कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शंकास्पद व्यक्तिलाई ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’को उपाधि !

भिषा काफ्ले

काठमाडौँ — सरकारको नजरमा देशका सबै नागरिक समाजका व्यक्तिको स्तर एउटै श्रेणी हुनुपर्ने हो । पूर्ववर्ती शेरबहादुर देउवा सरकारका स्वास्थ्य मन्त्री दिपक बोहोराले भने एक जनालाई मन्त्रीस्तरिय निर्णयबाट मुलुकमै पहिलो पटक 'अचम्मको उपाधी' दिएका छन् । उनले राणाकालिन हुकुम प्रमांगीको झल्को दिने गरी ललितपुर महानगरपालिका वडा नं. १५ का जगदीश बैद्यलाई ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’ उपाधी दिएका छन् । 

शंकास्पद व्यक्तिलाई ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’को उपाधि !

गृह मन्त्रालयले ३ पुष २०७४ मा वैद्यलाई आजीवन बरिष्ठ समाजसेवी भन्दै विभिन्न निकायमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रमहरुमा विशिष्ठ पाहुनाको रुपमा स्वागत र निजी कार्यक्रममा समेत सहभागिता हुने विशिष्ठ सुचीमा राख्न परिपत्र गरेको थियो । गृह मन्त्रालयले काठमाडौं र ललितपुर महानगरलाई बोधार्थ लेखि वैद्यलाई पत्र पठाएको छ ।


अचम्म लाग्ने कुरा त के छ भने गृहबाट आएको परिपत्रका आधारमा पुन: पुर्वस्वास्थ्य मन्त्री बोहोराले मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालय माताहतका सबै विभाग, निकाय, परिषद्हरु र काठमाडौंका नाम चलेका ठूला निजी अस्पतालमा पनि सबै कार्यक्रममा अनिवार्य निमन्त्रणा गर्नको लागि निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले वैद्यलाई कार्यक्रमहरुमा नछुटाउनु भनि भनिएका निजी अस्पतालहरुमा मेडिसिटी अस्पताल नख्खु, अल्का अस्पताल जावलाखेल, ग्राण्डी अस्पताल धापासी, वीएण्डवी अस्पताल ग्वार्को, नेपाल अर्थोपेडीक अस्पताल जोरपाटी, नेपाल ल्याप्रोसी अस्पताल टिकाभैरव रहेका छन् । त्यसैगरी भक्तपुर अस्पताल, गणेशमान मेमोरीयल अस्पताल महालक्ष्मीस्थान, नेपाल रेडक्रस सोसाइटी, मनमोहन मेमोरीयल अस्पताल, काठमाडौ मोडेल अस्पताल प्रदर्शनीमार्ग, नर्भिक अस्पताल थापाथली पनि रहेका छन् ।

वैद्यलाई विजय गच्छदार उपप्रधान तथा गृहमन्त्री भएको बेला २२ मंसिर २०६८ मा मन्त्री स्तरीय निर्णय गरी सोही मितिदेखि लागु हुनेगरी आजीवन नेपाल सरकारको सम्पुर्ण निकायमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रममा विशिष्ठ पाहुनाको स्वागत र निजी कार्यक्रममा समेत सहभागी हुन विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरी रेकर्ड राखी निमन्त्रणा पठाउने निर्णय गरेको थियो ।


निर्णय सहित पुन: आमन्त्रितको सूचीमा राख्न ३ मंसिर २०७४ मा निवेदन दिएपछि त्यसैलाई आधार मानेर पुन: रेकर्ड राखी जानकारी गराउन परिपत्र गरिएको गृह मन्त्रालयका आन्तरिक व्यवस्था शाखाका उपसचिव भरत कुमार शर्माले बताए । ‘उनले पहिलेको निर्णयलाई लिएर पुन: पत्रचार गरिदिन निवेदन दिनुभएको थियो’ शर्माले कान्तिपुरसंग भने, ‘हामीले नयाँ निर्णय गरेको हैन पुरानै निर्णयलाई आधार मानेर पुन: जानकारी गराएका हौं ।’ यसअघि सरकारले यस्तो निमन्त्रणाको लागि कसैको पनि रेकर्डमा राखेको थाहा नभएको उनले बताए । गृहले वरिष्ठ समाजसेवी भनेर पत्र दिएका वैद भने गृह मन्त्रालयले सबै मन्त्रालयहरुलाई परिपत्र गरिदिएको बताउँछन् ।


महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता तथा सहसचिव तोयम राय भने राज्यले कुनै पनि व्यक्तिलाई पद दिएर ठूलो सानो भन्न नमिल्ने बताउँछन् । उनले समाज सेवाको विषय गृह र स्वास्थ्य मन्त्रलयको भन्दा पनि समाज कल्याणको क्षेत्रमा पर्ने बताए । 'सामाजिक क्षेत्रमा कुन व्यक्तिले कुन संस्थाले काम गरेको हुन्छ त्यो हाम्रो संस्थाले जानकारी राख्ने कुरा हो’ उनी भन्छन्, ‘यस्ता सरोकारै नभएका विषयमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयल वर्गीकरण गर्ने हो भने चोर अपराधीको वर्गीकरण महिला बालवालिका र समाज कल्याणले गर्नुपर्ने भयो नी ?’

यसरी बने बैद्य वरिष्ठ श्रेणीको राष्ट्रिय समाजसेवी

गृह मन्त्रालयले वैद्यलाई सम्बोधन गरी काठमाडौं र ललितपुर महानगरलाई बोधार्थ गरी पठाइएको पत्रमा ललितपुर महानगरपालिका वडा नं. १५ तल्छिखेल निवासी 'बिशिष्ठ समाजसेवी' जगदीश बैद्य भनिएको छ । त्यही पत्रमा टेकेर स्वास्थ्य मन्त्रालयले गरेको निर्णयमा बैद्यलाई ‘विशिष्ठ श्रेणीको राष्ट्रिय समाजसेवी’नामक उपाधी थपिदिएको छ । पुर्व स्वास्थ्य मन्त्री दिपक बोहोराले २९ माघमा मन्त्री स्तरीय निर्णय गरेर वैद्यलई सो उपाधी थपिदिएका हुन् । ‘हामीले उहाँलाई कार्यक्रममा नछुटाउनु भनेर दुईवटा महानगरलाई मात्र बोधार्थ दिएका थियौं ।’ उपसचिव शर्माले भने ‘कसरी स्वास्थ्यले हाम्रो पत्रका आधारमा उपाधी थपेर माताहतमा परिपत्र गर्‍यो थाहा भएन ।’

को हुन जगदीस बैद्य ?

ललितपुर महानगरपालिका वडा नं. १५ तल्छिखेल निवासी जगदीस बैद्य आफु आधा दर्जन भन्दा बढी संघसंस्थामा रहेर समाजसेवामा सक्रिय रहेको बताउँछन् । केही दिनदेखि तिर्थयात्राको क्रममा भारत मध्यप्रदेशको उज्जेनमा रहेका बैद्यले अनलाइन कुराकानीमा आफु पशुपति अन्नपुर्ण अश्रमको अध्यक्षको जिम्मेवारीमा रहेको बताए । त्यसबाहेक विभिन्न संस्थाहरुमा पनि आफुले संलग्न भएर समाज सेवा गरिरहेको उनको दावी छ । विगतमा कलेज पढाउने गरेको तर हाल बुढो भएर सामाजिक क्षेत्रमा मात्र सक्रिय हेको उनको भनाई छ । कुराकानीका क्रममा उनले ल्याव तथा टेक्निकल कलेजको फाउण्डरसमेत रहेको बताए । तर कुन कलेजको फाउण्डर भनेर खुलाउन चाहेनन् ।


पुर्व स्वास्थ्य मन्त्री दिपक बोहोरालाई नजिकबाट चिनेको बताउने बैद्य पन्चायतकालदेखि नै समाजसेवामा सक्रिय रहेको बताउँछन् । ‘म पहिलेदेखि नै समाजसेवामा सक्रिय रहेको थिएँ ।’ उनले कान्तिपुरसंग भने, ‘बल्ल मलाई सरकारले परिचय दिएको छ, त्यसमा खुशी छु ।’ उनले यो सरकारको परिपत्र पछि अझै समाजसेवा गर्न उत्साह थपेको बताए ।

