उत्साहप्रद विश्व

बुद्धिसागर मरासिनी

काठमाडौँ — अन्तर्राष्ट्रियस्तरमा यस वर्ष पनि केही यस्ता घटना भएका छन्, जसले अप्ठ्यारो परिस्थितिमा पनि उन्नति, प्रगति र समृद्धिका पथमा निरन्तर लागिरहन हौसला प्रदान गर्छन्। नयाँ वर्षका पूर्वसन्ध्यामा यस अवधिका केही उल्लेखनीय घटना यहाँ प्रस्तुत गरिएको छ–


कोरियाली द्वीपमा चाँदीको घेरा
सन् २०१८ को मार्च ८ मा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एकाएक एउटा खबर सार्वजनिक गरे– ‘ट्रम्पले किमको वार्ता प्रस्ताव स्वीकार गरे।’ यसले कालो बादल मडारिरहने कोरियाली द्वीपमा चाँदीका घेरा देखाइदियो। सन् १९५० देखि १९५३ सम्मको युद्धपछि उत्तर र दक्षिण कोरियामा विभाजित कोरियाका जनता तथा आफन्तहरूमा मात्र नभई एसियाली क्षेत्रमा समेत आशाका किरण सिञ्चित भए। ट्रम्पले वार्ता प्रस्ताव स्वीकार गरेसँगै दुई नेताहरू (अमेरिका र उत्तर कोरिया) बीच आगामी मेमा प्रत्यक्ष वार्ता हुने भनिएको छ।

Yamaha


पछिल्ला महिनाहरूमा सार्वजनिक कार्यक्रममा देखिन थालेका किम पहिलो विदेश भ्रमणका क्रममा मार्च २८ मा चीन पुगे। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र किमबीच अमेरिकासँग हुने वार्ताका एजेन्डाबारे समेत कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए। अमेरिका–उत्तर कोरिया वार्ताको तयारी तथा एजेन्डाबारे छलफल गर्न दुई कोरियाबीच पनि अप्रिल २७ मा शिखर वार्ता हुँदै छ।


यसको सबैभन्दा सकारात्मक पक्ष यो छ कि– उत्तर कोरिया परमाणु नि:शस्त्रीकरण गर्न तयार देखिएको छ। यसले विश्व समुदाय हर्षित छ।



सर्वशक्तिमान चिनियाँ राष्ट्रपति


चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं नेसनल कंग्रेसमा राष्ट्रपति सी चिनफिङले पार्टीको विधानमा चिनिफिङवाद अर्थात् ‘२१ औं शताब्दीमा चिनियाँ माटो सुहाउँदो समाजवाद’ लाई पार्टीको विधानमा लेखाउन सफल भए। अक्टोबर १८ देखि २४ सम्म भएको पार्टी महाधिवेशनले सीलाई माओपछिकै सर्वशक्तिमान नेताका रूपमा चयनसमेत गर्‍यो। सीले सन् २०१२ मा शासनसत्ता सम्हालेयता पहिलो वर्षमा भ्रष्टाचारको आरोपमा २ लाख ६६ हजार पार्टी सदस्यलाई जेल हालेका थिए। अध्ययनशील सी चीनमा नम्र बोल्ने र भद्र स्वभावका नेताका रूपमा परिचित छन्। नयाँ प्रावधानले उनलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलाएको छ।


युद्धको बर्बरताभित्र मानवीयता


युद्धग्रस्त क्षेत्रमा पनि यदाकदा केही सकारात्मक पक्ष देख्न सकिन्छ। सिरियामा सन् २०१३ देखि जारी युद्धमा उद्धारमा संलग्न तटस्थ संगठन हो, ‘ह्वाइट हेल्मेट्स’। ३ हजारभन्दा बढी स्वयंसेवक रहेको संगठनले सरकार तथा विद्रोही फौजले गरेका आक्रमणका घाइतेको उद्धारमा ४ वर्ष बिताएको छ। ह्वाइट हेल्मेट्सका प्रमुख रइद अल सलेह हुन्। उद्धारका क्रममा हालसम्म संगठनका १५९ सदस्यले ज्यान गुमाइसकेका छन्। तर पनि ‘ह्वाइट हेल्मेट्स’ का सदस्यहरू ‘खोजी र उद्धार’ मा डटिरहेकै छन्। सन् २०१६ को ओस्कार विजेता वृत्तचित्रमा संगठनका अबु ओमारले भनेका छन्, ‘कुनै पनि मानिसलाई हाम्रो सहयोग चाहिन्छ भने उसलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, चाहे त्यो सरकार वा विद्रोही पक्ष होस्।’ ‘ह्वाइट हेल्मेट्स’ मा हाल इन्जिनियर, औषधि व्यवसायी, सूचीकार, सिकर्मी, विद्यार्थीलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरू सदस्य छन्। यस वर्ष मात्रै दसौं हजार घाइते तथा युद्धपीडितको उद्धार गरिसकेको यसले युद्धमा घाइते ९९ हजारलाई नयाँ जीवन दिइसकेको छ।

