कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कान्तिपुर रजत यात्रा : ओडारबाट उद्धार

उमेरको बोझले जयपति चेपाङको हुलिया बदलिइसकेको थियो । शरीरको माथिल्लो भागमा काँती परेका लुगा झुन्डिएका थिए । कम्मरमुनि चार अंगुलको धरो थियो । ओडारजत्तिकै अजंगको देखिन्थ्यो उनको दु:ख ।
प्रताप विष्ट

काठमाडौँ — आँसु नुनिलो हुँदोरहेछ । जयपति चेपाङको अवस्था देखेपछि मात्रै मैले आँसुको स्वाद थाहा पाएँ । कतिखेर मेरो आँसु आँखाका डिल भत्काई गाला हुँदै मुखसम्म पुगेछ, थाहै पाइनँ !

कान्तिपुर रजत यात्रा : ओडारबाट उद्धार

मकवानपुरको भार्तास्थित सिलौतीको जंगलभित्र ओडारमा ९९ वर्षीय जयपतिलाई भेट्टाउँदा मलाई मानव जाति २१ औं शताब्दीमा आइपुगेको छ जस्तो लागेन । पूर्वपश्चिम राजमार्ग खण्डको मनहरी बजारबाट सिलौती जंगल त्यति धेरै टाढा थिएन । तर, त्यहाँ मानव जाति (चेपाङ) ले अझै ओडारमै जिन्दगी बिताएको देख्दा मैले आफूलाई सम्हाल्न निकै कठिन भयो ।

अजंगको कालो ओडारभित्र जयपति एक्ला थिए । ११ वर्षअघि श्रीमती पुतलीमायालाई झाडापखालाले लग्यो । आफू १४ वर्षको हुँदा उनले १२ वर्षकी पुतलीमायासँग विवाह गरेका थिए । दुई छोरा जन्मिएका थिए । अविवाहित जेठा छोरा सोमलाल १५ वर्षको उमेरमा चिउरी टिप्न लाग्दा रूखबाट खसेर बिते । कान्छा छोरा मंगल सिंहको १७ वर्षको उमेरमा ज्वरोले थलिएर मृत्यु भयो । सुत्केरी भएको तीन दिनसम्म साल नझर्दा ओडारमै बुहारीको ज्यान गयो । तीन दिनको नातिलाई जयपति र पुतलीमायाले चिउरीको रस खुवाएर बचाए । त्यसरी बचाएका १७ वर्षका नाति अगमसिंह मनहरी बजारको होटलमा भाँडा माझेर बसिरहेका छन् ।

आफ्नो बास अगाडि नचिनेका मानिसलाई एक्कासि देख्दा जयपति अलि आत्तिए । बल भएको भए भाग्थे होला । कोही नौलो व्यक्ति देख्दा धेरै चेपाङ भागेको मैले अनुभव गरिसकेको थिएँ । साथमा रहेका इन्द्र चेपाङले आफ्नै भाषामा भने, ‘हेटांैडाबाट आएका हाम्रै पत्रकार हुन् ।’

उमेरको बोझले जयपतिको हुलिया बदलिइसकेको थियो । शरीरको माथिल्लो भागमा काँती परेका लुगा झुन्डिएका थिए । कम्मरमुनि चार अंगुलको धरो थियो । ओडारजत्तिकै अजंगको देखिन्थ्यो उनको दु:ख । ओडारको कुनापट्टि ढुंगा गाडेको अगेनामा थोत्रो कराहीमा गिट्ठा उसिनिरहेका थिए । काँचा गिट्ठाहरूको बिस्कुन अर्को छेउमा थियो । थोत्रा लुगाहरू भित्ताको डोरीमा थिए । भुइँमा भोर्लाका पात ओछयाइएका थिए ।

जयपति चार हात टेकेर कुप्रिँदै अगेना नजिक पुगे । निभ्न लागेको भुङ्ग्रोलाई ठोकठाक गर्दै आगो बाले । थोरै नेपाली बुझ्ने र बोल्ने जयपतिले नागरिकता लिएको पनि केही दिन मात्र भएको थियो । छिमेकी गाउँ कालिकाटारको कटुन्जेमा घुम्ती शिविर पुग्दा स्थानीयवासीले उनलाई बोकेर पुर्‍याई नागरिकता दिलाइदिएका थिए । नागरिकता हात लागेपछि जीवनमा पहिलोपटक सरकारी भत्ता पाउने भएका थिए तैपनि उनले लिन मानेनन् । ‘राजा गरिब छ । मर्ने बेला ऋण लाग्छ,’ उनले भने ।