गृह मन्त्रालयमा आफुलाई सरकारका सवै कार्यक्रम समारोहमा आमन्त्रितको सूचीमा समावेश गर्नको लागि दिएको निवेदनमा उनले आफु २०५० देखि निरन्तर समाज सेवामा रहेको बताएका छन् । पशुपतिमा रहेको अन्नपुर्ण आश्रममा आवद्ध रहेको उनले पेश गरेका कागजातमा उल्लेख छ । तर गृह मन्त्रालयमा दिएको निवेदनमा भने हाल ललितपुर महानगरपालिकाको प्रमुख सल्लाहकार रहेको उल्लेख गरेका छन् ।


ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने महानगरमा कोही पनि प्रमुख सल्लाहकार नभएको बताए । ‘ललितपुर महानगरपालिकामा अहिलेको जननिर्वाचित समिति आएपछि कसैलाई पनि प्रमुख सल्लाहकार भनेर निर्णय भएको छैन,’ उनले भने । त्यसो त बैद्य अध्यक्ष भएको भनिएको अन्नपुर्ण आश्रमले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा आफ्नो संस्थाले देशभर विभिन्न किसिमको सहयोग वितरण गर्ने भन्दै ७७ बटै जिल्लामा सुरक्षाको लागि प्रवन्ध मिलाइदिन आग्रह गरेको थियो । सो संस्थाको आग्रह अनुसार प्रधानमन्त्री कार्यलयले गृह मन्त्रालयलाई २६ पुष २०७४ मा सुरक्षा प्रवन्ध गर्न आदेश दिएको थियो । सो आदेश अनुसार गृह मन्त्रालयले ५ माघ २०७४ मा सवै जिल्ला प्रशासन कार्यलयलाई पत्र काटी आवश्यक सुरक्षा एवं समन्वय गर्न पत्राचार गरेको थियो ।


आफुलाई समाजसेवी बताउने बैद्यको पृष्ठभूमी के हो भन्ने कुरा गृह र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई थाहा छैन । सिधै मन्त्रीस्तरीय निर्णय गराउन क्षमता राख्ने बैद्यले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर यस्तो निर्णय गराएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । ‘कुन अभिस्ट र के प्रयोजनको लागि यो निर्णय भयो हामी नै छक्क छौं’ ति अधिकारी भन्छन्, 'सिधै मन्त्रीस्तरीय निर्णय भएर आएको छ, केही चलखेल नभइ त पक्कै हैन भन्ने लाग्छ ।’ उनी वरिष्ठ समाजसेवीसम्म मानेर सरकारी निकायमा मन्त्रीले निर्देशन दिन सक्ने तर निजी अस्पतालहरुलाई समेत अनिवार्य गराउन निर्णय गर्नु अचम्म भएको बताउँछन् ।

बैद्य अहिलेमात्र नभएर पन्चायतकाल देखिनै पटक पटक चर्चामा आउन रुचाउने व्यक्ति हुन् । उनका नजिकका नातेदारका अनुसार पञ्चायतकालमा उनलाई राष्ट्रिय पञ्चायत सदस्य भएको काड छापेर बाँडेको आरोप लागेको थियो । बहुदल आएपछि नामको अगाडी डाक्टर लेखेको पनि आरोप लागेको थियो भने अहिले गृह मन्त्रालयलगायत अन्य मन्त्रालयबाट विभिन्न किसिमका परिपत्र गराएपछि पुन चर्चामा आएका छन् । उनको विषयमा आएका टिकाटिप्पणीहरुबारेमा सोध्दा उनले अहिले केही नबोल्ने नेपाल आएर नै त्यस विषयमा कुराकानी गर्ने बताए ।


अन्नपुर्ण आश्रमका संरक्षणक समेत रहेका नरोत्तम बैद्यले उनको विषयमा विगतदेखि नै बाहिर टिकाटीप्पणी हुने गरेपनि उनमा समाजको लागि केही गरौं भन्ने भावना रहेको बताए । ‘उहाँका बारेमा पन्चायतकालदेखि अहिलेसम्म विभिन्न निकायले दिएको पत्रको विषयमा टिकाटिप्पणी नभएका हैनन’ उनले भने, ‘सबै मान्छे सर्वगुणसम्पन्न हुन्नन् । तर, उहाँमा केही गरौं भन्ने भावना छ ।’


प्रकाशित : फाल्गुन २३, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?