कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर रजत यात्रा : खाडी रोजाइ

देवेन्द्र भट्टराई

काठमाडौँ — एउटा पत्रकारका रूपमा कतार उत्रिएपछि मात्रै, धेरै कुरा गुम्सिएर रहेको अवस्थामा र पोखिएर बहन नपाएको यथास्थितिमा शब्दकोशमा पनि ‘खाडी’ शब्दको प्रयोग भएको हो कि झैं मैले ठानें । कान्तिपुर कतार संस्करणले यही कुराको सबैभन्दा बढी ‘उत्खनन’ गर्‍यो । 

कान्तिपुर रजत यात्रा : खाडी रोजाइ

सन् २००७ को दसैंलगत्तै कान्तिपुर पब्लिकेसन्सको एउटा निर्णय आयो— कान्तिपुरको कतार संस्करण निक्लने ।


सुरुमा साप्ताहिक रूपमा कतार संस्करण आउने र यसको साइज २४ पेजमा ‘टेब्लोइड’ रहने भनियो । कतार हुँदै मध्यपूर्वी मुलुकहरूमा पत्रिका वितरण हुने तथा ६०/४० को हिसाबमा (अरब मुलुक र नेपाल) समाचार अनुपात रहनेसहितका थुप्रै निर्णय भए । उक्त निर्णयअघि तत्कालीन सम्पादक नारायण वाग्लेले कतार भ्रमण गरेर र सबै वस्तुस्थिति पहिल्याएर फर्केका थिए ।

‘ल को जाने कतार ?’ एक दिन यत्तिकै अनौपचारिक टेबल–गफमा सम्पादक वाग्लेको प्रश्न यताउता तरंगित बन्यो ।


प्राथमिक तहको विद्यार्थीले झैं हत्तपत्त हात उठाएर र धेरै कुरै नबुझी मैले जवाफ दिएँ, ‘म जाने... ।’

***


अनि सोधीखोजी सुरु भयो कतारको । कतार जाने नेपालीको लाइन र रेमिटयान्सको सूचकांकबारे खोजीमेली सुरु भयो । त्यसभन्दा बढी नेपालका भित्री गाउँ–ठाउँबाट ‘खाडी जाने’ भन्दै हिँडेका नेपाली युवा–युवतीको संख्या कतारमा मात्रै ३ लाख पुगिसकेको रहेछ भन्ने त्यसबेला मात्रै थाहा भयो । कतार खोज हुनुभन्दा पहिला सन् २००४ सेप्टेम्बरमा इराक–काण्डमा मारिएका १२ नेपालीका कारण खाडी र मध्यपूर्वको सरोकार नेपाली पत्रकारमाझ अलि बढी आएको थियो । इराक–काण्डको रिपोर्टिङ गर्ने क्रममा इराक मामलालाई कतारले हेर्ने भनिएकाले त्यो भूगोलबारे मैले पनि थोरै जानकारी राखेको थिएँ । तर, कान्तिपुरको कतार संस्करणको निर्णयपछि र कतार ब्युरो सम्हाल्न २००७ को नोभेम्बरमा दोहा टेकेपछि मात्रै ‘कार्पेटमुनि छोपिएका धेरै कुरा’ बाहिर आए, एउटा पत्रकारकै दृष्टिमा समेत ।


२००८ को जनवरी २५ मा दोहाबाट कान्तिपुरको पहिलो अंक प्रकाशित हुँदा ‘कान्तिपुर अरबमा’ शीर्षकमा सम्पादकीय लेखिएको थियो— ‘कान्तिपुरको नयाँ जिम्मेवारीको क्षेत्र नेपालबाहिरका नेपाली हुन् । नेपालबाहिर विशेषगरी कामको खोजीमा अरब क्षेत्रमा पुगेका लाखौंलाख नेपालीको सेवा कान्तिपुरले आफ्नो कर्तव्य ठानेको छ ।’ त्यही अंकको आवरण पृष्ठमा शीर्षक थियो, ‘खुल्यो सुरक्षा ढोका ।’ कतारमा कार्यरत कामदारको सेवा–सुरक्षाको जिम्मेवारीलाई लिएर नेपाली श्रममन्त्री रमेश लेखक र कतारी समकक्षी डा.सुल्तान विन हसन अल–धावित अल डोसारीबीच दोहामा जनवरी २० मा द्विपक्षीय हस्ताक्षर सम्पन्न भएपछि यो शीर्षक रोजिएको थियो— खुल्यो सुरक्षा ढोका । यो ढोकाका प्रमुख आधारहरू थिए :