ओडारमै जन्मेर झन्डै एक शताब्दी बिताउने जयपतिका दु:खलाई शब्दमा उतार्न मुस्किल थियो । जसोतसो लेखेको उनको कथासहितको फोटो २०६९ चैत २९ गतेको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा छापियो, ‘हजुरबा एक्लै ओडारमा’ शीर्षकमा ।

मलाई सुख मिलेको दिन थियो यो । जयपतिलाई ९९ वर्षपछि घरमा लैजाने आशा पलायो । त्यो पूरै दिन विभिन्न व्यक्ति र संस्थाबाट सहयोग गर्न चाहनेका फोन उठाउनमै बित्यो । तत्कालीन प्रजिअ एकनारायण अर्यालले जनता आवास कार्यक्रमअन्तर्गतको घर बनाइदिने निर्णय गरे ।


त्यसको १० महिनापछि अर्थात् २०७० माघ १४ गते प्रजिअ अर्यालसहितको टोलीले जयपतिलाई सिलौतीस्थित ओडारबाट झिकेर नयाँ घरमा प्रवेश गरायो । त्यो दिन जयपतिका ओठमा देखिएको मुस्कान अझै मेरा आँखाअघि छ ।

‘दु:ख धेरै दिन टिक्छ, सुख टिक्दैन’ भन्छन् । हो रहेछ । घर सरेको १५ महिना नपुग्दै जयपतिको नयाँ घरलाई भूकम्पले भत्काइदियो । उनी फेरि त्यही ओडारमा फर्के । भत्केको घर दाताहरूबाट सहयोग लिएर पुनर्निर्माण भयो । उनलाई २०७२ जेठ ५ गते नै घरमा पुन:स्थापित गराइयो । परिवारका अन्य सदस्यजसरी उनले ओडारमा जीवन गुमाउनुपरेन । पुनर्निर्माण गरेको घरमै उनले २०७३ साउन १२ गते सांसारिक दु:खबाट बिदा लिए ।

***

प्रकृतिपूजक चेपाङ समुदाय खोलाको शिर र जंगलका बीचमा बस्छन् । राजधानीनजिक रहेका मकवानपुर, धादिङ र चितवनको दुर्गम क्षेत्रमा चेपाङहरूको बसोबास छ । जंगलमै फिरन्ते जीवन बिताउँछन् । मानिसले बनाएका घरमा भूत बस्छ भन्ने अन्धविश्वासले उनीहरूलाई गाँजेको छ । मैले २५ वर्षसम्म निरन्तर यो क्षेत्रमा रिपोर्टिङ गर्दा मकवानपुरमा ओडारमा बस्ने अन्तिम चेपाङ जयपति हुनुपर्छ । अहिलेचाहिँ सबैजसोले ओडार छाडिसकेका छन् । कान्तिपुरमा मैले रिपोर्टिङ सुरु गर्दा चेपाङको अवस्था अर्कै थियो ।

कान्तिपुरको कोसेलीमा २०५० असोज १६ गते ‘दर्दनाक जीवनबाट मुक्त भएका छैनन् चेपाङ जाति’ शीर्षकमा तीन तस्बिरसहितको लेख प्रकाशित भयो । सम्भवत: चेपाङ समुदायको उत्पत्ति, पहिचान र अवस्थाका बारेमा दैनिक छापामा प्रकाशित भएको यही पहिलो लेख थियो । यसले स्थानीयदेखि राष्ट्रियस्तरसम्म जनप्रतिनिधिहरूसहित आदिवासी जनजातिका अगुवाहरूको ध्यान खिच्यो ।

चेपाङहरू पहिले अरू समुदायका मानिससँग त्यति हेलमेल हुन चाहँदैनथे । कोही नयाँ मानिस देख्यो कि भाग्ने गर्थे । आफूलाई सभ्य भन्थे । आफ्नै संस्कृति र परम्परामा रमाउँथे । त्यति बेला मकवानपुरमा चार छात्र र एक छात्रा गरी चेपाङ समुदायका ५ जना मात्र एसएलसी उत्तीर्ण भएका थिए । बालविवाह व्याप्त थियो । अधिकांश बालबालिकाको ११ वर्षदेखि १५ वर्षसम्ममा विवाह भइसक्थ्यो ।

चेपाङहरूलाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन । जंगली कन्दमूल नै मुख्य खाद्यान्न हो । बालविवाहका कारण चेपाङ महिलाको आयु अत्यन्त कम छ । ४५/५० वर्षका चेपाङ महिला विरलै देख्न पाइन्छन् । चेपाङ समुदायका ७ बालबालिका हुन्छन् । ११/१२ सन्तान जन्माउने चेपाङ महिला अहिले पनि भेटिन्छन् । काँकडाको धिराङकी २८ वर्षीया सुन्तली चेपाङका ११ छोराछोरी छन् । परिवार नियोजनप्रति उनीहरूमा गहिरो भ्रम छ । परिवार नियोजन गर्‍यो भने काम गर्न सकिन्न र ढाड दुख्छ भन्ने भ्रमले उनीहरूलाई गाँजेको छ ।

२०४६ सालको परिवर्तनभन्दा अगाडि चेपाङलाई ‘प्रजा’ भनिन्थ्यो । २०३४ तिर मनहरीमा आयोजित चेपाङको भेलामा प्रमुख अतिथि रानी रत्नराज्यलक्ष्मी शाहले ‘तिमीहरू आजदेखि चेपाङ होइन, प्रजा हो’ भनेपछि थर प्रजा लेख्न थालिएको थियो । चेपाङ समुदायलाई मूलधारमा ल्याउन २०३५ देखि नै प्रजा विकास कार्यक्रम सुरु भयो । यसमा माग र आवश्यकता नहेरी माथिबाट कार्यक्रमहरू लाद्ने गरिन्थ्यो, जसले गर्दा उनीहरूको जीवनमा परिवर्तन आउन सकेन ।

चेपाङहरूको दूरवस्थालाई समयक्रममा कान्तिपुरले शृंखलाबद्ध रूपमा लेख्न थालेपछि राज्यका निकायमा ठूलो दबाब पर्न गयो । उनीहरूको जीवनमा परिवर्तन संकेतहरू बिस्तारै देखा परे । बाटाघाटा बने । सरकारी एवं गैरसरकारी सहयोगमा निर्वाहमुखी मौरीपालनलाई व्यावसायिक रूपमा बदलिइयो । काँकडाको धिराङजस्तो विकट गाउँमा ८ कक्षासम्म पढाउने स्कुल बन्यो । चेपाङ बालबालिकालाई स्कुलमा आकर्षित गर्ने उद्देश्यले दिवा खाजासहित छात्रावृत्ति एवं पोसाकको व्यवस्था गरियो । भर्ना भएर स्कुल छाड्ने दर धेरै भए पनि स्कुलमा अधिकांश चेपाङ बालबालिका भर्ना हुने बाटो खुल्यो । मकवानपुरका २ सयभन्दा बढी चेपाङहरूले एसएलसी गरिसके । २५ जनाभन्दा बढीले स्नातक तह उत्तीर्ण गरेका छन् । नेपाली सेनाको क्याप्टेन भइसके । समाचारकै कारणले ४५ जना अनाथ चेपाङ बालबालिकाको भविष्य उज्यालिएको छ । अनाथ चेपाङ कोही अस्ट्रेलिया पुगेका छन् । कोही काठमाडौंमा बीए अध्ययन गरिरहेका छन् । कोही जेटीए र अनमी भएका छन् । मोटर बाटो पुगेका बस्तीका चेपाङहरूले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका छन् ।

योसँगै उनीहरूको राजनीतिक पहुँच पनि बढ्दै गएको छ । २०६८ सालको संविधानसभा चुनावमा काँकडाका गोविन्द चेपाङ सभासद बन्न सफल भए । अहिले ३ नम्बर प्रदेशसभाका एक सदस्यमा काँकडाकै सन्तबहादुर चेपाङ निर्वाचित भएका छन् । दुइटा गाउँपालिकामा ७ जना चेपाङ वडाध्यक्ष बनेका छन् ।

समाचार लेख्नु ठूलो कुरा थिएन, कान्तिपुरको प्राथमिकतामा पर्नु र त्यसले प्रभाव पार्नु ठूलो कुरा थियो । यो विषयलाई पत्रिकाले प्राथमिकता दिन थालेपछि चेपाङसँग मेरो निकटता गहिरिँदै गयो । सक्रियता बढ्यो । विषयप्रति मनभित्रबाट अपनत्व हुुन थाल्यो । सामाजिक विषयका रूपमा चेपाङ एउटा मुख्य ‘बिट’ नै बन्दै गयो । कुनै नियोजित सोचका आधारमा यो सब गरिएको थिएन । चेपाङ समुदायको सोझोपनले मलाई आकर्षित गरेको थियो । पछिल्लो समयमा समाजका अगुवा, प्रशासक लगायतले आफूलाई ‘चेपाङ पत्रकार’ भनेर सम्बोधन र पुरस्कृत गर्दा ममा उनीहरूप्रति थप मोह जागिरहन्छ ।

