कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झेली खेल

राजु घिसिङ

काठमाडौँ — पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भनिन्छ । प्राय: हुन्छ पनि त्यस्तै । पन्ध्र वर्षअघिको घटना । अखिल नेपाल फुटबल संघ (एन्फा) को भेला धरानमा भएको थियो । गीता राणा समूहसँगको विवाद ‘अन्त्य’ पछि भएको भेलामा पत्रकारलाई भने प्रवेश निषेध गरियो ।

झेली खेल

भेलाको निर्णय बुझ्न अबेरसम्म हलबाहिरै बसें । राति साढे ९ बजे भेला सकिएपछि तत्कालीन एन्फा अध्यक्ष गणेश थापा निस्किए । उनलाई सोधें– छलफलमा के विषयमा छलफल र निर्णय भए ? उनले सीधा जवाफ दिए, ‘आवश्यक छलफल भयो । निर्णय बाहिर ल्याउन जरुरी छैन । अरूलाई किन चासो ?’ भवनबाट बाहिरिने क्रममा उनले अर्को कुरा पनि भने, ‘मैले नै पत्रकारलाई छिर्न नदिनु भनेको हो ।’

मैले सुनेको, पढेको र अप्रत्यक्ष चिनेको गणेश थापा अर्कै थिए । त्यो पहिलो साक्षात्कारले उनीप्रतिको दृष्टिकोण नै फेरिदियो । मिडियाका खबरमार्फत मैले उनलाई महान् खेलाडी र नेपाली फुटबलको कायपलट गर्ने व्यक्ति ठानेको थिएँ । तर पहिलो भेटले अखबारका पाना, रेडियोका ध्वनि र टेलिभिजनका दृश्यहरूमाथि नै शंका उब्जाइदियो । छर्लंग भने हुन सकिएन ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लगानीमा धरानमा निर्मित एन्फा टेक्निकल सेन्टर २०६३ मा कब्जा गरी माओवादी लडाकु बसेका थिए । लागूपदार्थ बेचबिखन–सेवन, चोरी डकैती गरेको आरोपमा माओवादीले २ सय बढीलाई अपहरण गरी ‘सुधार शिविर’ सञ्चालन गरेको विषयमा थापाले मलाई फोन गरेरै भने, ‘यसलाई समाचार नबनाऊँ । दाजुभाइको कुरामा के गर्नुपर्छ म गरौंला । समाचार भने नछापौं ।’

‘काठमान्डु पोस्ट’ र ‘साप्ताहिक’ मा समाचार छापिए । तर थापाले समाचार रोक्न गरेको प्रयासले भने दिमाग घुमाइरह्यो । पत्रकारिताकै सिलसिलामा २०६५ मा काठमाडौं आई कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा काम गर्न थालें, विशेषगरी फुटबलसम्बन्धी । अनि गणेश थापालाई अझ नजिकबाट चिन्ने अवसर पाएँ ।

राजधानीमा सहिद स्मारक लिग एक–डेढ महिना चल्थ्यो । लिग खेल्ने कुनै पनि क्लब नाफामा थिएन । क्लबहरूले अधिकार र सुविधा माग्दै २०६४ मै आन्दोलन सुरु गरिसकेका थिए । उनीहरूले फुटबलको सर्वोच्च संस्था एन्फा हँुदाहुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ‘नेपाल फुटबल संघ’ नै दर्ता गरे । तर संघसँगको विवाद थापाले ०६५ मा मिलाए । उनले संघकै मागअनुसार सम्झौता गरिदिए । कार्यान्वयन भने विद्रोहीका अगुवालाई जागिर दिलाएर टुंग्याइदिए । कति चलाख अन्तर्राष्ट्रिय फुटबलमा फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटर र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष मोहमद बिन हमाम सन् २०११ को फिफा अध्यक्षका लागि भिड्दै थिए । तर मत प्रभावित गर्न घूस दिएको आरोप लगाएर हमामलाई पन्छाइयो । ब्लाटर हट–सिटमा निरन्तर रहे । त्यस चुनावसँगै विश्व फुटबलका काला कर्तुतहरू सार्वजनिक हुन थाले । पछि ब्लाटर पनि प्रतिबन्धमा परे । भ्रष्टाचार अभियोगमा विश्व फुटबलका दर्जन बढी उच्च पदाधिकारी अदालत धाइरहेका छन् । धेरैले अपराध स्विकारिसके ।