िकामदारको स्वीकृतिबिना कम्पनीले हटाउन नसक्ने,

िहटाउन चाहे करारअनुसार सेवासुविधा दिनैपर्ने,

िकामदार सम्झौता कार्यान्वयन अनुगमनमा दुईदेशीय समिति बन्ने आदि ।


कान्तिपुर कतार संस्करण निस्कने क्रमसँगै पब्लिकेसन्सले आफ्नो प्रतिबद्धतामा भनेझैं ‘जिम्मेवारी र सेवा’ का आयामहरू खोज्न थाल्यो । कहाँ सजिलो रहेछ र खाडीको श्रम ? सहानियाको मरुभूमिमा ३९ वर्षीय धनबहादुर लामा भेटिए जो खाडीमा ‘पैसा टिप्ने’ भन्दै आएका रहेछन् तर दुई दर्जनभन्दा बढी ऊँटको रेखदेख गर्ने, घाँसपात ख्वाउने, दूध दुहुने आदि काम गर्नुपर्दाको विचित्रको श्रम–रोजगारीमा लामा फँसेका रहेछन् । महिनाको ५ सय रियाल सुक्खा कमाइ र त्यसमा पनि भिसाविहीन, कागजातविहीन भएको अवस्थामा अलपत्र कामदारको रूपमा उनी भेटिए ।


संखुवासभा, खाँदबारीका २२ वर्षे अमृत राईसँग पनि सपनाको खात रहेछ जो पहिले केही वर्ष माओवादी लडाकु भएर एके–४७ सम्म चलाउने क्षमतावान बनेका रहेछन् । तर लडाकु बनेर वा बन्दुक चलाएर जीवन गुजारा नहुने रहेछ, उनी कार्वा कम्पनीको क्याटरिङमा ‘सोवर्मा’ खानेकुरा बनाउने सेफ उत्रिएका रहेछन् । समाल मरुभूमिमा दाङका ५५ वर्षे वीरबहादुर बुढा भेटिए जो १५ वर्षदेखि त्यही मरुभूमिमा रहेछन्— ऊँट र भेडाको बथानमाझ । जमेलियामा गोरखाका रामप्रसाद पनेरू मजरामा मुला र रायो रोपिरहेका भेटिए, समालमा लमजुङका समबहादुर विश्वकर्मा ‘न एसी सुविधा, न चिसो पानी’ को छटपटीमाझ भेडाबाख्रा सुम्सुम्याइरहेका थिए । दोहाकै नेसनल गल्लीभित्र गोजीगोजीमा ‘आजाद’ भिसा लिएर बसिरहेका दलालहरू कति भेटिए–भेटिए । अन्तत: त्यो गल्लीकै नाम ‘दलाल गल्ली’ बनेको थियो । कतार यात्राको केही सातामै, खाडीमा कमाइ गरेर घर फिरिरहेका छोराछोरी सधैं ठूलो सुटकेसमा भरिभरि सामान लिएर घर फिरिरहेको दृष्य आफैंमा ‘बदलिने’ स्थितिमा भेटियो । त्यो सुटकेसभित्रको दु:ख र हैरानीको पोको बल्ल बिस्तारै खुल्न थालेको थियो ।


कान्तिपुर कतारकै कारण कुबेतमा थुनामा रहेकी डोल्मा शेर्पाको कुरा उठयो । कतारमा थुनिएका चन्द्रशेखरको चर्चा छायो । ओमानमा ७ वर्षदेखि बन्धक रहेकी लुसाङ तामाङदेखि इराकमा वर्षौंवर्ष जेलभित्र रहेका नेपालीहरूको सूचना काठमाडौं केन्द्रसम्म आइपुग्यो । सूचना मात्रै होइन, उद्धार–समन्वय र न्याय दिलाउने अभिप्रायका दर्जनौं मामलामा कान्तिपुर कतार संस्करण ‘सहयोगी’ बन्यो, सधैंसधैं एउटा माध्यम बनिरहयो ।