उदार हुँदै साउदी


साउदी अरबका राजकुमार मोहमद बिन सलमान बिन अब्दुलाजिज अल–साउदको उदारवादी समाज सुधारका योजनाका कारण कट्टर समाज क्रमश: खुला हुँदै गएको छ। ३२ वर्षीय सलमानका योजनाले खासगरी सदियौंदेखि भेदभावमा बाँचिरहेका महिलाले खुला विश्वतर्फ लम्किने वातावरणको महसुस गरेका छन्। यस वर्ष महिलालाई रंगशाला र सिनेमा हलमा प्रवेशका साथै सैनिक सेवामा अनुमति दिइयो। सवारी चालक अनुमतिपत्र दिनेलगायत निर्णय गरेका सलमानले ‘साउदी अरबलाई हरेक पक्षमा उदाहरणीय तथा अग्रणी देश बनाउन कुनै कसर बाँकी नराख्ने’ प्रतिबद्धता जनाइसकेका छन्। उनी ‘भिजन २०३०’ का कारण निकै लोकप्रियसमेत बनेका छन्। त्यसैगरी यस वर्ष कृत्रिम बौद्धिकतासहितको रोबोट सोफियाले विश्वमै पहिलोपटक साउदीकै नागरिकता पाइन्। तर उनलाई साउदी अरबका अन्य महिलाले जस्तै अबाया र बुर्का लगाउनुपर्ने बाध्यता भने छैन। उनी गत मार्च २० मा संयुक्त राष्ट्रसंघीय नियोगको कार्यक्रममा भाग लिन नेपालसमेत आइन्।

इराकमा ‘युद्ध अन्त्य’
सन् २०१७ डिसेम्बर ९ मा इराकी प्रधानमन्त्री हैदर अल–अवादीले विद्रोही संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध युद्ध अन्त्यको घोषणा गरे। उक्त घोषणामा उनले अब युद्ध सकेर इराक ‘विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको’ बताए। इराकमा सन् २००३ देखि २०१० सम्मको युद्धका कारण ११ खर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान छ। अमेरिकी रक्षा मन्त्रालयले मात्रै उक्त अवधिमा युद्धका लागि झन्डै १ खर्ब डलर खर्चेको छ। अब युद्धको वैदेशिक सहयोग विकास, पुनर्निर्माण र संरचनागत क्षेत्रमा खर्चन मिल्नेछ।
(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : चैत्र ३०, २०७४ १२:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सम्पदामा जागेको आशा

पुनर्निर्माण
भूकम्पले क्षति पुगेका सम्पदामध्ये ३ सय १४ को पुनर्निर्माण तथा जीर्णाेद्धार सुरु भएको छ। यीमध्ये ५६ वटा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु भएका हुन्। उपत्यकामा मात्रै सातवटा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा छन्।
दामोदर न्यौपाने

काठमाडौँ — वसन्तपुर क्षेत्रको नौतले दरबार जीर्णाेद्धार धमाधम भइरहेको छ। चीन सरकारको सहयोगमा बन्न लागेको हो यो दरबार। लामो समय अलपत्र रहेको यो दरबार बन्न लागेपछि वसन्तरपुर दरबार क्षेत्रमा रौनक बढेको छ।

नौतले दरबारसँगै गद्दी बैठकको सबलीकरण पनि धमाधम भइरहेको छ। यसको सबलीकरण अमेरिकी सहयोगमा भइरहेको छ। यो दरबार सबलीकरण भएपछि अरू राणाकालीन दरबारसमेत बनाउन उदाहरणीय हुने पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन्।

