संख्या पनि बढ्दै गएको छ । फोटोको स्तरीयता पनि बढेको छ । क्यामेराका मोडल पनि धेरै आउन थालेका छन् । अहिले क्यामेराअनुसार उच्चस्तरका फोटो निकाल्न सकिन्छ । कस्तो फोटो खिच्यो भनेर हेर्दै खिच्न पनि सकिन्छ । फोटो पत्रकारलाई सूचना, प्रविधि र सुरक्षा सहज भएको छ । कान्तिपुरमा २१ वर्ष बिताएँ । जुनियर फोटो पत्रकारबाट प्रवेश गरेर फोटो सम्पादकसम्म भएँ । कान्तिपुर छाडेको चार वर्ष बितिसक्यो, तर पनि अझै सबैले मलाई कान्तिपुरको फोटो पत्रकार भनेरै चिन्छन् ।


रौनियार कान्तिपुरका पूर्वफोटो सम्पादक हुन् ।

(मकर श्रेष्ठसँगको कुराकानीमा आधारित)

twitter: @bikasrauniar

प्रकाशित : फाल्गुन ७, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?