कतारी धनाढ्य हमामका विश्वास पात्र थिए गणेश थापा । उनकै साथले थापा एएफसीको उपाध्यक्ष पनि भए । उनका जेठा छोरा गौरव एएफसीमा राम्रै तहमा कार्यरत थिए । उनले हमामबाट १ लाख डलर लिएको २०६९ साउन ६ मा एसोसिएट प्रेसले खुलासा गर्‍यो । उनले जागिर नै छोड्नुपर्‍यो । त्यसबेला मलेसियामा रहेका गणेश थापाले समाचार आउनु दुई दिनअघि नै फोन गरेर भनेका थिए, ‘त्यो अढाई–तीन सय डलरको गिफ्ट हो, ठूलो कुरा होइन ।’ स्वदेश फर्केर उनले गौरवले लिएको रकमबारे प्राइसवाटरहाउसकुपरले बनाएको प्रतिवेदन देखाउने बताएका थिए । तर त्यो कहिल्यै हेर्न पाइएन । उनले उक्त रकम कहिले बिजनेस त कहिले व्यक्तिगत ऋण भएको प्रतिक्रिया दिएका थिए । गौरवले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

वास्तवमा गौरवले लिएको १ लाख डलरको खबर काण्डैकाण्डको खुलासाको थालनी थियो । एन्फाको कार्यसमिति बैठक सार्वजनिक गर्न ७ भदौ २०६९ मा आयोजित पत्रकार सम्मेलनमा गणेश थापाले भनेका थिए, ‘तीन–चार वर्षदेखि प्रतियोगिता गर्दा टिकट बिक्रीबाट उठेको आठ करोड रुपैयाँ मैले गोप्य रूपमा राखेको छु ।’ उनी बोलिरहँदा अरू पदाधिकारी आश्चार्य मान्दै उनलाई हेरिरहेका थिए । संस्थाको रकम व्यक्तिले राख्नु सरासर भ्रष्टाचार हो । डलर काण्डमै चर्को गाली बेहोरेपछि आठ करोडबारे पदाधिकारीले सोध्ने हिम्मत नै गरेनन् । न त सम्बन्धित निकायले बुझ्ने प्रयास नै गरे । त्यो आठ करोड अझै कहाँ छ, कसैलाई जानकारी छैन ।

उनी प्रत्येक प्रतियोगिताको अनुमानित बजेट पत्रकार सम्मेलनमा बताउँथे तर के–कति खर्च भयो भन्ने कहिल्यै सार्वजनिक गर्दैनथे । यस्तै भइरहेपछि मैले बजेटलाई लिएर नियमित प्रश्न गर्न थालें । उनले भन्थे पनि, ‘तपाईंलाई बजेटमा चासो हुन्छ ।’ तर मेरो प्रश्न सधैं अनुत्तरित रह्यो ।

मिडियामार्फत प्रचार चाहने तर हिसाबमा खुल्न नचाहने दोहोरो चरित्रले उनी ‘इमानदार’ हुन् भन्ने लाग्न छाड्यो । विस्तारै उनी मेरो प्रश्नसँग झस्किन थाले । उनी बोलिरहँदा रेकर्डर तेस्र्याउँदा उनको अनुहारको रङ नै बदलिन थाल्यो । रेकर्डर राखेपछि तौलिएर बोल्न थाले । पछि त मेरा प्रश्नै ‘बुझ्न’ छाडे । हरेक पत्रकार सम्मेलनमा उनी मेरो सवालको जवाफ यसरी दिन थाले, ‘प्रश्न बुझिएन ।’ बुझ पचाएका उनलाई मैले कहिल्यै बुझाउन सकिनँ ।

२०७० असोजमा काठमाडौंमा भएको साफ च्याम्पियनमा नेपाली टिम सेमिफाइनलमा अफगानिस्तानसँग हार्‍यो । उक्त प्रतियोगितामा गणेश थापा हाफ टाइममा ‘ड्रेसिङ रुम’ पुगेर खेलाडीलाई हप्काउनेदेखि अफिसियलसँग झगडासम्म गर्न पुगेका थिए । खेलाडीलाई देशद्रोही पनि भने । तर उनीसामु सबै चुप रहन्थे । ठूलै कार्यसमिति एक्लौटी चलाइरहेका उनको रवाफ बढ्दो थियो । नेपाली फुटबलको स्तर भने ओरालो लागिरहेको थियो ।

नेपाली राष्ट्रिय टिमको पहिचान नै बनेको थियो– राम्रो खेलेर हार्ने । त्यसको पछाडि केही गडबड छ भन्ने लाग्यो । व्यवस्थापन, खेलाडी र प्रशिक्षकको मिहिनेतले मात्र फुटबलमा सफलता सम्भव हुन्छ । त्यसैबारे नेपाली फुटबलको व्यवस्थापन पक्षलाई लिएर ९ कात्तिक २०७० मा एक पृष्ठको विशेष रिपोर्ट लेखें, ‘धरापमा नेपाली फुटबल’ । त्यसबारे प्रतिक्रिया धेरै आए । गणेश थापाको गलत कार्यलाई बाहिर ल्याउने हिम्मत गरेकामा धेरैले आश्चर्य व्यक्त गरे । ‘गणेश थापाले केही गरेनन् ? तिनले जे पनि गर्न सक्छन्, सतर्क हुनुहोला,’ धेरैले भने ।

समाचारको विषयलाई लिएर थापाका नातेदारले पत्रकार पिटेको इतिहास थियो । उनले केसम्म गर्न सक्छन् भन्नेमा म सचेत थिएँ र त्यसबारे सम्पादकलाई पनि जानकारी गराएँ । अनि फुटबलको खस्कँदो स्तरबारे शृंखला सुरु गरें । यसैबीच ०७१ मा एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण श्रेष्ठ र सदस्य पंकजविक्रम नेम्वाङले थापाको कार्यशैलीको विरोध र क्लबलाई सुविधा माग्दै ‘शुद्धीकरण अभियान’ थाले । संसद्को सार्वजनिक लेखा समिति, युवा तथा खेलकुद मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने ती पदाधिकारीलाई थापाले एन्फाबाट निलम्बन नै गरिदिए ।

‘फुटबलमा पनि विद्रोह’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित भएपछि गणेश थापा तत्कालीन प्रशिक्षक राजुकाजी शाक्य, हरि खड्का, बालगोपाल महर्जन, उपेन्द्रमानसिंह, राष्ट्रिय टिमका कप्तान सागर थापालगायत खेलाडीको ठूलै समूह लिएर तीनकुनेस्थित ‘कान्तिपुर’ कार्यालय आएका थिए । १२ असोज ०७१ मा संसद्को लेखा समितिले ५८ करोड १६ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै थापामाथि अनुसन्धान र कारबाही गर्न अख्तियारलाई सिफारिस गर्‍यो । ३ कात्तिकमा पदीय जिम्मेवारीबाट हटाउन लेखा समितिको निर्देशनअनुसार थापाले पद स्थगन पनि गरे । वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष बने । एन्फाको ‘रिमोट कन्ट्रोल’ भने थापाकै हातमा थियो ।

‘४० वर्षदेखि फुटबलमा लागेको व्यक्तित्व हुँ म । फुटबलबाट मलाई हटाउने सपना कसैले नदेखे हुन्छ,’ थापाले ०७१ असारमा पत्रकार सम्मेलन गरेर भनेका थिए । शक्ति केन्द्रलाई रिझाउन खप्पिस उनले राखेपले स्पष्टीकरण मागेको पत्र उनले फिर्ता नै गराए । कर्माछिरिङ शेर्पा समूहले जुलुसै लिएर थापाविरुद्ध उजुरी दिएको थियो । तर अख्तियारले ‘अनुसन्धानबाट अनियमितताको आरोप पुष्टि हुन नसकेको’ भन्दै तामेलीमा थन्क्याइदियो । दशकअघि पनि थापाविरुद्धको उजुरीलाई अख्तियारले त्यसै गरेको थियो ।

थापाले सार्वजनिक खरिद ऐन उल्लंघन गरेको, नक्कली कम्पनी खडा गरेको, बिनास्वीकृत वैदेशिक सहयोग लिएको लगायतका गल्ती लेखा समितिसमक्ष स्विकारेका थिए । तर कसैले कारबाही गर्ने हिम्मत गरेनन् । राखेपको छानबिन समितिले पनि थापालाई कारबाही गर्नुपर्ने सिफारिस दशकअघि नै गरेको थियो । आफू राखेप उपाध्यक्ष छँदा उक्त प्रतिवेदन नै उनले गायब पारे । थापा विरोधी र असन्तुष्टलाई तह लगाउन तीन अस्त्र प्रयोग गर्थे । पहिलो, थर्काउने । दोस्रो, फकाउने । र, यी दुईले काम गरेन भने जरै उखेलेर फाल्ने । क्लब र जिल्लाहरूमा ‘फुटाऊ र राज गर’ को सूत्र प्रयोग गर्थे ।

एन्फामा भइरहेको अनियमितताबारे सहकर्मी कृष्ण ज्ञवाली र मैले थुप्रै स्टोरी गर्‍यौं । समाचार गलत भएको दाबी गर्दै थापा र एन्फा पदाधिकारीहरू कान्तिपुर कार्यालय धाइरहे । उनको दाबीमा जहिले पनि हामीलाई अर्को विषय मिल्थ्यो । ‘कान्तिपुर मात्र किन मेरो पछाडि लाग्छ ? अरूले नलेख्दा पनि भएकै छ,’ उनी भन्ने गर्थे । धम्कीहरू आए । आफन्तले पनि ज्यान जोगाउनु भन्थे । तर म जागिर खान राजधानी आएको थिइनँ, पत्रकारिता गर्ने धोको थियो/छ । त्यसैले अनुसन्धानमूलक पत्रकारितालाई निरन्तरता दिइरहें ।

देशभित्रसँगै बाहिर पनि उनीमाथि अनुसन्धान भइरहेको थियो । यसबीच उनी राप्रपा नेपालको कोटामा सांसद पनि बने । १८ कात्तिक ०७१ मा फिफाले थापालाई १२० दिन फुटबल गतिविधिबाट हटायो र चैतमा ९० दिन लम्ब्याइदियो । अन्तत: ३० कात्तिक ०७२ मा भ्रष्टाचार अभियोगमा उनलाई फिफाको इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक जरिवाना गर्ने निर्णय गर्‍यो । त्यसले नेपाली फुटबलमा ‘२१ वर्षको गणेश थापा युग’ अन्त्य गरिदियो ।

विशेष अदालतमा चलिरहेको फिक्सिङको मुद्दामा थापाको नाम पनि जोडिएको छ । घरेलु लिगमा एपीएफलाई रेलिगेसनबाट बचाउन गरिएको फिक्सिङमा थापा आफंै संलग्न भएको आरोप छ । उनको कार्यकालमा नेपालको नाममा फिफा वरीयतामा इतिहासकै सबभन्दा तल्लो वरीयता, सबभन्दा धेरै गोल खाएको लगायत थुप्रै कीर्तिमान बने । उनलाई प्रतिबन्ध लागेपछि नेपाली फुटबलमा स्वर्णिम युग सुरु भयो । नेपाली टिम बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र १२ औं दक्षिण एसियाली खेलकुदमा च्याम्पियन भयो । अहिले नरेन्द्र श्रेष्ठले एन्फाको नेतृत्व गरिरहेका छन् । अहिले पनि एन्फा थापाकै निर्देशनमा चल्छ । नेपाली टिम विदेशमा खेल्न जाँदा एन्फाले नेपाल खेलकुद पत्रकार मञ्चलाई पनि कोटा दिने गर्छ । ‘राजु घिसिङबाहेक जसलाई पठाए पनि हुन्छ,’ एन्फाको सर्त हुन्छ । त्यो सर्तलाई सात वर्षयता स्विकारिरहेका मञ्चका पदाधिकारीको निर्णयलाई सधैं सम्मान गर्दै आएको छु । एन्फाका त्यस्ता सर्तले मलाई मैदानको खेलसँग होइन, बाहिरको गतिविधिलाई नजिकबाट नियाल्न सहयोग गर्‍यो ।

घिसिङ कान्तिपुरका खेलकुद संवाददाता हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?