कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारी दिवस विशेष: महिला सशक्तीकरणका लागि फिल्म

सुनीता साखकर्मी

काठमाडौँ — उनीहरूलाई सर्कस ‘जादूको संसार’ जस्तै लाग्थ्यो । पहिलोपटक भारतको सर्कस पुगेर झिलीमिली लुगामा सजिएका आफूभन्दा ठूला दिदीहरूलाई देखेपछि मान्छे हुन् कि पुतली भनेर अल्मलिए पनि ।

नारी दिवस विशेष: महिला सशक्तीकरणका लागि फिल्म

पछि उनीहरूले पनि त्यस्तै लुगा लगाउन पर्‍यो र जादूजस्तै लाग्ने स्टन्ट आफैंले गर्नुपर्‍यो । भित्री अंग देखिने लुगा लगाएर सर्कसमा स्टन्ट गर्न मन नलागे पनि पिटाइ खाने डरले मालिकले जेजे अह्रायो सबै गर्थे ।


यो कथा हो, परिवारले सानै उमेरमा भारतको सर्कसमा बेचेका शीतल र सरस्वतीको । उनीहरूको जीवनमाथि बनाइएको ‘इभन ह्वेन आई फल’ डकुमेन्ट्री फिल्म प्रदर्शन गर्दै बुधबार राजधानीमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले घुम्टो खोल्यो । यस वर्षको फेस्टिभलको थिम ‘महिला सशक्तीकरण’ भएकोले यही डकुमेन्ट्री पहिलो रोजाइमा राखिएको मानव अधिकार फिल्म सेन्टरका अध्यक्ष चिरञ्जीवी कर्णविहारीले जनाए ।


न पढाइ थियो, न त राम्रो कमाइ हुने जागिर नै । डकुमेन्ट्री सर्कसबाट उद्धार गरेपछि नेपाल आइसकेपछि उनीहरूले बाँच्न र सर्कसबारे मानिसमा भएको नकारात्मक धारणा मेटाउन गरेको संघर्ष छ । उनीहरूले आफूले सानैदेखि सिकेको कलालाई नै आफ्नो हतियार बनाए । र, नेपालमै पहिलो ‘सर्कस काठमाडौं’ पनि खोले । यही संस्थामार्फत उनीहरू देश र विदेशमा आफ्नो कला देखाउँछन् ।


‘पहिले हामी बाध्यतामा गथ्र्याैं, फ्रिडम थिएन, एउटै पर्खालभित्र बाँधिनुपर्थ्यो । नगरे संवेदनशील ठाउँमा पिट्थे,’ शीतल र सरस्वतीले डकुमेन्ट्रीमा भन्छन्, ‘अहिले हाम्रो सर्कस भारतको भन्दा फरक छ । अहिले पनि नेपालमा सर्कस गर्नु नराम्रो मानिन्छ । तर अहिले सर्कस गर्दा इन्जोय गर्छाैँ र सर्कस राम्रो कला हो भन्ने कुरा स्थापित गर्न चाहन्छौं ।’


आफूजस्तै अन्य बालबालिका, महिलाहरू बेचबिखनको सिकार हुन नपरोस् भनेर नेपालका विभिन्न ठाउँहरूमा सर्कससँगै नाटक पनि देखाउने गरेका छन् उनीहरूले । डकुमेन्ट्रीमा उनीहरूसँगै उद्धार गरिएका एघार जना समेटिएका छन् ।


फेस्टिभलको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे । ‘महिलाहरूको उपस्थितिले मात्रै महिला सशक्तीकरण हुन्न,’ उनले भने, ‘परिवारदेखि नै महिलाको विचार अगाडि बढाउनुपर्छ । यसका लागि फिल्म राम्रो माध्यम हो ।’


कार्यक्रममा गभर्नेन्स फयासिलिटीकी प्रमुख क्यारोलिन भेन्डेनाविलाले फेस्टिभलमा महिला सशक्तीकरणका पक्षमा बनेका फिल्महरूलाई स्थान दिएकोमा प्रसंशा गरिन् । उनले छायामा रहेका मानव अधिकारको पक्षहरूलाई बाहिर ल्याएर ‘भ्वाइस अफ द भ्वाइसलेस’ को काम गर्ने प्रकृतिका फिल्महरू बनाउन आग्रहसमेत गरिन् ।


फेस्टिभलमा बुधबारै दीपक तोलाङ्गेको डकुमेन्ट्री फिल्म ‘डस्ट’ देखाइएको थियो । यसमा भक्तपुरको नलिञ्चोकमा रहेको इँटाभट्टामा काम गरिरहेका बालबालिकाको विषयवस्तु समेटिएको छ ।


त्यसैगरी पाकिस्तानको महेरा ओमारको ‘परविन रहमान : रिबेल अप्टिमिस्ट’ डकुमेन्ट्री पनि देखाइयो । डकुमेन्ट्रीमा पाकिस्तानकी एक महिलाले कराँचीका गरिब र सहरी विकासको अवधारणा बनाउने र प्रदूषित खोला र नाला सरसफाइका लागि गरेका कामहरू देखाइएको छ ।


परविनले विकासबारे डकुमेन्ट्रीमा भनेकी छन्, ‘विकास भनेको पाँचतारे होटल हुनु, मेगा सडक प्रोजेक्ट हुनु मात्रै हैन । महत्त्वपूर्ण भनेको मानव विकास हो ।’

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?