***

चेपाङसँगै अर्को छुटाउनै नमिल्ने समुदाय वनकरिया पनि हो । मुलुकमा कान्तिपुर दैनिक थिएन भने चेपाङ समुदाय धेरैपछिसम्म गुमनाम अवस्थामै भइरहेको हुने थियो । अनि वनकरिया समुदाय पनि अहिलेसम्म हाँडीखोलाको चुरियाघाँचमा फिरन्ते जीवन बिताइरहेका हुने थिए होला । २०५५ मा चुरेघाँचमै पुगेर तस्बिरसहित वनकरिया समुदायको समाचार मैले कान्तिपुरमा पहिलोपटक प्रकाशित गरेपछि उनीहरूको अवस्था सार्वजनिक भयो । त्यही समाचारको प्रभावले वनकरिया समुदायमा ठूलो परिवर्तन देखा पर्‍यो । उनीहरू अहिले मनहरी गाउँपालिका ४ साविकको हाँडीखोला गाविसको मुसेधापमा बस्दै आएका छन् । सरकारले उनीहरूलाई २०६२ देखि नागरिकता दिन थालेको छ । त्यतिखेर नागरिकता वितरण गर्न तत्कालीन गृहमन्त्री कमल थापा आफंै गृह जिल्ला आइपुगेका थिए । मुलुकको मूलधारमा ल्याउने उद्देश्यले सरकारले सीमान्तकृत लोपोन्मुख वनकरियालाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । कान्तिपुरलाई वनकरिया समुदायले आफ्नो अभिभावक र भरोसाका रूपमा लिन्छन् । कान्तिपुरमा समाचार प्रकाशित भएका कारणले दुई वनकरिया छात्राहरू दाताहरूको सहयोगमा अनमी र जेटीए पढ्दै छन् ।

***

पत्रकारिताको सुरुवाती चरणमा विषय उठाउन कठिन थियो, सञ्चार गृहसम्म पठाउन निकै चुनौतीपूर्ण थियो । कठिन छ भनेर विषय उठाउन छोडिनँ । ‘हार्डन्युज’ बजारबाट टेलिफोन गरेर टिपाइन्थ्यो । टेलिफोन चार्ज मिनेटको १० रुपैयाँ तिर्नुपथ्र्यो । त्यति बेला हेटौंडा बजारमा फ्याक्सको सुविधा थिएन । समाचार कुरियरमार्फत पठाउनुपथ्र्यो । रिल काटेर फोटो धुलाउनुपथ्र्यो । पठाएको तीन दिनपछि समाचार प्रकाशित हुँदा यस क्षेत्रका पाठक र सरोकारवालाहरू खुसी हुन्थे । आफूमा उत्साह पैदा हुन्थ्यो । त्यति बेलासम्म हेटौंडामा एउटा पनि दैनिक पत्रिका थिएन । साताका तीन दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार फोटासहितका समाचार लेखेर कुरियरमार्फत कान्तिपुरमा पठाउने गर्थें । कान्तिपुरमा हेटौंडा डेटलाइनको समाचार सायदै कुनै दिन छुट्थ्यो । अहिले पनि छुट्दैन । एकै दिनमा १३ वटासम्म समाचार प्रकाशित भएका थिए । समाचार प्रकाशित भएपछि फेरि समाचारको खोजीमा जुट्न ऊर्जा मिल्थ्यो ।

२०४९ फागुन १३ गते आफूले लेखेका दुइटा समाचार कान्तिपुरमा प्रकाशित भएपछि सुरु भएको मेरो समाचार यात्रा अझै जारी छ । यस अवधिको कामले सकारात्मक र परोपकारी पत्रकारिताले समाजलाई बदल्न सक्छ भन्ने दृष्टान्त र विश्वास दिएको छ । पत्रकारिता सक्रियताको पर्याय हो । पत्रकारितामा थकाइ भन्ने पदावली हुँदैन । मेरै २५ वर्षको अनुभवले भन्छ, ‘पत्रकार कहिल्यै बूढो हुँदैन ।’

बिष्ट कान्तिपुर प्रदेश ३ ब्युरोका संयोजक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?