कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारी दिवस विशेष: टेलिकमकी 'मास्टमाइन्ड'

विजय तिमल्सिना

काठमाडौँ — २०७३ असोज ९ गते कामिनी राजभण्डारीले प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेयता नेपाल टेलिकमले केही सफलताको स्वाद पनि पाइसकेको छ । केहीअघि मात्रै नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै ५५ प्रतिशत बोनस बाँड्यो । उनको कार्यकालमै नेपाल टेलिकमको वार्षिकोत्सव इतिहासमै पहिलोपटक समयमै भयो । 

नारी दिवस विशेष: टेलिकमकी 'मास्टमाइन्ड'

कामिनी राजभण्डारीको चर्चा नेपाल टेलिकमकी प्रथम महिला प्रबन्ध निर्देशकका रूपमा हुने गरेको छ, तर यति मात्रै परिचय उनका लागि मनग्ये हुने छैन । उनी प्रतिस्पर्धाबाट छानिएकी नेपाल टेलिकमकी पहिलो प्रबन्ध निर्देशक पनि हुन् । उनको नियुक्तिअघि गैरप्राविधिक व्यक्ति नेपाल टेलिकमको सर्वोच्च कार्यकारी पदमा नियुक्त भएको भन्दै विरोधका स्वर सुनिने गर्थे । तर प्राविधिक पृष्ठभूमि र प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशकका रूपमा उनले विरोधको स्वर मात्रै मत्थर पारेकी छैनन्, आफ्नो १ करोड ८७ लाख ग्राहकलाई नयाँ–नयाँ सेवा दिने ध्याउन्नमा उनले आफूलाई व्यस्त राखेकी छन् ।

प्रबन्ध निर्देशकसम्मको उनको यात्राको थालनी भने २०४२ सालमा भएको हो । भारतको पञ्जाव विश्वविद्यालयबाट चारवर्षे इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रो कम्युनिकेसन इन्जिनियरिङ सकाएर नेपाल फर्किएलगत्तै उनले टेलिकममा जागिर पाएकी थिइन् । अमृत साइन्स क्याम्पसको उत्कृष्ट विद्यार्थीको रूपमा उनले भारतको पञ्जावका लागि छात्रवृत्ति पाएकी थिइन् । इन्जिनियरको रूपमा भने उनले ७ औं तहको अधिकृत पद पाएकी थिइन्, त्यो पनि ज्यालादारी रूपमा । सुरुवाती एक वर्ष उनले काम गरेको दिनको मात्रै ज्याला पाउँथिन् । वर्ष दिनपछि बल्ल उनी टेलिकममा स्थायी अधिकृत बनिन् ।

कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाएर जब उनले इन्जिनियरिङ पढ्ने निधो गरिन्, त्यो बेला महिलाहरूको रोजाइमा इन्जिनियरिङ पर्दैनथ्यो । अझ, त्यो बेला इन्जिनियरिङमा पनि सिभिल इन्जिनियरिङको क्रेज थियो । रोजेको फरक खालको विषयले नै उनलाई काममा अब्बल बनायो । उनी आफ्नो जागिरे जीवनमा पटकपटक अब्बल दरिइनै रहिन् ।

उनले योजना विभागमा रहेर बनाएको योजनामै अहिलेको नेपाल टेलिकमको सफलता टिकेको छ । योजना विभागमा रहँदा नै टेलिकमको फाइबर टु होम (एफटीटीएच) प्रविधिमा जाने निर्णय गरेको थियो । त्यो बेला खर्च धेरै लाग्ने भन्दै असहमति राख्नेलाई उनले नै विश्वस्त पारिन् ।

‘हामीले गर्ने योजना पछिको लागि हुनुपर्छ,’ उनी भन्छिन्, ‘सधैं भविष्यको लागि तयार बन्नुपर्छ ।’ उनी योजना प्रबन्धक रहेकै बेला डिजिटल प्रविधिबाट आईपी प्रविधिमा जाने खाका बनेको थियो । यस्तै योजना नबनेको भए, टेलिकमको स्थान तीव्र प्रतिस्पर्धा रहेको नेपाली इन्टरनेट बजारका मुख्य कम्पनीको सूचीमा नेपाल टेलिकमको नम्बर कहाँ हुन्थ्यो ? त्यो भन्न सकिन्नथ्यो, अहिले भने यो सूचीको अग्रपंक्तिमा छ । र, यसको नेतृत्व गरिरहेकी छन्– उनै कामिनी ।

टेलिकमले अहिले पुराना प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि विस्तारलाई तीव्रता दिएको छ । यसअन्तर्गत आईपीमा आधारित प्रविधि सबैतिर पुर्‍याउने, पुराना एक्सचेन्जहरूलाई एक्सेस गेटवेले प्रतिस्थापन गर्ने, नयाँ बीटीएस सञ्चालनजस्ता काममा टेलिकम धमाधम लागिपरेको छ । केहीअघि मात्रै टेलिकमले चीनबाट ब्यान्डविथ नेपाल भित्र्याइसकेको छ । यसले नेपाललाई भारत बाहेकका मुलुकबाट इन्टरनेट भित्र्याउने विकल्प दिएको छ ।

