कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बन्ध बल्ल परिपक्वतातर्फ

कूटनीतिमा दिल हुँदैन, दिमागमात्र हुन्छ भनिन्छ। यही वर्ष नेपालले एक थालनी गरेको छ– दुईपक्षीय विषयमा तेस्रो मुलुक नथोपार्ने।
चन्द्रशेखर अधिकारी

काठमाडौँ — २०७४ कूटनीतिक हिसाबले सुखद सन्देशको वर्ष साबित भएको छ। अब विश्व समुदायले अनुभूत गरेको छ– नेपाल स्थिरतातर्फ अघि बढ्दै छ। यसमा ‘कूटनीतिक यात्रा’ वर्तमान नेतृत्वले राम्रै धानेको देख्छन्– पूर्वपरराष्ट्रमन्त्री डा. भेखबहादुर थापा।

सम्बन्ध बल्ल परिपक्वतातर्फ

‘कूटनीतिमा नेपाल लयमा फर्किंदै छ,’ नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको संयोजक थापाले भने, ‘देशको आन्तरिक मामिला जति मजबुत भयो, कूटनीति उति परिपक्व हुन्छ।’

प्रधानमन्त्री ओलीको अडानले पनि कूटनीतिलाई नहेपिने ठाउँमा पुर्‍याइरहेको छ। प्रधानमन्त्री हुनेबित्तिकै उनले कूटनीतिक समुदायलाई जथाभावी नबोल्न र भेटघाट नगर्न निर्देशन दिए। नेपालको संविधान र निर्वाचनमाथि टिप्पणी गरेको युरोपियन युनियनको पर्यवेक्षण टोलीप्रति विज्ञप्ति नै निकाल्न लगाएर आपत्ति जनाए। फोरमहरूमा उनले पनि बोले। ‘नेपाल गरिब छ भनेर नहेप्न’ अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिए।

२०७४ सालमा नेपाल राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यसमेत भएको छ। खुसीको कुरो यसको निर्वाचनमा सबैभन्दा बढी मत पाएको छ। यही वर्ष नेपालले दर्जनभन्दा बढी मुुलुकसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको छ। नेपालले दुवै छिमेकसँग सम्बन्ध सुधार गर्दै सबैको ध्यान खिच्न सकेको छ। ‘तर दुईपक्षीय सम्बन्धमा हस्ताक्षर गरेर मात्र कूटनीतिक अन्तरक्रिया बढ्दैन र सफल हुने पनि होइन,’ पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले भने, ‘सहकार्य कुन प्रकारको रहन्छ भन्ने नै मुख्य विषय हो।’

परराष्ट्र मन्त्रालयमा कूटनीतिज्ञहरूलाई भाषाको प्रशिक्षण, नयाँ कन्सुलर भवन निर्माण थालनी, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अन्तिम चरणमा पुग्नुजस्ता विषय यो वर्ष कूटनीतिका सुखद पाटा हुन्। करिब १० महिना मुलुक निर्वाचनमय रहँदा यत्तिको सक्रियता रहनुलाई उपलब्धिपूर्ण मानिनुपर्ने अध्येता सीडी भट्टले बताए। नयाँ परराष्ट्र नीतिको सुझाव मस्यौदा विज्ञहरूको कार्यदलले बुझाउने काम पनि यसै वर्ष भएको छ। ‘कूटनीतिको निश्चित उद्देश्य, गन्तव्य र लक्ष्य हुन्छ। त्यो पहिल्याउने पथमा हामी छौं। तालमेल भने मिलाउनुपर्ने खाँचो छ,’ उनले भने। कूटनीतिमा २०७४ बढी नै सचेत देखियो। त्यही सचेतनालाई नयाँ रूपमा प्रस्तुत गरेर अघि बढ्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ छ। ‘एक मलुकलाई अर्कोसँग नमिसाई कूटनीति अघि बढाइनेछ,’ उनले भने।

नेपालले ग्लोबल कम्प्याक्ट माइग्रेसन (जीसीएम) मा पनि नेतृत्व गरिरहेको छ। कामदार पठाउने मुलुकको नेतृत्व गर्दै कामदारको हक हित र सम्मानजनक पारिश्रमिकको विषयमा संयुक्त आवाज उठाउने काम नेपालले गरिरहेको छ। जाने यसको कोलम्बो प्रेससमा नेपालले पश्चिम एसियाली मुुलुक र जेनेभामा ठूलै लबिइङ गरिरहेको छ। यस अलावा नेपालले असंलग्न मुलुकहरूको संगठनमा उपाध्यक्षको भूमिका निर्वाह गरिरहेको छ।

नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र आर्थिक तथा प्राविधिक सहकार्यमा बंगलाको खाडीको प्रयास (बिमस्टेक) को पनि नेतृत्वमा छ। बिमस्टेकको शिखर सम्मेलनका लागि भन्दै बैठकहरू गरिरहेको छ। सार्कको पाकिस्तानमा हुने शिखर सम्मेलनको पक्षमा वातावरण बनाइरहेको छ। नेपालले यही वर्ष गरिब मुलुकहरूको थिंक ट्यांकमार्फत पनि आफ्नो सक्रियता बढाएको छ।

कूटनीतिमा दिल हुँदैन, दिमागमात्र हुन्छ भनिन्छ। यही वर्ष नेपालले एक थालनी गरेको छ। दुईपक्षीय विषयमा तेस्रो मुलुक नथोपार्ने। र, बहुपक्षीय मञ्चमा मात्र साझा विषयमा बोल्ने काम गर्ने स्पष्ट खाका नेपालले बाहिर ल्याइसकेको छ। चीनसँग गरेको सम्झौताको प्रोटोकल नेपालले तय गर्न सकेको छैन। अहिले कूटनीतिक उपस्थिति बढाउनेभन्दा थोरै गुणात्मक सम्बन्ध विकासका लागि जोड दिएर अघि बढ्न आवश्यक छ। परराष्ट्र सचिव शंकरदास बैरागीले भने कूटनीतिक सम्बन्धको वार्षिक क्यालेन्डरमा यो नै सबैभन्दा उच्च उपलब्धिको वर्षका रूपमा लिन मिल्ने बताए। नेपालले सात वर्षको अवधिमा जम्मा २४ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेकामा यसै वर्षमात्र दर्जनभन्दा बढी मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। ‘यो ठूलो उपलब्धि हो,’ उनले भने। यति हँुदाहुँदै पनि छिमेकी भारत जस्तो मुलुकमा राजदूत खाली छ। नेपालीको ठूलो संख्या रहेको युनाइटेड अरब इमिरेट्समा पनि राजदूत छैन। भएका राजदूतको मूल्यांकन गर्ने परिपाटी पनि बस्न सकेको छैन। यस्ता विषयलाई बेलैमा सच्याउने हो भने हाम्रो कूटनीति आसलाग्दो अवस्थामा पुगेको छ।

तीन प्रधानमन्त्री पाएको २०७४ यस्तो वर्ष बन्यो, १२ महिने यस अवधिमा दुई सरकार प्रमुख शेरबहादुर देउवा र केपी शर्मा ओलीले छिमेकी भारतको राजकीय भ्रमण गरे। र, २०७२ मा संविधान जारी गर्ने क्रममा बढेको नेपाल–भारत असमझदारी करिब–करिब अन्त्य गरे। अघिल्लोपालि ओली प्रधानमन्त्री हुँदा बढेको तिक्तता अन्तत: वर्षान्तमा उनैले हटाएर आए।

प्रकाशित : चैत्र ३०, २०७४ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?