कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समीक्षात्मक सफलता

फिल्म
सुशील पौडेल

काठमाडौँ — वर्ष २०७४ नेपाली फिल्मका लागि सुखद नै रह्यो। केही फिल्म बक्सअफिसमा सफल देखिँदा केहीले समीक्षात्मक सफलता पाए। त्यसैगरी उक्त वर्षमा नेपाली फिल्मका गीतहरू युट्युब ट्रेन्डिङमा परिरहे। विवाह, व्रतबन्ध र कार्यक्रम समारोहहरूमा नेपाली फिल्मका गीतले विदेशी गीतलाई लगभग विस्थापित नै गरेर घन्किरहे।

समीक्षात्मक सफलता

वर्षको मध्यतिर रिलिज भएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ ले आक्रामक व्यापार गर्‍यो। कतिपय हलमा प्रदर्शनको ५१ औं दिन पार गर्दै झन्डै १६ करोड रुपैयाँको ग्रस कलेक्सन गर्‍यो जुन कलेक्सन यसअघिको ‘छक्का पञ्जा’ कै हाराहारीको हो। त्यसो त वर्षको अन्त्यतिर रिलिज भएको फिल्म ‘शत्रुगते’ ले पनि ‘छक्का पञ्जा २’ को रेकर्डलाई तोड्नेतर्फ उन्मुख देखिएको छ। फिल्म प्रदर्शनको तेस्रो सातामा पनि होल्डओभर खासै घटेको छैन।

वर्ष २०७४ को पहिलो दिन नै तीन नेपाली फिल्म ‘घामपानी’, ‘लभ लभ लभ’ र ‘राधे’ एकसाथ प्रदर्शनमा आए। विषयप्रधान ‘घामपानी’, प्रेमकथामा बुनिएको ‘लभ लभ लभ’ र स्टार कास्ट गरी एक्सन प्रधान बनाइएको ‘राधे’ मध्ये दीपेन्द्र लामा लिखित, निर्देशित ‘घामपानी’ ले तुलनात्मक रूपमा राम्रो व्यापार त गर्‍यो नै, समीक्षा पनि सुखद बटुल्यो। दयाहाङ राई र केकी अधिकारी अभिनीत उक्त फिल्ममा तामाङ युवक र बाहुनी युवतीबीचको अन्तरजातीय प्रेमविवाहलाई पस्किइएको थियो।

२०७४ मा नेपाली फिल्मले आफ्नोपन, शैली र कथा खोज्ने र भन्ने जमर्को गरे। यसलाई उपलब्धिका रूपमा हेर्न सकिन्छ। राष्ट्रिय राजनीतिबाट समेत पाखा पर्दै आएको तराई क्षेत्र र मधेसी जनजीवनमा यसपटक नेपाली फिल्मले छिर्ने कोसिस गरे। ‘संरक्षण’, ‘फाटेको जुत्ता’, ‘राज्जा रानी’, ‘ग्याङस्टार ब्लुज’, ‘शत्रु गते’ जस्ता फिल्मले मधेसलाई समेट्न खोजे। ‘घामपानी’ जस्तै ‘तान्द्रो’, ‘धनपति’, ‘गाजाबाजा’, ‘देश खोज्दै जाँदा’, ‘लालपुर्जा’, ‘नाका’, ‘ब्लाइन्ड रक्स’, ‘आधा लभ’, ‘कारखाना’, ‘भुइँमान्छे’, ‘साढे सात’ जस्ता फिल्मले केही मात्रामा भए पनि यस वर्ष चल्तीका भन्दा केही नवीन कथाको खोजी गरे। भलै, अधिकांश फिल्मले दर्शक रिझाउन सकेनन्, तर पनि यसपटक नेपाली फिल्मकर्मी, निर्देशकले आफूलाई बलिउड फर्मुलाकै घिसिपिटीमा भन्दा माथि उठाउने कदम चाले। पहिलो पाइलाले नै सार्थकता नपाएको भए पनि नेपाली फिल्म क्षेत्रको यात्राका लागि भने यो कदम सुखद संकेत हो।

२०७४ मा नेपाली फिल्मले यस अघिभन्दा बढी दर्शक पायो। स्टारडम केही शिथिल भएको वर्ष फिल्मका गीत, संगीत हलसम्म दर्शक तान्ने मुख्य आधार बने। ‘कुटुमा कुटु सुपारी दाना...’ बोलको गीत २०७४ को सर्वाधिक सफल गीत बन्यो। राजनराज शिवाकोटीको शब्द, संगीत तथा गायनसमेत रहेको यस गीतलाई युट्युबमा मात्रै साढे पाँच करोड पटक हेरिएको छ जुन नेपाली फिल्मी गीतका लागि सर्वाधिक भ्युज हो। यही गीतकै कारण फिल्म ‘दुई रुपैयाँ’ लाई समेत व्यापारिक सफलता दिलाउन अह्म भूमिका खेल्यो।

२०७४ मा ‘पर्व’ फिल्मको ‘काले दाइ...’, ‘छक्का पञ्जा २’ को ‘ए दाजु नसमाउ नाडीमा...’, ‘शत्रु गते’ को ‘रूपै मोहनी...’ र ‘म यस्तो गीत गाउँछु’ फिल्मको ‘भन्छु आज...’ युट्युबमा आएका करोड बढी भ्युजका आधारमा सर्वाधिक हेरिने पाँच गीत दरिए। खासगरी गीतको चर्चाकै कारण ‘ए मेरो हजुर २’, ‘कान्छी’, ‘ऐश्वर्य’, ‘प्रेमगीत २’, ‘मंगलम’, ‘फाटेको जुत्ता’ लगायत फिल्मलाई व्यापारमा सघाउ पुग्यो।

राजनीतिक रूपमा स्थिर केन्द्रीय सरकार र स्थानीय तह निर्माण भएर देश अग्रगमनको बाटोतर्फ अग्रसर भइरहँदा नेपाली फिल्म निर्माण भने अझै संक्रमणकालबाट नै गुज्रिरहेको छ। नयाँ वर्षसँगै भने फिल्म नीति र बक्सअफिस प्रणालीले पनि ठोस गति लिने छनक देखाइरहँदा फिल्मको निर्माण, वितरण र प्रदर्शन पनि केही हदसम्म स्थिर हुने अनुमान गर्न सकिन्छ। त्यसैगरी अघिल्लो सरकारले नै फिल्म स्टुडियो निर्माणका लागि दोलखामा पहलकदमी लिइसकेको अवस्थामा नयाँ सरकारबाट निरन्तरता पाउने ठानिएको छ।

झन्डै दुई वर्षपछि अनमोल केसी ‘कृ’ मार्फत दर्शकसमक्ष आएका भए पनि फिल्मले अपेक्षाकृत व्यापार भने गर्न सकेन। चर्को बजेटका कारण पनि फिल्मलाई लगानी उठाउन हम्मेहम्मे पर्‍यो। प्रदीप खड्का–अश्लेषा ठकुरीको ‘प्रेमगीत २’, सलिनमान बानियाँ–साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘ए मेरो हजुर २’ र पल शाह–पूजा शर्माको ‘म यस्तो गीत गाउँछु’ ले पनि व्यावसायिक सफलता हात पारे। वर्ष २०७४ मा कमेडी जानराका फिल्मले अन्यका तुलनामा बक्सअफिसमा बढी पैसा असुले। ‘छक्का पञ्जा २’ अग्रस्थानमा रह्यो भने ‘मिस्टर झोले’ र ‘दुई रुपैयाँ’ ले पनि कमेडीको बलमा लगानी उठाउने फिल्ममा दरिए।

वर्षभर झन्डै ८० फिल्म प्रदर्शनमा आए। अधिकांश फिल्म प्राविधिक रूपमा बलिया बन्न थाले। छायांकनका हिसाबले पनि देशकै मनाङ, मुस्ताङ जस्ता भर्जिन लोकेसनमा गएर खिच्नेदेखि विदेशसम्म पहुँच बढाए। कलाकारको पारिश्रमिकमा बढोत्तरी हुनेदेखि प्रोडक्सन लागतमा कम्प्रोमाइज नगरी फिल्म निर्माण हुन थालेपछि दर्शकले पर्दामा चम्किला सफा दृश्य देख्न पाउन थालेका छन्। ५० लाख रुपैयाँ बजेटमा घिसिपिटी फिल्म बनाउने परिपाटीमा यस वर्ष करोड बढी लगानीमा बनेका फिल्म आउनु र बजेट सुरक्षित गर्ने अवस्थामा पुग्नु वर्ष २०७४ का लागि उपलब्धि रह्यो।

प्रकाशित : चैत्र ३०, २०७४ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?