कामिनी यति बेला फेरि नयाँ योजनाका लागि तल्लीन छिन् । देशैभरि एकसाथ फोरजी/एलटीई विस्तार गर्ने उनको योजना अहिले अन्तिम चरणमा पुगेको छ । यसका लागि टेलिकमले केही दिनमै ठेकेदार कम्पनी छान्दै छ । टेलिकमको सफल भविष्यका लागि यो अनिवार्य काम मान्छिन् उनी । अहिले टेलिकमका उपत्यका र पोखरामा रहेका ग्राहकले मात्रै यो सुविधा पाइरहेका छन् । ‘अबको भविष्य डाटा हो,’ उनी भन्छिन्, ‘यसको लागि हामी तयार हुनुपर्छ ।’

देशैभर फोरजी विस्तार भएपछि प्रयोगकर्ताले आफ्नो रुचिअनुसार टुजी, थ्रीजी वा फोरजी चलाउन पाउँनेछन् । अहिले नेपाल टेलिकमले नेपालका सबै जिल्लामा थ्रीजी सेवा पुर्‍याइसकेको छ ।

२०७३ असोज ९ गते प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालेपछि नेपाल टेलिकमले केही सफलताको स्वाद पनि पाइसकेको छ ।

केहीअघि मात्रै नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै ५५ प्रतिशत बोनस बाँड्यो । उनको कार्यकालमै नेपाल टेलिकमको वार्षिकोत्सव इतिहासमै पहिलोपटक समयमै भयो । प्रबन्ध निर्देशक हुनुअघि उनी टेलिकमको प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् ।

टेलिकमको नाफा वृद्धिका लागि नयाँनयाँ योजना पनि उनले बनाइरहेकी छन् । उनका पालामा टेलिकमका ग्राहक र डाटा प्रयोगकर्ताको संख्या बढिरहेको पनि छ र खर्च ६ प्रतिशतले घटेको छ । खर्च घटाउन उनले भर्खरै सवारी नीति लागू गरेकी छन्, जसअनुसार टेलिकमका १० र ११ औं तहका अधिकृतले मात्रै कार्यालयको सवारी प्रयोग गर्न पाउँछन्, बाँकीलाई सवारीभत्ता मात्रै उपलब्ध गराइएको छ । यी दुई तहका अधिकृतबाहेक अन्यलाई समूहमा बसेर काम गर्न प्रोत्साहित गरेको उनी बताउँछिन् । यसले गर्दा थोरै ठाउँमा धेरै कर्मचारी अटाउने र बाँकी स्थान भाडामा दिने उनको योजना छ । यही योजनाअन्तर्गत टेलिकमले आफ्नो जनकपुरस्थित भवन सञ्चय कोषलाई भाडामा दिएको छ ।

आफूमा व्यवस्थापकीय क्षमता वृद्धिका लागि थाइल्यान्डमा गरेको एमबीएको भूमिका उनी भुल्दिनन् । २ र ९ वर्षका दुई छोरा घरमा छाडेर एमबीए गर्न छात्रवृत्तिमा उनी थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलजी (एआईटी) पुगेकी थिइन्, सन् १९९९ मा । २८ देशका विद्यार्थीसँग गरेको यही पढाइले व्यवस्थापकीय क्षमता वृद्धि भएको उनले बताइन् ।

३१ वर्ष नेपाल टेलिकमको सेवामा बिताएकी राजभण्डारी कार्यालयलाई आफ्नो घर मान्छिन् । भन्छिन्, ‘म बिहान ८ देखि बेलुका ८ बजेसम्म यहीं हुन्छु, त्यसैले मलाई यो घरभन्दा प्यारो छ ।’

आफूअन्तर्गतका ४ हजार १ सय ५९ कर्मचारी र आफ्ना ग्राहकप्रति आफू सबैभन्दा बढी उत्तरदायी भएको उनी बताउँछिन् । यही सोचका कारण आफ्नो कार्यकालमा कुनै पनि कर्मचारी संगठनबाट अवरोध नआएको उनको अनुभव छ । विभिन्न स्वार्थबाट रोकिने कर्मचारीको वृत्ति विकास र भर्ना प्रक्रिया अहिले शतप्रतिशत सुचारु भएको उनको दाबी छ ।

‘हरेक पदपूर्ति समयमा भएको छ र बढुवा पनि समयमै भएको छ,’ उनले भनिन्, ‘यसले गर्दा कर्मचारीको मनोबल बढेको छ ।’

महिला भएकै कारणले काममा कहिले बाधा परेको छ ? प्रश्न भुइँमा नखस्दै उनी भन्छिन्, ‘छैन । मैले महिला भएर होइन, प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी छु ।’

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?