उपत्यकाका तीन सहरमध्ये पुनर्निर्माणमा सुस्त भएको काठमाडौं हो। काठमाडौंको पनि हनुमानढोका दरबार क्षेत्रका मुख्य संरचना नौतले दरबार र गद्दी बैठकको सवलीकरण सुरु भएपछि सम्पदा पुनर्निर्माणमा आशा जगाएको छ। पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार देशभरिमा १ हजार ५ सय ९८ सम्पदामा क्षति पुगे। उपत्यकामा मात्रै १ हजार १ सय ६ वटा सम्पदामा क्षति पुगेको छ। तीमध्ये काठमाडौंमा ५ सय ६४ सम्पदामा क्षति पुगेका छन्। यो उपत्यकाको सबैभन्दा बढी संख्या हो। त्यसपछि ललितपुरमा २ सय ८४, भक्तपुरमा २ सय ५६ सम्पदामा क्षति पुगेका छन्। क्षति पुगेका सम्पदामध्ये ३ सय १४ को पुनर्निर्माण तथा जीर्णाेद्धार सुरु भएका छन्। यीमध्ये ५६ वटा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु भएका हुन्। उपत्यकामा मात्रै सातवटा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा छन्। विश्वसम्पदामा सूचीकृतमध्ये बौद्धनाथ मात्रै पुनर्निर्माण सम्पन्न भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा चन्दा उठाएर यसको पुनर्निर्माण गरिएको हो। गत वर्ष नै यसको उद्घाटन गरिसकिएको छ। यसको जीर्णोद्धारमा १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर, अनुमानभन्दा ५ करोड बढी २३ करोड रुपैयाँ खर्च लाग्यो।

भक्तपुर दरबार स्क्वायर

प्राधिकरणका अनुसार भुइँचालोले क्षति पुर्‍याएका ११ जिल्लामा ७० वटा सम्पदा पुनर्निर्माण भइसकेका छन्। काठमाडौंका वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ र बौद्धनाथ गरी चारवटा विश्वसम्पदामा ३१ सम्पदा पुनर्निर्माण सकिएका छन्। त्यसमध्ये १५ वटा चारवटा विश्वसम्पदा क्षेत्रका छन्। ललितपुरमा ११ वटा सम्पदा पुनर्निर्माण सकिएका छन्। तीमध्ये ५ वटा विश्वसम्पदा क्षेत्रका छन्। ललितपुरमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा छ। भक्तपुरमा ८ वटा सम्पदा पुनर्निर्माण सकिएका छन्। तीमध्ये ७ वटा विश्वसम्प्दा क्षेत्रका छन्। चाँगुनारायण र भक्तपुर दरबार क्षेत्र विश्वसम्पदा क्षेत्रमा पर्छन्।

यी सबै सम्पदा पुनर्निर्माण गर्न २० अर्ब ५५ करोड ३ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ। यीमध्ये गुम्बा, विहारको मात्रै पुनर्निर्माण गर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पहिलो विश्वसम्पदा, दोस्रो राष्ट्रिय सम्पदा र तेस्रो प्राथमिकतामा स्थानीय सम्पदालाई राखेर पुनर्निर्माण भइरहेको विभागले जनाएको छ। भुइँचालो गएको तीन वर्ष पुग्दै छ। यो बीचमा सम्पदा पुनर्निर्माण सुस्त भए। कोही सम्पदा विवादले बन्न सकेका छैनन्। रानीपोखरी, धरहरा, काष्ठमण्डपजस्ता सम्पदा निर्माणमा विवाद देखिए।

पाटन दरबार स्क्वायर

प्राचीन स्मारक ऐन २०१३, प्राचीन स्मारक संरक्षण नियमावली २०४६ लाई ध्यान नदिँदा यी सम्पदामा विवाद आएका थिए। त्यही भएर यसको पुनर्निर्माणमा गति लिएनन्। यी सबै सम्पदा पुनर्निर्माण समयसीमा बनाएर काम थाल्न आफ्नो मातहतको निकाय पुरातत्त्व विभागलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दिएका छन्। ‘सम्पदा जीर्णाेद्धार प्रक्रिया ढिलो हुन्छ। तर ढिलो भए पनि यसलाई सिफ्टसिफ्टमा काम गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘एक सिफ्टमा गर्ने कामलाई तीन सिफ्टमा गरेर पनि चाँडो सक्न सकिन्छ। समयसीमा बनाएर काम गर्नुस्। जसरी हुन्छ काम चाँडो हुनुपर्छ।’

प्रकाशित : चैत्र ३०, २०७४ १२:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT