कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमानस्थलको काम धमाधम

‘विमानस्थल निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रमा पनि कुनै कानुनी अवरोध हटिसकेको छ । निर्माण कम्पनीले पनि समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेको छ।’
लालप्रसाद शर्मा

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ। यो आयोजनाको भौतिक प्रगति भने ९ प्रतिशत पुगिसकेको छ। विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले गत साउन १८ देखि निर्माण थालेको थियो।

पोखरा विमानस्थलको काम धमाधम

हाल विमानस्थल क्षेत्रमा पहिलो चरणअन्तर्गत जमिन सम्याउने काम भइरहेको छ। टर्मिनल भवन र ह्यांगरका लागि जग खन्ने काम पनि सुरु भइसकेको छ। निर्माणको पहिलो चरणको आधारभूत काम भइरहेको आयोजनाका इन्जिनियर सञ्जीव खड्काले बताए। डिजाइनअनुसार विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवनलगायत अन्य संरचना बनाउनुअघि माटो काट्ने र सम्याउने पहिलो काम कात्तिक २७ बाट सुरु भएको थियो।

अहिले विमानस्थलमा ५० चिनियाँ प्राविधिक, त्यति नै नेपाली प्राविधिक र एक सय मजदुर गरी २ सय जना काममा खटिइरहेका छन्। १५ एक्साभेटर, २५ ट्रिपर, ५ रोलर, ३ लोडर, ३ बुल्डोजर, २ ट्यांकर र एक ग्रेडरले दैनिक काम गरिरहेका छन्। २५ ट्रिपर र ७ एक्साभेटरबाहेक सबै चीनबाट ल्याएका उपकरण हुन्। ‘अहिलेसम्मको काम हेर्दा सन्तोषजनक मान्नुपर्छ,’ खड्काले भने।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दैछ। नेपाल सरकार र एक्जिम बैंकबीच केही समय आयोजना निर्माणका लागि सम्झौता भएको थियो। यसै साता भन्सारबाट आउने निर्माणसम्बन्धी सामान नरोकिने गरी काम भइसकेको निर्माण कम्पनी सीएएमसीका जनसम्पर्क अधिकृत कृष्ण चापागार्इंले जानकारी दिए।
निर्माण कम्पनीले अहिलेसम्म एडभान्स पेमेन्टअन्तर्गत आयोजनाको १५ प्रतिशत करिब २ अर्ब रुपैयाँ रकम भुक्तानी हुनुपर्नेमा ढिलाइ भएको आयोजनाले जनाएको छ।

‘नागरिक उड्डयन प्राधिकरणले आयोजनाको प्रारम्भिक डिजाइन स्वीकृत गरिसकेको छ,’ चापागाईंले भने, ‘अब एडभान्स पेमेन्टको प्रक्रिया सबै पूरा भएकाले एक्जिम बैंकले सीएएमसीलाई भुक्तानीका लागि बाटो खुला भएको छ।’


आयोजनाका अनुसार टर्मिनल भवन तथा रनवेको काम अहिले धमाधम जगको काम भइरहेको छ। माटो सम्याउने कामसँगै यसै वर्ष टर्मिनल भवन (१५ वटा) र ह्यांगरको जग बनाइसक्ने योजना छ। २०१९ मा कंक्रिट र स्टिलका संरचनाको काम सक्ने र २०२० मा भवनको भित्र र बाहिर उपकरणलगायत जडानको काम सक्ने गरी काम भइरहेको छ। सन् २०२१ जुलाई १० मा नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने योजनासाथ काम अघि बढेको चापागाईंले बताए। ‘वर्षायाम लाग्नसाथ रनवे, टर्मिनल भवन, ह्यांगर, एप्रोनलगायत पूर्वाधारका कामको सुरु हुनेछ,’ उनले भने, ‘तोकिएकै समयमा विमानस्थल निर्माण हुने गरी काम अघि बढिरहेको छ।’ यही मे महिनासम्म माटोको ८० प्रतिशत र त्यसपछिको एक वर्षमा सबै काम सकिनेछ। अहिलेसम्म कुनै प्रकारको बाधा र व्यवधान नभई काम सहज रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीको २०७२ चैतमा चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढेको थियो। गत साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको थियो। चापागाईंका अनुसार रनवे, नालीलगायत टर्मिनल भवनको डिजाइन नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ। विमानस्थल निर्माणका लागि ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो। ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्न लागेको हो।

विमानस्थल निर्माण भएपछि बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन्। विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ। सीएएमसीले २०७१ वैशाख २९ मा ठेक्का पाएको थियो। काम सुरु भएको चार वर्षभित्र (निर्धारित समयमा) निर्माण पूरा नगरे कम्पनीले नेपाल सरकारलाई क्षतिपूर्ति दिनुपर्ने सम्झौतामा छ।

विमानस्थलका लागि सरकारले २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलका लागि अपुग भएको ५ सय २१ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो। ‘गुठी, विदेश भएका र सबै कुरा थाहा नपाएका व्यक्तिको जग्गाको मुआब्जा दिन बाँकी रहेको हो,’ इन्जिनियर खड्काले भने, ‘सम्बन्धित व्यक्तिले निवेदन लिएर दाबी गर्न आउनासाथ मुआब्जा दिनेछांै।’

विमानस्थलमा प्रयोग हुने माटोलगायत अन्य निर्माण सामग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला स्थापना भएर यतिबेला ‘क्यालिब्रेसन’ को काम भइरहेको छ। ‘विमानस्थल निर्माणमा प्रयोग हुने ढुंगा, गिट्टीदेखि सबै सामानको गुणस्तर जाँच गर्नुपर्छ,’ खड्काले भने, ‘त्यसका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।’

‘विमानस्थल निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रमा पनि कुनै कानुनी अवरोध हटिसकेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले पनि समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेको छ।’ उनले प्राधिकरणले परामर्शदाता छनोट एकदमै पारदर्शी हिसाबले गर्ने बताए।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विमानस्थल बनेपछि पोखरा अन्तर्राष्ट्रियस्तरमा जोडिने बताए।

प्रकाशित : चैत्र ३०, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?