कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थापाथलीदेखि थापाथलीसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — २५औं वार्षिकोत्सव मनाइरहेको कान्तिपुर पब्लिकेसन्सको प्राविधिक एवं छपाइसम्बन्धी स्तरोन्नति समयसापेक्ष हुँदै आएको छ । सुरुको ब्ल्याक एन्ड ह्वाइट पत्रिकादेखि अहिलेको रंगीन पृष्ठहरूसम्म आइपुग्न यसले विभिन्न घुम्ती पार गरेको छ । 

थापाथलीदेखि थापाथलीसम्म

२०४९ फागुन ७ मा कान्तिपुर र द काठमान्डु पोस्टको पहिलो अंक निस्कँदा दुवै पत्रिकाका प्रथम पृष्ठमा रंगीन विज्ञापन थिए । कान्तिपुरसँग रंगीन छाप्ने प्रेस थिएन । त्यसैले जम्मा ८ पृष्ठको पत्रिकाका बाहिरका ४ पृष्ठ भने अर्कै प्रेसमा छापिएको थियो । प्राविधिक कठिनाइकै कारण बजारमा पत्रिका आउँदा निकै अबेला भएको थियो ।

पब्लिकेसन्सको कार्यालय थापाथलीमा भाडाको घरमा थियो । कान्तिपुरको श्रेया प्रिन्टिङ प्रेस त्यही कम्पाउन्डभित्र जस्ताको टहरामा थियो । ठूलो आवाज आउने प्रेसमा जब छाप्ने काम सुरु हुन्थ्यो, बसेर काम गर्नै अप्ठयारो पथ्र्यो ।

पत्रिका अहिलेको भन्दा ठूलो ४० सेमि चौडा र ५४.६ सेमि लामो थियो । पब्लिकेसन्समा डिजाइन गरिएका पृष्ठ प्रिन्ट गर्न ए–फोर साइजको प्रिन्टर मात्र थियो । चार टुक्रा प्रिन्टलाई प्रेसमा गाँसिन्थ्यो । त्यसलाई क्यामेराले खिचेर नेगेटिभ फिल्म बनाइन्थ्यो । फोटो र विज्ञापनको अलग्गै नेगेटिभ बनाएर त्यसमा टेपले टाँसिन्थ्यो ।

त्यसलाई प्लेट एक्स्पोजर मेसिनमा राखेर प्लेट तयार गरिन्थ्यो । र, वेब अफसेट मेसिनबाट छापिन्थ्यो ।

२०५४ पुस १७ गतेदेखि कान्तिपुरको पहिलो, दोस्रो, अन्तिमभन्दा अघिल्लो र अन्तिम पृष्ठ रंगीन छाप्न थालियो । त्यसका लागि पहिलाको रंगीन छापिने वेब अफसेट मेसिन थपियो जसको क्षमता घण्टाको ३० हजार प्रति छाप्ने थियो । सँगसँगै प्रेस थापाथलीबाट कोटेश्वर सारियो । तर, पृष्ठमा फोटो र विज्ञापनलाई बाहिरबाट स्क्यानिङ गरेर कलर सेपरेसन गरी ल्याएर मात्र रंगीन छाप्न सकिन्थ्यो ।

त्यसअघि २०५० वैशाख १२ देखि कान्तिपुरको पहिलो ४ पृष्ठको शनिबारीय विशेषांंक कोसेली समावेश गरियो । २०५६ वैशाख १ देखि कान्तिपुर ८ बाट बढाएर १२ पृष्ठ गराइयो ।

पब्लिकेसन्सको कार्यालय थापाथलीबाट शान्तिनगर सरेपछि आफ्नै स्क्यानिङ र कलर सेपरेसन मेसिन राखियो । अबचाहिँ बाहिरको भर पर्नु नपर्ने भयो ।

त्यसपछि सीटीएफ भनिने प्रविधिबाट कम्प्युटरबाट सोझै फिल्म निस्कने भयो । अनि, फोटो र विज्ञापनसहित डिजाइन गर्न सकिने भयो । टेपले टाँस्ने जमाना सकियो ।


धेरै समय लाग्ने र झन्झटिला प्रविधि क्रमश: विस्थापित हुँदै गए । प्रेस थपियो । २०५८ जेठ १९ देखि कान्तिपुरको पहिलो क्षेत्रीय प्रकाशन विराटनगरबाट सुरु गरियो । २०६१ असार १७ देखि कान्तिपुरको दोस्रो क्षेत्रीय प्रकाशन भरतपुरबाट गरियो । त्यो २०६१ माघ २० सम्म निरन्तर रहयो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिई इन्टरनेट अवरुद्ध गर्नुका साथै मिडियामाथि हस्तक्षेप बढाएपछि करिब २ वर्ष भरतपुरको संस्करण बन्द गर्न बाध्य हुनुपर्‍यो । २०६३ मंसिरबाट फेरि सुचारु भयो ।

२०६५ मा काठमाडौंस्थित प्रेसमा सीटीपी (कम्प्युटरबाट सोझै डिजिटल प्लेट निकाल्न मिल्ने प्रविधि) जडान गरियो । यसले समयको बचत गर्नुका साथै गुणस्तर पनि बढायो ।

२०६६ असार १५ देखि तेस्रो क्षेत्रीय संस्करण नेपालगन्जबाट सुरु गरियो । २०६७ भदौ १६ मा भरतपुरमा, त्यसको एक महिनापछि विराटनगरमा र २०७३ माघ १५ मा नेपालगन्जमा सीटीपी राखियो । सुरुमा ब्ल्याक एन्ड ह्वाइट हुँदै चार, आठ, सोह्र पृष्ठ रंगीन एकैसाथ छाप्ने प्रविधिमा गएको कान्तिपुरको प्रेस हाल २० पृष्ठ रंगीन र ८ पृष्ठ ब्ल्याक एन्ड ह्वाइट एकैसाथ छाप्न सक्ने क्षमतामा छ । प्रतिघण्टा ३६ हजार प्रति छाप्ने दुईवटा प्रेस मेसिन छन् ।

स्थापनाकालको ठूलो आकार अन्तर्राष्ट्रिय बजारको माग र पाठकमैत्री बनाउने क्रममा ३८ सेमि हुँदै ३५ सेमि चौडामा झारियो । यसको लम्बाइ भने ५४.६ सेमि कायम छ ।

‘शारब’ कान्तिपुरका चिफ डिजाइनर हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?