एउटा पत्रकारका रूपमा कतार उत्रिएपछि मात्रै, धेरै कुरा गुम्सिएर रहेको अवस्थामा र पोखिएर बहन नपाएको यथास्थितिमा शब्दकोशमा पनि ‘खाडी’ शब्दको प्रयोग भएको हो कि झैं मैले ठानें । कान्तिपुर कतार संस्करणले यही कुराको सबैभन्दा बढी ‘उत्खनन’ गर्‍यो । कतारका लागि तत्कालीन राजदूत डा.सूर्यनाथ मिश्रको ‘लेबर–फ्रेन्ड्ली’ कार्यशैली र कामकारबाहीले धेरै अर्थमा कान्तिपुरको खाडी–मिसन प्रभावकारी बन्यो । नेपाली कामदारलाई अलपत्र बनाउने र तोकिएको सेवासर्त पूरा नगर्नेमा कुनै अरबी वा बाहिरी मुलुकका नागरिकले होइन, बरु नेपाली स्वयम्ले प्रताडना दिने काम गरिरहेका छन् भनेर आवाज उठाउँदा पहिलो पटक बारुलाको गोलोमा ढुंगा हानेजस्तो भएको थियो । यथार्थमा मानवतस्करी र दलालीको काम गरिरहेका नेपालीको ‘आवरण’ भने भिन्न थियो, त्यसलाई उघार्ने अभियन्ता बनेर कान्तिपुर कतार संस्करणले थुप्रै पटक बाधा–अड्चन पनि बेहोरेको थियो ।


समयको अन्तरमा पाठकको चाहना र समयानुकूल हेरफेरअनुसार टेब्लोइड आकारको पत्रिका ‘ब्रोडसिट’ मा बद्लिएको थियो । कतार संस्करणको सुरुआतमा मलाई जिम्मेवारी दिएको अवस्था विषयवस्तु र स्रोतका हिसाबमा एक पत्रकारका निम्ति त्यो दुनिया आफैंमा ‘भर्जिन लेन्ड’ थियो । नेपाली कामदारका सपना र विपनाबीचको अन्तर पहिल्याएर नेपाली समाजमा ‘यथार्थ चित्र’ ल्याउने यत्न भयो । यसमा पछि श्यामसुन्दर शशि, दिनेश रेग्मी र होम कार्कीले निरन्तरता दिए । खाडी मुलुकमा र विशेषत: कामदारको प्रमुख गन्तव्य केन्द्र कतारमा विशुद्ध पत्रकारिता मात्रैको अर्थ थिएन र अझै छैन । त्यहाँ ‘मिसन’ आधारित पत्रकारिता र समाजसँग पूरै जोडिएर सेवक रूपमा कलम चलाउनुपर्ने अवस्था थियो । कसलाई उद्धार गर्ने, कसलाई हवाई टिकट खोजिदिने, दूतावासको सेल्टरमा कसलाई पुर्‍याउन पहल गर्ने अथवा सेल्टरमा बसेकालाई ‘खबुज’ के–कसरी उपलब्ध गराउने आदिआदि ।

***


सुरुमा भनिएजस्तो कान्तिपुरको कतार संस्करण दोहामा मात्रै सीमित रहेन, बिक्रीवितरण आधारमा खाडी मुलुकका संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेतसम्म फैलिएको थियो । खाडी रेमिटयान्स आफैंमा अर्थतन्त्रको एउटा प्रमुख हिस्सा रहेकै भए पनि झन्डै २० लाख नेपाली बस्ने भूभागको आवाज नेपाली समाजमा भित्रैसम्म छिराउने कोसिस जारी रहयो ।


नेपाल राष्ट्र बैंकको हिसाबअनुसार, सन् २०१४/१५ मा औपचारिक माध्यमबाट करिब ५९० खर्व रुपैयाँ रेमिटयान्स स्रोतबाट नेपाल भित्रिएको थियो । यो रकम त्यो आर्थिक वर्षको वार्षिक बजेटबराबर झन्डै थियो । यो देशको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत बराबर हो जसले नेपाललाई कुल गार्हस्थ्य उत्पादनतर्फको योगदानमा हिसाबमा विश्वमा तेस्रो र दक्षिण एसियामा पहिलो बनाउँछ । विज्ञ बुझाइमा— विप्रेषणहरू स्थिरजस्तो देखिने भएकाले यिनीहरू प्राय: वैदेशिक विनिमय आम्दानी स्रोतको सन्तुलित चक्रमा पर्छन् र यसले भुक्तानी बचतलाई स्थिर राख्न मद्दत पुर्‍याउँछ ।


रेमिटयान्स भनेर र सजिलो आम्दानी ठानेर राज्यले मुख मिठयाइरहेका बेला यसका सकारात्मक र नकारात्मक दुवै पाटोबारे आम रूपमा ‘सरोकार’ रहन्छ नै । रेमिटयान्सकै कारण नेपाली गाउँघरको कतिपय अवस्था सुध्रिएको पक्कै छ, खरका छानाहरू टिन वा सिमेन्टमा रूपान्तरित भएकै छन् । तर, यसले समाजमा ल्याइरहेको विचलन र पारिवारिक विच्छिृङ्खलता (बेमेल) बारे पनि आवाज बाहिर आउनुपथ्र्यो, कान्तिपुरले त्यो दुवै पाटोलाई उधिन्ने काम एकैसाथ गर्‍यो । गलत बाटो, उपाय र माध्यम अपनाएर कुनै सीप वा भाषा नसिकी विदेश जानु हुन्न भन्ने सचेतनाको मन्त्र पनि कान्तिपुर कतार संस्करणले आम जनसाधारणमाझ सुनाएकै हो ।


यही रफ्तारमा र ‘मिसन’ पत्रकारिताको अभीष्टमा जुटिरहँदा समयान्तरमा कामदारसहित आम पाठकको सचेतना तथा पहुँचको स्तर विस्तारित हुँदै गएको अवस्था स्वाभाविक थियो । सन् २००८ को सुरुआतमा गाउँघरबाट आफन्तले पठाएको हाते चिठीपत्र बोकेर बिस्मिल्ला पार्क वा जोयदा टावरमा टहलिने आफन्त–कामदारहरूको हूल देखिन्थ्यो, भेटिन्थ्यो । समयको हेराफेरीमा मोबाइलको सहज पहुँचले फेसबुक, ट्वीटर, ह्वाट्स्एप, भाइबर मात्रै दिएन–सूचना, सम्पर्कको अपनत्व उपाय र माध्यम नै अर्कै बनाइदियो । अबको समय दिन, घण्टा वा मिनेटमा होइन–सेकेन्डमा चल्नेजस्तो ‘छोटोमीठो’ बनिसकेको छ । नेपालमा भएका अथवा आफ्ना गाउँघरका सूचना र समाचारलाई तत्कालै अनलाइन सेवाबाट वा झन्डै नि:शुल्कजस्तो सूचना–प्रविधिको पद्धतिबाट तत्कालै लिइरहेका पाठक/उपभोक्ता र सेवाग्राहीका निम्ति कान्तिपुरले पनि यही बदलिँदो समयको बदलिँदो स्वादलाई आत्मसात् गर्न चाहयो ।


कतारसहित खाडी मुलुकमा रहेका नेपालीका निम्ति कान्तिपुरको अनलाइन समाचार सेवा, सूचना र सकेसम्मको सूचना–पहुँच प्रबन्ध यथावत् राख्दै २९ जुलाई, २०१६ बाट कतारको प्रिन्ट संस्करण (पत्रिका) भने बन्द गरियो । तैपनि आप्रवासन मामला, श्रमिक हकहितका मुद्दा र सरोकारलाई खाडी धरातलदेखि नीति नियम तर्जुमाको विन्दुसम्म उठाउने अर्थमा कान्तिपुरको खाडी संस्करण र त्यसले जोडेको खाडी–सम्बन्ध अटुट छ, अविच्छिन्न छ ।

भट्टराई कान्तिपुरका सहायक सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?